Comments Add Comment

वीपी कांग्रेससँग लोहनीको गठबन्धन, चुनावपछि पार्टी एकता

२० कात्तिक, काठमाडौं । एमाले र माओवादीले वाम गठबन्धन निर्माण गरेपछि दलहरुबीच गठबन्धन निर्माण गर्ने होडबाजी नै चलेको छ । साना तथा ठूला दल एमाले–माओवादीको सिको गरेर गठबन्धन निर्माण गर्न सक्रिय बनिरहेका बेला एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली कांग्रेस वीपीले राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन घोषणा गरेर निर्वाचनमा जाने तयारी गरेका छन् ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी कमल थापासँग अलग भएर गएका प्रकाशचन्द्र लोहनीले निर्माण गरेको पार्टी हो भने नेपाली कांग्रेस वीपीको नेतृत्व हरिबोल भट्टराईले गर्दै आइरहेका छन् ।

दुई पार्टीबीचको गठबन्धन घोषणा सोमबार दिउँसो  १ बजे राजधानीमा गर्ने  तयारी गरिएको छ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले वाम र लोकतान्त्रिक गठबन्धन देशका लागि घातक भएकाले राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन निर्माण गर्नु परेको बताए । ‘एमाले–माओवादी र कांग्रेसले निर्माण गरेको गठबन्धन देश र जनताको हितमा छैन’, लोहनीले भने, ‘त्यसैले हामी दुई पार्टी गठबन्धन निर्माण गर्ने निष्कर्षमा पुगेका हौं ।’ चुनावमा तालमेल गर्न सहमत भएका दुई दलले चुनावपछि एकता गर्ने तयारी समेत गरेका छन् । लोहनीले दुई पार्टीबीच चुनावलगत्तै एकता हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment