Comments Add Comment

अमेरिकाको डीसीमा सुरु भयो देउसीभैलो

१७ अक्टोबर न्यूयोर्क । अमेरिकाको डीसी महानगर क्षेत्रमा यमपञ्चक सुरु हुन अगाडि नै देउसी भैलो सुरु भएको छ । विभिन्न संघ तथा सँस्थाहरुले घर दैलो अभियान गर्दै देउसी भैलो प्रारम्भ गरेका छन् ।

अमेरिका नेपाल भन्दा समयमा पछाडी पर्ने भएता पनि यमपञ्चक सुरु हुनु अगाडी नै अमेरिकाका नेपाली समुदायलाई देउसी लागि सकेको छ ।

अमेरिकामा शनिबार र आइतबार अधिकांशको बिदा पर्ने हुनाले पनि अग्रिम रुपमा देउसी भैलो खेलेका हुन् । मंगलबारदेखि यमपञ्चक सुरु हुने भएता पनि अमेरिकामा अक्टोबर १५ तारिख देखि नै सुरु गरेका छन् ।

अमेरिकाको डीसी महानगर क्षेत्रको मनाससमा स्थापित अमेरिका नेपाल सहयोगी समाजले एकै थलोमा भेला गराई देउसी भैलो खेलेको छ । यसको साथै विभिन्न साँस्कृतिक कार्यक्रमको लागि अमेरिकामा जन्मेका बालबालिकाहरुलाई आफ्नो चाड पर्व परम्परा आदिको बारेमा ज्ञान होस् भन्ने हेतुले कार्यक्रम सम्पन्न गरेको छ । उक्त देउसी भैलो कार्यक्रममा सेलरोटी समेत बनाई अतिथिहरुलाई खुवाएका छन् ।

अमेरिका नेपाल सहयोगी समाजको अर्को परियोजना अमेरिका नेपाल शिक्षा सदन पनि रहेको छ भने उक्त विद्यालयमा नेपाली पढाइनुको साथै अतिरिक्त क्रियाकलाप समेत गरिन्छ ।

यसै गरी भर्जिनिया कै सेन्टरभिलमा स्थापित नेपाली पाठशालाका विद्यार्थीहरुले भैलो देउसी को साथै नेपाली संस्कृति झल्कने गीतमा नृत्य समेत प्रस्तुति गरेका छन् ।

उक्त पाठशालामा अमेरिकामा जन्मेका बालबालिका तथा नेपाली सिक्न चाहना राख्नेलाई नेपाली पढाइन्छ भने अन्य क्रियाकलाप पनि गराइ राखेको छ ।

यसै गरी गत आइतबार अक्टोबर १५ तारिखका दिन मेरिल्याण्ड राज्यमा स्थापित नेपाल सांस्कृतिक तथा शैक्षिक केन्द्र (एनईसीसी)नेपाली पशुपति बुद्ध मन्दिर को पहलमा देउसी भैलो कार्यक्रम सुरु गरिएको छ ।

एनर्इसीसीले अक्टोबर १५ देखि अक्टोबर २९ तारिखसम्म देउसी भैलो खेल्ने तालिका समेत बनाई खेल्न सुरुअात गरेको छ । अक्टोबर १५ देखि एकै पटक अक्टोबर २० देखि खेल्ने त्यस पछि तिहारपछि अक्टोबर २८ र अक्टोबर २९ तारिख खेल्ने योजना बनाएको छ ।

अन्य दिन छुट्टी नपर्ने हुनाले बिदाको दिन पारेर देउसी भैलो खेल्ने आयोजक संस्थाले जनाएका छन् । एनईसीसीले बिगत ३ वर्षदेखि खेल्दै आएको छ भने अमेरिका नेपाल सहयोगी समाजले पनि पोहोर सालदेखि खेल्दै आएको छ । अमेरिका नेपाल सहयोगी समाज सामुदायिक भवन निर्माण गर्न योजनामा रहेको छ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार भोलि अक्टोबर १७ तारिखदेखि सुरु हुने छ । दशैंको १५ दिनपछि आउने सबैभन्दा ठूला पर्वहरु मध्ये एउटा चाड हो । यो चाड  कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कात्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ।

हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधाम सित मनाउँछन् । यस पर्वको नाम हिन्दी शब्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment