+
+

कालीकोटमा माअोवादीबाट कसले पाउला टिकट ? ऊर्जामन्त्री शाहीको पक्षमा युवा

शाही, बुढा र रावतको दावी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २५ गते १४:५८
प्रतिनिधसभा सदस्यका लागि अाकांक्षिहरू

२५ असोज, कालीकोट। ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई कालीकोटबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष तर्फको उम्मेद्वारमा सिफारिस गर्न युवाहरुले सुझाव दिएका छन् ।

नेकपा माओवादी केन्द्र कालीकोटले उम्मेद्वारी सिफारिसमा ढिलाई गरेपछि युवाहरुले उम्मेद्वार छनौट तत्काल गरी मन्त्री शाहीको नाम सर्बसम्मत प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्न यस्तो सुझाव दिएका हुन् ।

काठमाडौंमा हालै बसेको माओवादी केन्द्र कालीकोटको अनौपचारिक बैठकमा युवा नेता लक्ष्मी चौलागाई, नेतृ यशोधा न्यौपाने, धर्मराज शाही, दुर्गाप्रसाद काफ्ले, कृष्णप्रसाद आचार्य, मंगलबहादुर शाही, जीवन शाही लगायतका युवाहरुले राष्ट्रिय छवी बनाइसकेका मन्त्री शाहीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्न जिल्ला नेतृत्वलाई सुझाव दिएका हुन् ।

बैठकमा सहभागी नेता लक्ष्मी चौलागाईले कर्णालीको मुल नेतृत्वको रुपमा स्थापित भइसकेका शाही नै प्रतिनिधिसभा सदस्यका लागि उपयुक्त उम्मेद्वार हुने भएकाले आफूहरुले सिफारिस गर्न सुझाव दिएको बताए ।

प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्र कालीकोटका इन्चार्ज जीवन बुढा र दुर्गबहादुर रावतले पनि दाबी गरेपछि युवा पंक्तिले मन्त्री शाहीको नाममा सहमती गर्न बुढा र रावतलाई सुझाव पनि दिएको चौलागाईले बताए ।

युवाहरुले दुर्गबहादुर रावतलाई प्रदेशसभा सदस्यका लागि प्रदेशसभा नम्बर १ को उम्मेद्वार बनाउन पनि सुझाव दिएका छन् ।

शाही मन्त्री हुनुपूर्व तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग प्रस्ताव दर्ता गरेर  चर्चामा अाएका थिए ।

मन्त्री शाहीले अहिलेसम्म विद्युतको केन्द्रिय प्रशारण लाइन नजोडिएको कर्णालीमा बिद्युतको प्रसारण लाइन जोड्ने कामको थालनी सुरू गरेको, फुकोट कर्णाली , तिला १ र २ , जुम्ला लगायतका जिल्लामा जलविद्युत परियोजनाका काम अगाडि बढाएको भन्दै उनीहरूले शाहीलार्इ टिकट दिन लबिङ गरेका हुन् ।

 तीन जनाको दाबी , संभावना कसको ?

आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि माओवादी केन्द्र कालीकोटमा धेरैको चासो छ । उम्मेद्वार बन्न दाबी गर्नेहरु धेरै भएपनि प्रतिनिधिसभा सदस्यका लागि ऊर्जामन्त्री शाही, बुढा र रावतको मात्र सम्भावना छ ।

ऊर्जामन्त्री शाही

ऊर्जामन्त्री शाहीको सम्भावना अन्य दुई नेताहरुको तुलनामा बलियो छ । युवाहरुले पनि शाहीलाई नै अगाडि बढाउन सुझाव दिइसकेका र राष्ट्रिय राजनीतिको अनुभव समेत बटुली सकेकाले शाहीले टिकट पाउनेमा सम्भावना छ ।

केन्द्रमा शाहीलाई धेरै नेताहरुले साथ दिने भएकाले उनको सभावना बलियो भएको हो । उनी प्रदेश नम्बर ६ को मुख्यमन्त्री बन्ने ज्ञारेन्टी भएमा मात्र अन्य नेताले टिकट पाउने छन् ।

युवाहरुले केही कमिकमजोरी शाहीमा रहेपनि राष्ट्रिय राजनीतिमा छाई सकेको नेतृत्वलाई टिकट दिनुपर्ने सुझाव दिइसकेकाले सम्भावना बलियो देखिएको छ ।

जीवन बुढा

हाल पार्टीका जिल्ला इन्चार्ज रहेका बुढा जनता र कार्यकर्ता माझ लोकप्रिय छन् । जनयुद्धकालमा सातौ डिभिजन सहायक कमाण्डरको भूमिका निर्बाहा गरेका बुढा शालिन र भद्र व्यक्तित्वको रुपमा स्थापित छन् ।

एमालेसँगको चुनावी तालमेल र मन्त्री शाहीले उत्तरी क्षेत्रबाट प्रतिनिधित्व गर्नुपर्ने  भएका कारण उम्मेद्वारीमा चुनौती भएपनि पार्टी नेतृत्वको सहयोग उनका लागि फलदायी हुनसक्ने सम्भावना छ ।

एमालेसँग चुनावी तालमेल गर्नुपर्ने अबस्थामा कालीकोटको प्रदेशसभाबाट एमालेबाट कुर्मराज शाहीको उम्मेद्वारी पक्का भएको खण्डमा र ऊर्जामन्त्री शाही प्रदेश नम्बर ६ को मुख्य मन्त्री बन्ने अबस्थामा बुढाको सम्भावना रहनेछ ।

दुर्गबहादुर रावत

ऊर्जामन्त्री शाहीलाई प्रदेश नम्बर ६ को मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरी एमालेसँग चुनावी तालमेलमा प्रदेशसभा-१ एमालेलाई दिएमा रावतको सम्भावना बलियो रहन्छ ।

अर्कोतिर माअोवादी आन्दोलनको पृष्ठभूमिबाट कालीकोटको दक्षिण क्षेत्रबाट अहिलेसम्म सांसद र मन्त्री भएको रेकर्ड छैन । अहिलेसम्म कालीकोटको उत्तरी क्षेत्रबाट तीन जना मन्त्री भए । सांसद पनि उत्तरी क्षेत्रबाट मात्र भएका छन् ।

रावतलाई प्रतिनिधिसभा सदस्य वा प्रदेशसभाको लागि टिकट नदिइएमा कालीकोटको दक्षिणी क्षेत्रका जनता र कार्यकर्ताको मत अन्य पार्टीलाई जाने सम्भावना छ । त्यसैले पनि उनलाई टिकट दिनुपर्ने बाध्यता हुनसक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?