+
+

चितवनमा अन्तर्राष्ट्रिय भैंसी विज्ञ सम्मेलनको तयारी तीव्र

सुवास पण्डित सुवास पण्डित
२०७४ कात्तिक १९ गते ११:४०

१९ कात्तिक, चितवन । ‘खाद्य एवम् आर्थिक वृद्धिको लागि भैंसीको उत्पादन वृद्धि’ भन्ने मूल नाराका साथ चितवनको रामपुरमा हुन लागेको अन्तर्राष्ट्रिय भैंसी विज्ञहरुको सम्मेलनको तयारी तीव्र पारिएको छ ।

नेपालमा पहिलोपटक हुन लागेको सम्मेलनमा भैंसीको क्षेत्रमा लामो समयदेखि अध्ययन र अनुसन्धान गरिरहेका बैज्ञानिकहरू सहभागी हुने आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा हुन लागेको ३ दिने सम्मेलन कात्तिक २९ देखि मंसिर २ गतेसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित विश्वका ११ देशका विज्ञहरु सहभागी हुनेछन् । भारत, चीन, पाकिस्तान, वंगलादेश, थाइल्याण्ड, फिलिपिन्स, अमेरीका र क्यानडा लगायतका भैंसी सम्वन्धी अनुसन्धानकर्ताहरूको सहभागीता रहने कार्यक्रमका सदस्यसचिव डा.भूमिनन्द देवकोटाले जानकारी दिए ।

सम्मेलनमा ५५ जना बिदेशी पाहुनाहरूसहित २ सय जनाको सहभागीता रहनेछ । सम्मेलनमा विभिन्न विश्वविद्यालयका १७ जना डीनहरूको पनि सहभागिता हुनेछ । सम्मेलनमा भाग लिन ‘इन्टरनेशलन बफ्यालो फेडेरेशन’का महासचिव प्रा. डा. एन्तेनियो बर्गिस र पाकिस्तानको लाहोरस्थित भेटेनरी विश्वविद्यालयका प्रा. भाइस चान्सलर नासिम अहमद नेपाल आउँदैछन् ।

विश्वका विभिन्न देशमा रहेको भंैसीका प्रजातीहरूबारे गरिएको अनुसन्धान र भूगोल सुहाउँदो प्रविधि एवम् ज्ञानसीपको आदानप्रदान गर्ने मूल उद्देश्य सम्मेलनको रहने पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकाय रामपुरका डीन प्रा.डा.शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा नेपालसहितका ९० वटा ‘पेपर’ प्रस्तुतीकरण गरिनेछ । त्यसमा ५ वटा पेपर विशेष हुनेछन् । नेपालका ४९ र बिदेशी ४१ वटा पेपर प्रस्तुती हुनेछन् ।

भैंसीको व्यवसायिक उत्पादनका लागि सरकारी निकायलाई नीति निर्माणमा समेत सहयोग पुग्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको कार्यक्रम संयोजक प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

नेपालमा ३ प्रजातिका लिमे, पार्कोटे, गड्डी भैंसी पाइने विश्वविद्यालयका उपप्राध्यापक निराजन भट्टराईले जानकारी दिए । पहाडी एवम् बेसीफाँटहरू र खोला किनाराका फाँटमा सदियौंदेखि अधिक भैंसी पाल्दै आएको भट्टराईले बताए ।

नेपालको दूध उत्पादनमा दुई तिहाई र मासु उत्पादनमा भैंसीको योगदान ५० प्रतिशत रहेको विश्वविद्यालयका उपकुलपति प्रा. डा. आइपी ढकालले जानकारी दिए ।

नेपालमा ५० लाख भैंसी रहेको अनुमान छ ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?