Comments Add Comment

दक्षिणकाली-सिस्नेरी सडक विस्तारमा ढिलाइ, कालोपत्रे अनिश्चित

२० कात्तिक, काठमाडौं । काठमाडौं-कुलेखानी-हेटौंडा वैकल्पिक सडकको दक्षिणकाली-सिस्नेरी खण्डमा यो वर्ष पनि कालोपत्रे नहुने भएको छ । सडक विस्तारमा ढिलाई भएपछि कालोपत्रे अनिश्चित भएको हो ।

काम सुरु भएको झण्डै अढाई वर्ष बित्दा आयोजनामा ७० प्रतिशत मात्रै प्रगति भएको छ । बितेको असारमै सक्नुपर्ने काम अर्को असारसम्म पनि सक्न मुस्किल पर्ने देखिएको छ ।

सडक विस्तारमा ढिलाई हुँदा मध्य तराई तथा हेटौंडाबाट आउने यात्रुबाहक सुमो र निजी सवारीका यात्रु तथा स्थानीयले निकै सास्ती व्यहोर्नु परेको छ ।

बल्खुबाट दक्षिणकाली पुग्ने सडक पनि स्तरीकरण र विस्तारका क्रममा छ । यसले हेटौंडा जाने वैकल्पिक मार्गबाट यात्रा गर्नेहरुलाई निकै सास्ती छ ।

‘मुआब्जाले समस्या’

सडक डिभिजन कार्यालय, काठमाडौं-२ का प्रमुख देवबहादुर तामाङ विभिन्न स्थानमा स्थानीयले मुआब्जा माग गर्दै काममा अवरोध गरेको बताउँछन् । त्यसैका कारण सडक निर्धारित समयमा विस्तार नभएको उनले बताए ।

तर, सडक विभागले यो आयोजना सम्पन्न गर्दा कसैलाई पनि मुआब्जा नदिइने स्पष्ट गरेको छ ।

सरकारले ग्रामीण सडकलाई महत्व दिएर विस्तार थालेपछि स्थानीय कृषकहरु भने उत्साहित छन् ।

तर, सडकमा आफ्नो जग्गा परेकाहरु सरकारले सुकुम्बासी बनाउन खाजेको भन्दै बिरोधमा छन् ।

दक्षिणकालीबाट अघि लगातार ३ किलोमिटर सडकमा विस्तारका लागि विभागले डोजर नै चलाउन सकेको छैन । अन्य धेरै स्थानमा पनि यही समस्या छ । झण्डै साढे २ सय स्थानीयबासीले आफ्नो घरजग्गा सडकमा परेपछि मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन् ।

त्यसैकारण निकै महत्वको यो सडक कहिले बनिसक्छ भन्ने अनिश्चित बनेको दावी सडक विभागको छ ।

तर, स्थानीय भने ठेकेदारले सजिला स्थानाा द्रुत गतिमा काम नगरेको आरोप लागाउँछन् । ‘पिचको काम त विस्तार र ग्राभेलिङ सकेपछि मात्रै गर्ने योजना हो । अबको असारसम्म विस्तार र ग्राभलिङ सकेर अर्को हिउँदमा बजेट व्यवस्थापन भयो भने पिच हुनसक्छ’ तामाङले भने ।

तामाङले यो योजना सडक विभागले आफ्नै स्रोतबाट सञ्चालन गरिरहेकाले पिच कहिले र कुन प्रविधिमा गर्ने भन्ने निर्णय नभएको बताए ।

१० मिटर फराकिलो बन्दै

अहिले ४ मिटर मात्रै रहेको यो सडकलाई विस्तार गरेर १० मिटर फराकिलो बनाउने काम भइरहेको छ ।

छैमले-कुलेखानी खण्ड २७ किलोमिटर खण्डमध्ये २१ कलिोमिटरमा सडक डिभिजन काठमाडौं-२ ले हेरिरहेेको छ भने कुलेखानीतर्फको ६ किलोमिटर सडक विस्तारको काम हटौंडाको सडक डिभिजनले गरिरहेको छ ।

यो सडकमा सवारीको चाप्प उच्च हुँदै गएपछि आवागमनमा सहजता ल्याउन भन्दै विस्तार थालिएको थियो । एक लेनमा मात्रै सवारी चलाउनुपर्दा दुर्घाटनाको जोखिम पनि उच्च छ । हेटौंडातर्फबाट आउने झण्डै ३ वर्षदेखि सवारी जोखिमयुक्त सडकमै हिँडन् बाध्य छन् ।

१४ करोड खर्चिएर स्तरीकरण गरिएको कुलेखानी-फाखेल-हुमानेभञ्ज्याङ सडकमा पनि अत्याधिक संख्यामा खाल्डाखुल्डी भएपछि सवारीले विकल्प पाएका छैनन् । त्यसैले सिस्नेरीको सडक हुँदै चल्ने सवारीको संख्या घटेको छैन ।

‘सडकको बेहाल भएको वर्षौं भयो । यही वर्ष पिच हुन्छ भनिएको थियो । विस्तार नै सकिएको छैन,’ हेटौंडाका सुमो चालक बलराम ढकाल भन्छन्, ‘कति वर्षसम्म यो सडकमा सासती खेप्नुपर्ने हो ? ढिलाई गर्नुको पनि हद हुन्छ ।’

आर्थिक वर्ष २०७१/०७२ मा पनि यो सडकमा घुम्ती सुधार र पर्खाल निर्माणका लागि ३५ करोड खर्च भएको थियो । यो वर्ष सडक विस्तारका लागि दुई खण्डमा २१ करोड बराबरको ठेक्का लागेेको छ ।

सरकारले काठमाडौं-सिस्नेरी-कुलेखानी-हेटौंडा सडकलाई सहायक राजमार्गका रुपमा विकास गर्न विभिन्न खण्डमा विस्तारका लागि योजना बनाएर काम गरिरहेको छ । कुलेखानीदेखि दक्षिणकालीसम्मको स्थानीयवासीकै अग्रसरतामा निर्माण भएको सडक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment