Comments Add Comment

फिलिपिन्सबिरुद्ध उत्रँदाः नेपालको चिन्ता रक्षापंक्तिमा

२७ कात्तिक, काठमाडौं । एशियन कप छनोट अन्तर्गत नेपालले भोलि बलियो टोली फिलिपिन्ससँग एन्फा मैदानमा प्रतिस्पर्धा गर्दा मुख्य चुनौति रक्षापंक्तिमा रहेको कप्तान अनिल गुरुङले बताएका छन् ।

एन्फा मुख्यालय सातदोवाटोमा आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा नेपाली टोलीका कप्तान अनिलले रक्षापंक्तिका केहि खेलाडीहरु चोटग्रस्त हुनु नेपालका लागि दुर्भाग्य रहेको बताए ।

‘टिमका नियमित डिफेण्डर देवेन्द्र (तामाङ), र आदित्य (चौधरी) चोटग्रस्त छन्, उनीहरुको अनुपस्थितिमा हामीले टिम फर्मेसन नै चेञ्ज गर्नुपरेको छ ।’ पत्रकार सम्मेलनमा कप्तान अनलले भने ‘तर घरेलु मैदानमा हामी सबैले शत प्रतिशत योगदान दिन सक्यौं भने जित टाढा पनि छैन ।’

पछिल्ला केहि खेलहरुमा ५-३-२ को फर्मेसनमा खेलेको नेपाली टोलीले यस खेल ४-४-२ को फर्मेसनमा खेल्नेछ । कप्तान अनिलले यस फर्मेसन पनि टोलीका लागि नौलो नभएकाले प्रदर्शनमा खासै असर नगर्ने धारणा राखे ।

उनले लामो समयदेखि लिग नहुँदा खेलाडी छनोटका धेरै बिकल्पहरु नहुनु सबैभन्दा ठूलो समस्याका रुपमा अर्थ्याए ।

पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले बिगतका कमजोर सुधार गर्दै टिमको रणनीति बनाएको बताए । नेपालले फिलिपिन्सबिरुद्ध जितको लक्ष्य लिएको छ ।

प्रशिक्षक कोजीको चिन्ता पनि रक्षापंक्तिमै केन्दि्रत थियो । ‘हामी एक महिनादेखि प्रशिक्षणमा छौं र डिफेण्डरहरु चोटग्रस्त हुनुले रणनीति परिवर्तन गरी खेल्ने योजनामा छौं ।’

यता फिलिपिनो टोलीका प्रशिक्षक थोमस टूलीले नेपालबिरुद्धको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण भएको बताए । उनले टिममा केहि परिवर्तन भएको जानकारी दिए ।

यसअघि अवे खेलमा नेपालले फिलिपिन्ससँग उसकै मैदानमा ४-१ गोलको हार ब्यहोरेको थियो ।

त्यसपछिका तीन खेलमा पनि जित हासिल गर्न नसकेको नेपाल छनोट चरणबाट गणितीय रुपमा बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनलाई बराबरीमा रोके पनि त्यसपछिका २ खेलमा ताजीकिस्तानसँग पराजित भएको थियो ।

फिलिपिन्स समूह एफमा ८ अंकका साथ शीर्ष स्थानमा छ । उसले चार खेल खेलेको छ । समान खेलबाट यमन ६ अंकसहित दोस्रो र ताजिकिस्तान पनि ६ अंकसहित तेस्रो स्थानमा छन् । अहिलेसम्म १ अंक जोडेको नेपाल अन्तिम स्थानमा छ भने उ प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

तस्वीरः एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment