Comments Add Comment

गोरखामा ट्याक्टर दुर्घटना हुँदा २ को मृत्यु

१८ कात्तिक, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारीस्थित फिनामटारमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा अजिरकोट गाउँपालिका–४ सिरानडाँडाका ४५ वर्षीय सुकबहादुर तामाङ र सिरानचोक गाउँपालिका–५ डिस्काका १३ वर्षीय अमोल बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिकको घटनास्थलमै ज्यान गएको थियो भने तामाङको जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा ज्यान गएको डिएसपी भेषराज रिजालले बताए ।

त्यस्तै घाइते अजिरकोट गाउँपालिका–३ भच्चेकका ३५ वर्षीय गोरे गुरुङलाई जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवनको भरतपुर अस्पताल रिफर गरिएको डिएसपी रिजालले जानकारी दिए । गुरुङको पनि अवस्था चिन्ताजनक रहेको रिजालले बताए ।

भच्चेकबाट भालुस्वाँरा तर्फ आउँदै गरेको ग १ त ४५४३ नम्वरको ट्याक्टर शुक्रबार अनियन्त्रित भइ सडकबाट दुई सय मिटर तल खसेको थियो ।

शुक्रबार नै गोरखा नगरपालिका–११ सिर्दि टोलमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । तनहुँको आँबुखैरेनीबाट इँट्टा बोकेर गोरखाको छेवेटार आउँदै गरेको ना ५ ख १४६२ नम्वरको ट्रक सडक छेउको जमिन भासिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते चालक र सहचालकलाई उपचारका लागि आँबुखैरेनी पठाइएको डिएसपी रिजालले जानकारी दिए । ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment