Comments Add Comment

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

विदेशी मुलका बासिन्दामध्ये नेपालीको रोजगारी पहिलो स्थानमा


३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस्थानमा रहेको एक तथ्यांकले देखाएको छ ।

नेपाली मुलका बासिन्दाको बेरोजगारी दर २० दशमलव आठ प्रतिशत छ ।

‘पाँच नेपाली युवामध्ये चारले काम पाउने गरेको देखिएको छ,’ अस्ट्रेलियाको तथ्यांक विभागले सन् २०१६ को जनगणनाको आँकडा सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

हालै सार्वजनिक भएको उक्त आँकडाअनुसार ७९ दशमलव दुई प्रतिशत नेपाली मुलका युवाले अस्ट्रेलियामा काम पाइरहेका छन् । १५ वर्ष उमेर समूहदेखि माथिका मानिसबाट रोजगारीसम्बन्धि तथ्यांक संकलन गरिएको हो ।

नेपालीपछि कामप्राप्तिका आधारमा जिम्बाबे, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलका मानिस छन् । उनीहरुको रोजगारीको दर क्रमशः ७६ दशमलव चार, ७३ दशमलव पाँच र ७१ दशमलव आठ प्रतिशत छ ।

अन्य देशमा जन्मेर अस्ट्रेलियामा बसोबास गरिरहेकाहरुको रोजगारीको यो दरमा विविधता हुनुमा त्यहाँको आप्रवासन नीति र दर मुख्य कारण रहेको पनि विभागले उल्लेख गरेको छ ।

अस्ट्रेलियामै जन्मेका नागरिकको तुलनामा विदेशी मुलका मानिसको रोजगारीको दर हाराहारीमा आइसकेको छ ।

‘अस्ट्रेलियामा जन्मेका १० मध्ये ६ जनाले रोजगारी पाइरहेको देखिन्छ,’ विभागको प्रतिवेदनमा उल्लेख छ । अस्ट्रेलियामै जन्मेकाहरुमा रोजगारीको दर ६२ प्रतिशत छ भने विदेशी मुलको रोजगारी दर ५६ प्रतिशत छ ।

अस्ट्रेलियामा स्थायी बसोबासको सुविधा पाउने गरी लगभग आधा लाख नेपाली मुलका मानिस छन् । विभागका अनुसार विदेशी मुलका मानिसमध्ये प्रमुख ५० राष्ट्रमा नेपाली मुलका मानिसको वृद्धिदर सबैभन्दा उच्च छ ।

बार्षिक औसत २७ दशमलव आठ प्रतिशतको दरमा त्यहाँ नेपाली मुलका बासिन्दाको वृद्धि भइरहेको छ । सन् २००६ मा त्यहाँ ४४ सय नेपाली मुलका बासिन्दा थिए ।

नेपालपछि अस्ट्रेलियामा उच्च दरमा वृद्धि हुने आप्रवासीमा पाकिस्तानी छन् । पाकिस्तानीको वाषिर्क वृद्धिदर १३ दशमलव दुई प्रतिशत छ ।

अस्ट्रेलियामा रोजगारी प्रदान गर्ने प्रमूख क्षेत्र कम्प्युटर प्रणाली डिजाइन, क्याफे र रेस्टुराँ, सुपर मार्केट, ग्रोसरी र सडक यातायातमा मालसामान ढुवानी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment