+
+

झण्डावाल गाडी चढेर चुनाव प्रचार गर्नु अधिनायकवादः अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २१ गते १९:००

२१ कात्तिक, पोखरा । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीका राजनीतिक दलहरु चुनाव प्रचारलार्इ तीव्रता दिएका छन् । उम्मेदवारहरु यतिवेला कार्यकर्ता भेटघाट, छलफल अन्तक्रिया र घरदैलोमा व्यस्त छन् । पार्टी एकता गर्ने लक्ष्यका साथ चुनावी तालमेल गरेका वाम गठबन्धनका उम्मेदवारहरु यतिबेला २ फरक चुनाव चिह्नमा मत माग्न थालेका छन् ।

कास्की क्षेत्र नं. एकको वाम गठबन्धनका उम्मेदवारहरुले आफ्ना कार्यकर्तालाई निर्धक्क भएर सूर्य र गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गर्न आग्रह गरे । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका प्रतक्षतर्फका उम्मेदवार खगराज अधिकारीले नेकपा एमाले र माओवादी केन्द्र दुबै पार्टी क्रान्तिकारी भएकै कारण पार्टी एकताका लागि चुनावमा एकै ठाउँमा उभिएको बताए ।

साम्यवादमा पुग्ने लक्ष्यका साथ वाम एकता भएको उनले बताए । एमाले सल्लाहकार परिषदका उपाध्यक्ष समेत रहेका उनले वाम गठबन्धनले बनाउने सरकारले मात्र मुलुकको आर्थिक समृद्धि र स्थिरता कायम गर्न सक्ने बताए । उनले मुलुकको शासन व्यवस्थामा समावेशी, समानुपातिक व्यवस्था स्विकार्दा कांग्रेसले त्यसलाई अधिनायकवादको संज्ञा दिने गरेको धारणा व्यक्त गरे ।

संविधानमा उल्लेख गरिएका आवधिक निर्वाचन, मौलिक हक जस्ता कुराहरुले अधिनायकवाद हुन नसक्ने उल्लेख गर्दै उनले वर्तमान सरकारले नै मन्त्रीहरुलाई विना विभागीय बनाएर र निर्वाचनका बेला राज्यसत्ताको दुरुपयोग गर्दै मन्त्रीहरुले झण्डा हल्लाएर चुनाव प्रचार गर्नु अधिनायकवाद भएको दाबी गरे ।

माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नम्बर १ ‘क’ का प्रत्यक्षतर्फका उम्मेदवार दीपक कोइरालाले स्थिर सरकारले मात्र आर्थिक समृद्धिको ढोका खोल्न सक्ने भएकाले वाम तालमेल गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

गठबन्धनवाट मुलुक समाजवादमा प्रवेश गरेको बताउँदै माओवादी केन्द्र कास्कीका सहइन्चार्ज समेत रहेका कोइरालाले सर्वहारावर्गको अधिनायकत्व लागू गरेरै छाड्ने बताए ।

कास्की क्षेत्र नं एकका प्रदेश सभा क्षेत्र न. ‘ख’ का प्रत्यक्षतर्फका उम्मेदवार मनबहादुर गुरुङले यहाँको प्राकृतिक साधन र मानवीय साधनको उचित व्यवस्थापनले बेरोजगारीको अन्त्य गर्दै मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने बताए ।

यहाँको कृषि, पर्यटन जलस्रोतको यथोचित प्रयोग गरेर चार नम्बर प्रदेशलाई धनी प्रदेशका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरे ।

कास्की क्षेत्र नं एकका वामगठबन्धन तर्फका निर्वाचन परिचालन कमिटीका संयोजक श्रीनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा २ हजार १ सय २१ सदस्य रहेको निर्वाचन परिचालन कमिटी गठन भएको छ । संयोजकमा श्रीनाथ बराल छन् । क्षेत्र नं १ को प्रदेश कतर्फ १ हजार एक सदस्य र  खतर्फ १ हजार पाँच सदस्य रहेको प्रदेश स्तरीय निर्वाचन परिचालन कमिटी गठन भएका छन् । भेलाले विभिन्न उपसिमिति समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?