+
+

पोखराका ३ ठाउँमा सामुहिक छठ पूजाको तयारी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ कात्तिक ८ गते १२:१९

८ कात्तिक, पोखरा । मिथिलाञ्चलको मौलिक पर्व छठ पोखरामा पनि धुमधामका साथ मनाउने तयारी गरिएको छ । सूर्यको उपासना गरिने यस पर्व पोखरामा ३ ठाउँमा सामुहिक रुपमा मनाउने तयारी गरिएको हो ।

पोखराको फेवाताल किनार तथा धार्मिक र पर्यटकीय केन्द्र केदारेश्वर महादेवमणी मन्दिर परिसर घाट, नदीपुरको नारायणस्थान मन्दिर नजिकको घाट र सेती नदी र कालिखोला मिसिएको सेती नदी किनार (त्रिवेणी धाम)मा सामुहिक छठ मनाउने तयारी गरिएको हो ।

सामुहिक छठ मनाउन लागिएका तीनवटै स्थलमा पूजाको तयारी थालिएको सम्बन्धित पूजा समितिहरुले जनाएका छन् । पूजाको तयारी स्वरुप पूजा स्थलसहित वरपर सरसफाई गरिएको छ भने सजिसजावट गर्ने क्रम चलिरहेका छन् ।

उनीहरुले केराको खम्बा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका बोटहरु रोपेर त्यसमा सजिसजावटसमेत गरेका छन् । त्यस्तै पूजास्थल उज्यालो बनाउनुका साथै माइकिङ र सांस्कृतिक कार्यक्रमका लागि बिजुली वत्तीको प्रवन्ध मिलाउने काम पनि भइरहेका छन् ।

न्ारायणस्थान मन्दिर परिसरको घाटमा विगत लामो समयदेखि नै सामुहिक छठ पूजा गरिँदै आएको थियो । जहाँ नेपाल र भारतका सबैले एकै ठाउँमा छठ पूजा गर्दथे । तर करीब ५/६ वर्ष अघिदेखि विशेष गरेर भारतीय समुदायले नारायणस्थान टाढा र साँघुरो भएको भन्दै फेवाताल किनारमा छठ पूजा गर्ने भन्दै केदारेश्वर महादेवमणी मन्दिर फेवाताल किनारंमा छठ पूजा गर्न थालेको हो ।

उनीहरुले नेपाल भारत (एनवी) ब्यबसायी समितिमार्फत पूजा गर्न थालेका हुन् । फराकिलो र रमणीयसमेत भएकाले यस ठाउँमा भारतीय मात्र नभई नेपालीहरु पनि जान थालेपछि त्यहाँपनि छठ पूजा गर्नेको संख्या बाक्लै हुने गर्छ । यसको नेतृत्व नेपाल भारत (एनवी) ब्यबसायी समिति पोखराका अध्यक्ष भुनेस कुमारले गरेका छन् । उनका अनुसार केदारेश्वर मन्दिर परिसरमा ११ वटा देवीको प्रतिमा स्थापना गरिएको छ जसमा छठ पूजा गर्ने गरिन्छ ।

त्रिवेणी धाम (कालीखोला)मा भने ३ वर्षयता मात्रै छठ पूजा मनाउन थालिएको हो । नारायणस्थान मन्दिर परिसर घाट साँघुरो भएको र त्यहाँ कुलोमा पूजा गर्नुपर्ने बाध्यता रहेकाले फराकिलो र नदीमै पूजा गर्न पाइने भन्दै एक समूहले त्रिवेणी धाममा छठ पूजा गर्न थालेको हो ।
पोखरामा पछिल्लो क्रममा नेपालका तराईबासी, भारतीयसँगै नेपालका पहाडीया समुदायले पनि छठ पूजा गर्ने गरेका छन् । तर यो संख्या अझैपनि न्यूनमात्रै छ । सूर्यलाई भगवानको प्रतिकको रुपमा पूजा गर्ने भक्तहरुले आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ सूर्यको पूजा गर्दछन् । पोखरामा बस्ने तराईबासी र भारतीयसहित करीब ७५ प्रतिशतले छठ यहीँ मनाउने गरेका छन् भने बाँकी २५ प्रतिशत अझै पनि गृह जिल्लामा फर्केर मनाउने गर्छन् ।

छठमा षष्ठीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल, ठेकुवा, कसार लगायतका सामाग्रीको साथमा पुजा गर्ने प्रचलन रहेको छ । सप्तमीमा भने उदाउदो सुर्यलाई अघ्र्य दिएर छठ पूजा समापन गर्ने गरिन्छ । पूजाका लागि सरकारले षष्ठीका दिन सार्वजनिक बिदा समेत दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?