Comments Add Comment

भारतले अड्कायो महाकाली तटबन्धको काम

खोतिला पहिरो पन्छाउन भारतले आनाकानी गर्दा निर्माणमा समस्या


२५ कात्तिक, दार्चुला । ०७० सालमा आएको महाकाली बाढीले दार्चुला जिल्ला सदरमुकाम खलंगा खुम्च्याएपछि महाकाली नदी नियन्त्रण आयोजनाद्वारा निर्माण गर्न लागिएको महाकाली तटबन्धको करिब ६३ प्रतिशत काम सम्पन्न भएको छ । तर, भारतले खोतिला पहिरो हटाउन आनाकानी गर्दा अायाेजना निर्माणकाे गति सुस्त भएकाे छ ।

विभिन्न प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको ९ र १२ नम्बर प्याकेज आर्थिक वर्ष २०७३/०७४ मै सम्पन्न भएको आयोजना प्रमुख सुशीलचन्द्र देबकोटाले बताए । वर्षातको समयमा सुस्ताएको महाकाली तटबन्धको काम हाल प्याकेज नम्बर ८ बाहेक अन्य प्याकेजमा काम भइरहेको छ ।

१२ वटा प्याकेजमा निर्माण भइरहेको महाकाली तटबन्धको काम चालु आर्थिक वर्षमा ३ प्याकेजमा काम गर्ने गरी थप गरिएको छ । जौलजीविको तल एउटा प्याकेज र जौलजीवि माथि अर्को प्याकेज र रिङनतालमा एउटा प्याकेज गरी ३ वटा प्याकेज थप गरिएको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।

प्याकेज नम्बर १ देखि ६ सम्म चालु आर्थिक वर्षको पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए । त्यस्तै प्याकेज नम्बर ७ र ८ को केही काम बाँकी रहेकाले चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य रहेको छ ।

प्याकेज नम्बर १० मा भने केही चुनौती रहेकाले निर्माण कार्य प्रभावकारी हुन नसकेको आयोजना प्रमुख देवकोटाले बताए । भारतको खोतिला पहिरोको कारण प्याकेज नम्बर १० मा निर्माण गरिएको तटबन्धको स्टर्ड (नदीको बेग छेक्ने ब्लक) समेत निर्माण गर्न नसकिएको उनको भनाइ छ । स्थानीयहरुले भित्तो काट्न नदिएपछि ८ मिटर चौडाईमा निर्माण गर्नुपर्ने पर्खाल जग ५ मिटर मात्रै उठाइएको छ । साथै पर्खाल बचाउनका लागि नदीको बेगलाई डाइभर्सन गर्ने स्टर्ड निर्माण गर्नुपर्ने भए पनि पहिरोका कारण निर्माण गर्न नसकिएको हो ।

खोतिला पहिरो हटाउन भारतसँग आग्रह गरे पनि अहिलेसम्म पहिरो नहटाउँदा समस्या भएको नदी नियन्त्रण आयोजनाका प्रमुख सुशीलचन्द्र देबकोटाले जानकारी दिए ।

प्रथम चौमासिकमै ७ करोड खर्च

महकाली नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चौमासिकमै करिब ७ करोड रुपैयाँ खर्च गरेको छ । साथै असार महिनादेखि वर्षातको बेला ढलान गर्न नसकिने भन्दै सुपरभाइजरहरु हटाएका थियो भने तटबन्ध निर्माणको काम पनि सुस्ताएको थियो । दशंैतिहार पछि तटबन्ध निर्माण कार्यले गति लिएको छ ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा धेरै काम नभए पनि ७ करोड जति खर्च भएको आयोजना प्रमुख देवकोटाले बताए । आर्थिक वर्ष ०७१/७२ बाट नदी नियन्त्रण आयोजनाले सञ्चालन गरेको तटबन्ध निर्माण गर्दा हालसम्म झन्डै १ अर्ब ३५ करोड खर्च गरिएको छ । आर्थिक वर्ष २०७३/०७४ सम्म १ अर्ब २८ करोड र चालु आर्थिक वर्षको हालसम्म झण्डै ७ करोड खर्च गरिएको नदी नियन्त्रण आयोजना प्रमुख देवकोटाले जानकारी दिए । आयोजनाले झन्डै ३ अर्ब ५ करोड लागतमा महाकाली तटबन्ध निर्माण गर्ने सम्झौता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment