+
+

पत्रिकाका समाचारः सांसद्का भोगीदेखि पाहुना उम्मेदवारसम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १८ गते ६:३०


१८ कात्तिक, काठमाडौं । शनिबार राजधानीबाट प्रकाशित भएका सबैजसो दैनिक पत्रिकाहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनकै विषयको वरिपरि रहेर समाचार लेखेका छन् । रैथानेदेखि टुरिस्ट उम्मेदवारसम्मको वर्णन आजका पत्रपत्रिकाहरुले गरेका छन् । यसका अलावा ८८ किलो सुन तस्करका नाइकेलाई समात्न नसकेको प्रहरीले निर्दोषलाई हिरासतमा राखेको, सोधभर्नाको बक्यौता ४४ अर्ब बाँकी रहेको, विकट जिल्लाको चुनावी रौनक ठमेलमा देखिएको, अस्थायी शिक्षकलाई प्रश्नै सजिलो सोधेर पास हुन सहज बनाउन लागिएको लगायतका खबर आजका पत्रपत्रिकाहरुले छापेका छन् ।

यी उम्मेदवार जसले आफैंलाई भोट दिन पाउँदैनन्

प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेका केही उम्मेदवारहरुले आफैंलाई भोट हाल्न पाउँदैनन् । आफ्नो मतदाता नामावली नै नरहेको स्थानबाट उम्मेदवार बनेकाले ती उम्मेदवारले आफैंलाई भोट हाल्न नपाउने भएका हुन् ।

नागरिक दैनिकका अनुसार, दाङ छाडेर दोस्रो संविधान सभा निर्वाचन, २०७० मा रोल्पाबाट उम्मेदवार भई विजयी भएका माओवादी नेता कृष्णबहादुर महरा अहिले दाङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका छन् । तर, उनले आफूले आफैंलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभई रोल्पाका मतदाता हुन् । १७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका–१ का मतदाता हुन् ।

महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए, एमाले नेता शंकर पोखरेल । महरालाई पाहुना उम्मेदवार भनेर विरोध गरेका उनी आफैं पाहुना उम्मेदवार बन्न पुगेका छन् । आफ्नो क्षेत्रबाट महराले प्रतिनिधिसभा सदस्य टिकट पाएपछि प्रदेशसभा सदस्य उम्मेदवार बन्न अर्को क्षेत्रमा गएका छन् । उनले अब आफूले आफैंलाई मत दिन पाउने छैनन् । पोख्रेल र महरा त प्रतिनिधिपात्र मात्र हुन् । एमाले नेता प्रकाश ज्वाला, माओवादीका झक्कु सुवेदीलगायत नेताले पनि आफूलाई भोट हाल्न पाउने छैनन् ।

छैटौंपटक सांसद् बन्न मैदानमा

मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएकामा ०४८ सालदेखि ०७४ सालसम्म लगातार सांसद्, सभासद हुने मौका पाएका नेता पनि छन् ।

‘छैटौं पटक सांसद् बन्न मैदानमा’ शीर्षक दिएर नागरिक दैनिकले लेखेको छ– ६ नेताले ०४८ सालदेखि गत असोज २८ सम्म करिब २६ वर्षसम्म लगातार सांसद् सभासद् हुने मौका पाएका छन् । यी नेतामध्ये नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले यसपटक उम्मेदवारी दिएनन् । बाँकी ५ नेता अहिले पनि उम्मेदवारी दिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, भर्खरै कांग्रेस फर्किएका विजयकुमार गच्छदार, कांग्रेस नेता पूर्णबहादुर खड्का र रामजनम चौधरी छैटौंपटक सांसद् बन्न मैदानमा उत्रिएको नागरिकमा उल्लेख छ ।

भक्तपुरवासीलाई सरप्राइज

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्तासँगै भक्तपुरवासीले दुईटा सरप्राइज पाए ।

पहिलो सरप्राइज, ०४८ देखि निरन्तर चुनाव जित्दै आएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे यसपटक उम्मेदवार भएनन् । दोस्रो सरप्राइज, लामो समयदेखि सक्रिय राजनीतिबाट टाढै रहेका पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारी ।

चुनाव जित्ने करिबकरिब निश्चित हुँदाहुँदै पनि बिजुक्छेले आफ्नो क्षेत्रमा दोस्रो पुस्ताका नेता प्रेम सुवाललाई अघि सारेका छन् ।

विकट जिल्लाको चुनावी रौनक ठमेलमा

चुनाव सफल पार्न प्रमुख निर्वाचन आयुक्तले सबैलाई गरेको आग्रहलाई मुख्य समाचार बनाएर छापेको गोरखापत्र दैनिकले विकट जिल्लाको चुनावी रौनक पर्यटक नगरी ठमेलमा देखिएको समाचारलाई एंकर बनाएर छापेको छ ।

गोरखापत्र दैनिकका अनुसार, विभिन्न पार्टी समर्थक ठमेलका पर्यटन व्यवसायी आ–आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय बन्दा ठमेलमा चुनावी रौनक देखिएको हो ।

गुमनाम गायिका विमला थिङ लामाबारेको सामग्रीलाई प्रमुखताका साथ छापेको अन्नपूर्ण पोस्ट दैनिकले पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरुको रोजाइ प्रदेशसभ ाबनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिएको लेखेको छ ।

संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि माओवादी केन्द्र र कांग्रेसका दर्जनौं सांसद् प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । प्रदेशसभामा हेभिवेटको बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्काल काटिन थालेको छ ।

हच्किए प्रभावशाली

कान्तिपुर दैनिकका अनुसार, चुनावमा प्रचारप्रसार र कार्यकर्ता परिचालन खर्चिलो हुँदै गएपछि प्रभावशाली नेताहरू नै प्रत्यक्षबाट उठ्न हच्किएका छन्। उनीहरू सकेसम्म समानुपातिकमा परेर आफ्नो राजनीतिक भविष्य सुरक्षित पार्ने कसरतमा छन्।

कांग्रेसका सर्लाही सभापति नागेन्द्रकुमार राय र पूर्वसभापति लक्ष्मण रायले पनि यसपटक प्रत्यक्षमा लड्न रुचि देखाएनन्। उनीहरू समानुपातिकमा पारिएका छन्। संविधानसभा चुनावमा दुवै नेता प्रत्यक्षबाट लडेका थिए।

एमाले पूर्वजिल्ला उपाध्यक्ष राजनारायण साह पनि यसपटक समानुपातिक सिफारिसमा छन्। उनी संविधानसभा चुनावमा दुईपटक प्रत्यक्षबाट उठेका थिए। चुनाव खर्चिलो हुँदै गएपछि धेरै खर्च गर्न नसक्ने नेताले समानुपातिक रोजेका हुन्। यसले गर्दा दलहरूलाई संघीय र प्रदेश चुनावमा प्रभावकारी उम्मेदवार पाउन कठिन हुन पुग्यो।

२ नम्बर क्षेत्रमा यसअघि एमालेबाट साह चुनाव लड्दै आएका थिए। उनले चुनावी खर्च थेग्नै नसक्ने अवस्था भएपछि प्रत्यक्षमा लड्न नसकेको बताए।

नाइके फरार, निर्दोष हिरासतमा

८८ किलो सुन प्रकरणका नाइके समात्न नसकेको नेपाल प्रहरीले निर्दोसलाई भने हिरासतमा राखेको छ ।

आजको नागरिक दैनिकका अनुसार, लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीबाट फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानबाट खुलेको छ ।

सेना सतर्क

निर्वाचनका बेला नेपाली सेनाले भारतसँग सीमा जोडिएका केही संवेदनशील जिल्लामा बढी सतर्कता अपनाउने भएको छ । नेपाल–भारत खुला सीमाको केही कमजोरी पक्षको फाइदा उठाउँदै आपराधिक मनोवृत्तिका व्यक्तिहरु नेपाल पस्न सक्ने भन्दै यसमा अन्य सुरक्षा निकायसँग समन्वय गर्दे निर्वाचन सफल तुल्याउन सेनाले आफ्नो भित्री रणनीति तय गरेको समाचार कान्तिपुरले लेखेको छ ।

कान्तिपुर दैनिकका अनुसार, सेनाले प्रदेश २ अन्तर्गतका जिल्ला पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलाई बढी ध्यान दिइरहेको छ । त्यस्तै प्रदेश ७ अन्तर्गतका कैलाली र कञ्चनपुर, प्रदेश ५ का बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही र नवलपरासी क्षेत्रमा पनि सुरक्षाको बढी चुनौती रहन सक्ने भन्दै सेना सचेत छ ।

र, यो पनि खबर

भनसुन र तोक आदेशमा सामुदायिक विद्यालयमा नियुक्त अस्थायी शिक्षकहरुलाई शिक्षक सेवा आयोगले लिने परीक्षामा सजिलो प्रश्न सोधेर सहजै स्थायी बनाइने भएको छ ।

‘अस्थायीलाई प्रश्नै सजिला’ शीर्षक दिएर कान्तिपुरले समाचारमा लेखेको छ– आयोगले अस्थायी शिक्षकहरुलाई सोध्ने प्रश्नको ग्रिड तथा पाठ्यक्रम नै सहज बनाएको छ । अस्थायी शिक्षकलाई उसले पढाउने विषयका आधारमा प्रश्न सोध्ने व्यवस्था गरिएको छ भने खुला प्रतिष्पर्धाबाट शिक्षक हुन चाहनेलाई विषयगत ज्ञानबाहेक पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिबाट पनि प्रश्न सोध्ने पाठ्यक्रम बनाइएको छ ।

कान्तिपुर दैनिकका अनुसार अस्थायी शिक्षकलाई सहजै स्थायी बनाउन ४० नम्बरको वस्तुगत र ६० नम्बरको विषयगत प्रश्न सोधिने छ । तर, खुला प्रतिष्पर्धीलाई २० नम्बरको मात्रै वस्तुगत प्रश्न सोधिनेछ । बाँकी ८० नम्बरमा सम्बन्धित विषयवस्तुसम्बन्धी ज्ञानको ४० नम्बर र पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधिसम्बन्धी ४० नम्बरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?