Comments Add Comment

‘छठी मातासँगै मागेको थिएँ, छठकै दिन अस्ताए’

छठको पोखरीमा डुबेर युवकको निधन भएपछि गाउँ शोकमा

 

१० कात्तिक, सप्तरी । ‘छठी मातासँग मागेको थिएँ उनलाई, छठ पर्वकै दिन अस्ताए’ गहभरी आँशु लिएर सप्तरी रुपनी गाउँपालिकाकी सीतादेवी साह यस्तै बर्बराउँछिन्

२० बर्षअघि छठी मातासँग प्रार्थना गरी मागेको छोरा छठ पर्वकै दिन बितेपछि उनको परिवार मात्रै होइन पूरा गाउँ नै शोकमा छ यतिबेला ।

अस्ताउँदो सूर्यलाई अर्घ दिने दिन बिहीबार दिउँसोदेखि वेपत्ता भएका उनका छोरा भूपेन्द्र साह राति छठ पर्व भइरहेको पोखरीमै मृत अवस्थामा फेला परे । ‘दिउँसो कतै गएको हुन सक्छ भनेर त्यत्ति केरकार गरिएन’ छिमेकी हलेश्वर पैकराले भने, ‘तर साँझसम्म नभेटिएपछि सबै मिलेर खोजी गर्दा पोखरीमा पो शव भेटियो ।’

छठ पर्व भइरहेको पोखरीमा चर्को ध्वनीमा संगीत बजिरहेको थियो । गाउँलेहरु पर्व मनाउन व्यस्त रहेको बेला साहको परिवारमा एक्कासी बज्रपात पर्‍यो ।

राति ८ बजेतिर उनलाई खोज्न केहि युवाहरु पोखरीमा प्रवेश गरे । उनको शव मृत शरीर पोखरीमै फेला पर्‍यो ।

१९ वर्षीय भूपेन्द्रको शव फेला परेपछि पर्व मनाउन व्यस्त र खुशियाली साटासाट गर्नमा व्यस्त रुपनी गाउँपालिका-३ कटैयाका बासिन्दा स्तब्ध बने । साह परिवारसँगै उनीहरु पनि शोकमा डुवे ।

‘गाउँमा युवकको मृत्यु भएपछि हाम्रो पर्व यस पटक शोकमै बित्यो ।’ स्थानीय शिक्षक राधेश्याम राउतले भने, ‘के गर्ने साँझ अर्घ दिइसकेका थियौं, खुशियालीमा रातभर जाग्नुपर्नेमा दुःखका साथ रातभरी जागेर बिहान दुःखी मनले उदाउँदो सूर्यलाई अर्घ दियौं ।’

काठमाडौंमा आइएस्सी अध्ययन गर्दै आएका उनी एक साताअघि छठ पर्व मनाउन घर आएका थिए । स्थानीय केहि व्यक्तिका अनुसार उनी पोखरीमा नुहाउन पसेका थिए । सबै जना घाट बनाउन र पर्वको तयारी गर्न व्यस्त रहेको समयमा उनको खोजी त्यत्ति गरिएन् । उनी घर नआएपछि उनको खोजी सुरु गरिएको थियो ।

भूपेन्द्र आमाबुवाका जेठा सन्तान थिए । एक भाई र एक बहिनीका दाजु उनी गाउँमै सबैसँग मिल्ने स्वभावका थिए । एसएलसीमा ९५ प्रतिशत अंक ल्याएका उनी पढ्नमा पनि राम्रो थिए ।

उनको निधनले छठ पर्वमा चढाइएका सामग्री समेत गाँउलेलाई रुचेको छैन । छठ पर्वकै दिन मृत्यु भएका उनको कोशी व्यारेजमा अन्तिम संस्कार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment