Comments Add Comment

दशौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलवारदेखि सुरु


२९ कात्तिक, काठमाडौं । दीगो विकास हासिल गर्नका लागि मन्त्री, विधायक, नीति निर्माताहरुबाट क्षेत्रीय एकतामा जोड दिदैं दशौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलवारदेखि काठमाडौंमा शुरु भएको छ ।

‘दक्षिण एसियामा समावेशी र दीगो आर्थिक विकासका लागि गहन आर्थिक एकता’ विषयक सम्मेलन राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय तथा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोमेन्ट (सावती) को संयुक्त आयोजनामा कार्तिक २८ देखि ३० गतेसम्म चल्नेछ ।

सम्मेलनको उद्घाटनका क्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मेलनका सहभागीहरुलाई स्वागत गर्दै छलफल र धारणाहरुले नीति निर्माणको लागि समेत बाटो पहिल्याउने अपेक्षा व्यक्त गरे । उनले व्यापार तथा पारवहन सहजीकरण र दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र अन्तर्गत व्यापारको संवेदनशील सूची घटाउन गरेको पहलका सम्बन्धमा उद्धृत गर्दै यसलाई सार्क देशहरुसँग सहकार्य र सहयोग आदानप्रदान गर्ने नेपालको तत्परताको रुपमा ग्रहण गर्न आग्रह गरे ।

भुटानका अर्थमन्त्री ल्योन्पो लेके दोर्जीले दक्षिण एसियामा आर्थिक एकताका चुनौतीहरुका विषयहरुको सम्बन्धमा चर्चा गर्दै विद्यमान चुनौतीहरु सम्बोधन भई दक्षिण एसियामा आर्थिक सम्भावना उजागर हुने अपेक्षा व्यक्त गरे । क्षेत्रीय व्यापार, भन्सार सहजीकरण र यातायातको सम्पर्कसञ्जाल सुधार तथा विस्तारमा उनले जोड दिए ।

मालदिभ्सका आर्थिक विकास राज्यमन्त्री अब्दुल लतिफ मोहम्मदले साफ्टाको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउँदै सेवा व्यापारसम्बन्धि सार्क सम्झौताले आन्तरिक तथा अन्तर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई सहजीकरण गर्ने बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सार्क क्षेत्रले दुई विश्वव्यापी विकासका एजेण्डा— समता तथा दीगोपनामा केन्द्रीत भएको उल्लेख गर्दै दक्षिण एसियाली राष्ट्रहरुको आर्थिक करिडोर जोड्ने गरी यातायात सञ्जाल विस्तार गर्नुपर्ने बताए ।

सहभागीहरुलाई स्वागत गर्दै सावतीका कार्यकारी अध्यक्ष डा. पोषराज पाण्डेले दक्षिण एसिया क्षेत्रको आन्तरिक व्यापार बाह्य देशहरुसँगको व्यापारको तुलनामा नगण्य भएपनि पछिल्लो दश वर्षमा व्यापार दोब्बर भएको उल्लेख गरे ।

उद्घाटन सत्रमा ‘रिइम्याजिनिङ साउथ एसिया इन २०३०’ विषयक पुस्तक विमोचन गरिएको थियो । उक्त पुस्तक गत वर्ष ढाकामा सम्पन्न नवौं दक्षिण एसिया आर्थिक सम्मेलनका कार्यक्रमहरुको संंग्रह हो ।

प्रतिष्ठीत अनुसन्धाता, प्राज्ञ, विज्ञ, कूटनीतिज्ञ लगायत विभिन्न ३ सयभन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा तीन दिनमा १४ समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । सन् २००८ देखि सुरु भएको दक्षिण एसिया आर्थिक सम्मेलनको यो दशौं संस्करण हो ।

क्षेत्रीय थिंक ट्यांकहरु नेपालमा सावती, बंगलादेशमा सेन्टर फर पोलीसी डायलग, भारतमा रिसर्च एण्ड इन्फरमेसन सिस्टम फर डेभलपिङ कन्ट्रीज, पाकिस्तानमा सस्टेनेबल डेभलपमेन्ट पोलीसी इन्स्टिच्युट, तथा श्रीलंकामा इन्स्टीच्यूट अफ पोलीसी स्टडीज्ले पालैपालो सार्क देशहरुमा यो सम्मेलन आयोजना गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment