Comments Add Comment

विद्युत चोरीबारे खबर गर्ने नम्बर छ, सेवा छैन

प्राधिकरण नै बेखबर

६ कात्तिक, काठमाडौं । बिजुली चोरी भएको जानकारी दिन विद्युत प्राधिकरणले १६६००१३०३०३ टोल फ्री नम्बर सञ्चालनमा ल्याएको चार वर्ष बित्यो । तर, कहींकतै चोरी देखेर यो नम्बरमा फोन गरियो भने जवाफ आउँछ, ‘माफ गर्नु होला, यो सुविधा उपलब्ध छैन ।’

विद्युत चोरीबारे खबर गर्न यसबाहेकको विकल्प पनि छैन । उक्त नम्बरको सेवा उपलब्ध नरहेकोबारे प्राधिकरणका उच्च अधिकारीहरु नै बेखबर छन् ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन्, ‘यस सम्बन्धमा हामीलाई जानकारी नै छैन, तिहारमा देश नै लोडसेडिङमुक्त बनाउन हामी लागिपरेकाले त्यता हेर्न पाएका छैनौं ।’

खासगरी, तराईका जिल्लामा अहिले पनि ठूलो मात्रामा बिजुली चोरी हुन्छ । ती जिल्लामा ५५ देखि ६० प्रतिशतसम्म चुहावट हुने गरेको अधिकारीहरु बताउँछन् ।

यो दर जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जिल्लाहरुमा अधिक छ ।

काठमाडौं उपत्यकामै पनि विद्युत चोरी कम छैन । प्राधिकरणका अनुसार भक्तपुरमा सबैभन्दा बढी चुहावट हुुन्छ । तिहारमा उपत्यकाका विभिन्न स्थानमा हुकिङ गरेर विद्युत चोरी गरेको व्यापक देखिन्थ्यो ।

भारतबाट चर्काे महशुल तिरेर ल्याइएको विद्युत नेपालमा चुहावट हुँदा प्राधिकरणलाई ठूलो घाटा लाग्छ । अहिले पनि २० दशमलव २८ प्रतिशत बिजुली चुहावट हुने गर्छ ।

प्राधिकरणको चुहावट नियन्त्रण प्रयासमा उल्लेख्य प्रगति देखिँदैन । गत वर्ष करिब दुई दशमलव पाँच प्रतिशत चुहावट नियन्त्रण भएको छ । त्यति मात्र चुहावट कम गर्दा पनि प्राधिकरणलाई दुई अर्ब रुपैयाँ फाइदा भएको छ ।

देशमा उपलब्ध जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीले माग धानिरहेको छैन । सोही कारण प्राधिकरणले भारतबाट ठूलो माात्रामा विद्युत आयात गर्नु परिरहेको छ ।

यसरी आयात गरेको बिजुलीबाट केही नाफा लिएर प्राधिकरणले उपभोक्तालाई बिक्री गर्ने गरेको छ । आयातीत बिजुली नै चोरी हुँदा प्राधिकरणको नोक्सानीको ग्राफ शिखरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment