
२४ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बिभिन्न विद्यार्थी नेताहरुलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ । साथै क्रान्तिकारीले युवा उम्मेदवारको प्रतिशत छुट्याउनुपर्ने लगायतका चार बुँदे सुझाव पनि पार्टीलाई दिएको छ ।
उम्मेदवार सिफारिस लगायतका विषयमा छलफल गर्न मंगलबार विशेष जिल्ला समितिको बैठक बसेको थियो ।
बैठकले स्थानीय तह निर्वाचनमा उम्मेदवार भएकाहरुलाई प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनाउन ३ नम्बर प्रदेश इञ्चार्ज हितमान शाक्यमार्फत पार्टी अध्यक्ष प्रचण्डलाई सुझावसमेत दिएको छ ।
पार्टीका शीर्ष नेता तथा प्रदेश सभामा मुख्यमन्त्रीका उम्मेदवारहरु बाहेक अरु कुनै पनि नेता दुई पटकभन्दा बढी सभासद वा सांसदको उम्मेदवार बन्न नपाउने मापदण्ड बनाउन पनि क्रान्तिकारीले सुझाव दिएको छ ।
उम्मेदवार चयन गर्दा युवापुस्ताको उपस्थितिलाई पनि कार्यविधिमा प्रतिशत छुट्याएरै समाधान गर्नुपर्ने र गैरभौगोलिक संरचना, जनवर्गीय संगठन र मोर्चाका केन्द्रीय भूमिकामा रहेका र पार्टीका केन्द्रीय विभागमा रहेर काम गरिरहेकाहरुलाई पनि उम्मेदवार छनोटमा ध्यान दिनुपर्ने क्रान्तिकारीको सुझाव छ ।
उम्मेदवार सिफारिसमा को-को परे ?
अखिल क्रान्तिकारीले ३२ जना नेताहरुलाई प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस समेत गरेको छ । अध्यक्ष रञ्जित तामाङलाई झापा क्षेत्रनम्बर ५ बाट प्रत्यक्ष तर्फको उम्मेदवार बनाउन अखिल क्रान्तिकारीले सिफारिस गरेको छ । झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।
यसैगरी दिपेश पुनलाई काठमाडौं क्षेत्रनम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको छ । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं ४ बाट दिपेशका बुवा नन्दबहादुर पुन ‘पासाङ’ कांग्रेस नेता गगन थापासँग पराजित भएका थिए । अहिले सोही क्षेत्रबाट दिपेशलाई उम्मेदवार बनाउन क्रान्तिकारीले सिफारिस गरेको हो ।
यसैगरी क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई सल्यान १ बाट र रत्न ढकाललाई काभ्रे क्षेत्रनम्बर १ को ‘क’बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
यस्तै अनिल शर्मा रुकुम २ बाट, तिलकराज भण्डारी सल्यानबाट, मदन अर्याल महोत्तरीको १ ‘क’बाट र विरेन्द्र बस्नेत झापा ५ को ‘ख’बाट सिफारिसमा परेका छन् ।
क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतलाई झापाबाट र विजय गौतमलाई मकवानपुरबाट समानुपातिक उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।
यस्तै पञ्चा सिंह र गंगाराम तिमल्सिना सुर्खेतबाट तथा इन्द्र भुसाल, दलित कोटाबाट समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन् ।
हेर्नुहोस् उम्मेदवार सिफारिसको सूची
प्रतिक्रिया 4