Comments Add Comment

तनहूँ-१ बाट रामचन्द्रको जमानत जफत हुने गोविन्दराज जोशीको चेतावनी

गोरखामा बाबुराम भट्टराईलाई समर्थन गरेकोमा आपत्ति

९ कात्तिक,काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् ।

बिहीबार दमौलीमा शक्ति प्रदर्शनसहित आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरे ।

पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न सल्लाह दिँदै जोशीले भने- ‘यदि उहाँ जवरजस्ती चुनाव लड्नु भयो भने उहाँको जमानत जफत हुन्छ, त्यो अवस्था आउनु भनेका उहाँले आत्महत्या गरे सरह हो ।’

आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहूँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै जोशीले अब जनताको भावना अनुसार नै आफू चुनाव लड्न लागेको बताए ।

आफूलाई पार्टीले टिकट दिए पनि नदिए पनि तनहूँ क्षेत्र नम्बर १ का जनताले टिकट दिइसकेको र उनीहरुकै बलमा चुनाव जित्ने दावी जोशीले गरे ।

पौडेलप्रति निकै आक्रामक रुपमा प्रस्तुत भएका जोशीले पौडेलले सधैं जालझेलको राजनीति मात्र गरिरहेको बताए ।

२०५१ सालमा तनहूँ क्षेत्र नम्बर १ बाट भागेर २ मा चुनाव लड्न पौडेल गएको र अहिले पुनः क्षेत्र नम्बर १ मा नै फर्किएको भन्दै अब सो क्षेत्रका जनताले पौडेललाई स्वीकार नगर्ने जोशीको भनाई थियो ।

नेपाली कांग्रेस पछिल्लो समय सिद्धान्तहीन भएको भन्दै जोशीले सत्ता प्राप्तिको लागि जोसुकैसँग पनि घाँटी जोड्न कांग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो ।

गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेकोप्रति असन्तुष्ट देखिएका जोशीले यस अघि सधैं रुखमा भोट हाल्ने बानी परेका कांग्रेस कार्यकर्तालाई कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले आँखा चिन्हमा भोट हाल्न नेतृत्वले दवाव दिएको आरोप लगाए ।

यो पनि पढ्नुस्

कांग्रसले शीर्ष नेताहरुको चुनाव क्षेत्र टुंग्यायो, तनहुँ-१ मा पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment