Comments Add Comment

रामेछापमा बागीले उम्मेदवारी फिर्ता लिए

हेलिकप्टरमा रामेछाप पुगेका 'बागी' हेलिकप्टरमै काठमाडाैं फर्किए

उम्मेदवारी फिर्ता गर्न हेलिकप्टरमा जिल्ला पुगेका उम्मेदवार

८ कात्तिक, रामेछाप । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि वाम गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका नेताहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार रामेछापमा ७ जनाले मनोनयन फिर्ता लिएका हुन् । मनोनयन फिर्ता लिनेमा बाम गठनबन्धनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने माओवादी केन्द्रका ३ जना नेताहरु समेत रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार मनोनय फिर्ता लिनेमा प्रतिनिधिसभातर्फकी स्वतन्त्र उम्मेदवार लक्ष्मी गुरुङ र राप्रपा प्रजातान्त्रिकका लालबहादुर घिसिङ रहेका छन् ।

गुरुङ्ले बाम गठबन्धनका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी थिइन् । माओवादी केन्द्रकी नेता गुरुङ् यस अघि पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सभाषद भएकी थिइन् ।

दोस्रो संविधानसभा निर्वाचनमा उनी काँग्रेसका उम्मेदवारसँग पराजित भएकी थिइन् । गुरुङले वाम गठवन्धनको समर्थमा उम्मेदवारी फिर्ता लिएको बताइन ।

राप्रपा प्रजातान्त्रिकले लोकतान्त्रिक गठबन्धनको समर्थनमा उम्मेदवारी फिर्ता लिएको हो ।

प्रदेशसभा तर्फ क्षेत्र नं २ बाट राप्रपा प्रजातान्त्रिकका रामकुरमा थाप र स्वतन्त्र उम्मेदवारहरु पेमा दोर्जे तामाङ तथा मैनकुमार मोक्तानले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने मोक्तान माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् । उनले पार्टीसँगको सहमति पछि उम्मेदवारी फिर्ता लिएको जनाए ।

मोक्तानसँगै बाम गठनबन्धनको विरुद्ध विद्रोही उम्मेदवार बनेका प्रदेश तर्फको क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार हेमन्त पौडेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यसैगरी प्रदेश क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गर्ने राप्रपा प्रजातान्त्रिका दीपबहादुर तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

पार्टी निर्णय अनुसार लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने गरि आफूहरुले उम्मेदवारी फिर्ता लिएको राप्रपा प्रजातान्त्रिकका जिल्ला सविच शिवजी घिमिरेले बताए ।

उम्मेदवारी फिर्ता गर्न हेलिकप्टरको प्रयोग

वाम गठवन्धनबाट विद्रोह गरी कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नासाथ काठमाडौँ पुगेका उम्मेदवारहरु बुधबार उम्मेदवारी फिर्ता लिन हेलिकप्टरबाट मन्थली आएर उम्मेदवारी फिर्ता लिएर हेलिकम्टरमा नै काठमाडौँ फर्किएका छन् ।
विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठसहित बाम गठबन्धनबाट विद्रोह गरी उम्मेदवारी दर्ता गर्ने लक्ष्मी गुरुङ, मैनकुमार मोक्तान र हेमन्त पौडेलले हेलिकप्टबाट मन्थली आइपुगेका थिए ।

उनीहरु उम्मेदवारी फिर्ता लिएर सोही हेलिकप्टरमा काठमाडौँ फर्किएका छन् । खाना नखाई काठमाडौँबाट मन्थली आएका उनीहरु खाना खान काठमाडौँनै पुग्ने भन्दै फर्किएका हुन् ।

काँग्रेस र वाम गठबन्धनबीच प्रतिष्पर्धा

यी उम्मेवदारी फिर्तासँगै रामेछापमा अब बाम र लोकतान्त्रिक गठबन्धनबीच सोझो प्रतिस्पर्धा हुने भएको छ ।

जिल्लामा प्रतिनिधिसभा तर्फ अब विभिन्न १२ राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् । प्रदेशतर्फ १ नं मा ८ वटा राजनीतिक दलका उम्मेदवारहरु रहेका छन् भने २ नं.मा एक स्वतन्त्रसहित ९ जना उम्मेदवार रहेका छन् ।

अन्य दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा रहे पनि प्रतिष्पर्धा भने २ वटा गठवन्धनबीच हुने देखिएको छ । अन्य उम्मेदवारी दिन दलको रामेछापमा ठूलो जनमत छैन ।

वाम गठबन्धनलाई सजिलो

विद्रोही उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि वाम गठबन्धनलाई चुनाव सजिलो भएको छ ।

विद्रोहीहरुले भोट काट्ने खतरा अब वाम गठबन्धनका उम्मेदवारहरुलाई टरेको छ । वाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका श्याम श्रेष्ठ र प्रदेशसभाको (क) मा एमालेका शान्तिप्रसाद पौडेल र (ख) मा पनि एमालेकै कैलाश ढुँगेल प्रतिष्पर्धामा छन् ।

काँग्रेसबाट प्रतिनिधिसभामा पूर्णबहादुर तामाङ र प्रदेशको (क) मा रत्न कार्की तथा (ख) मा जीतबहादुर मगर उम्मेदवार भएका छन् ।

गत स्थानीय तहको चुनाव अनुसार कांग्रेसभन्दा वाम गठबन्धनको मत दोब्बरले बढी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment