Comments Add Comment

मुसहरको निर्णयः लिखित प्रतिबद्धता गरे मात्र भोट

५ मंसिर, वीरगञ्ज । बारा जिल्लाको महागढीमाई नगरपालिकाअन्तर्गत रहेको तेलकुवा मुसहरबस्तीका ७० वर्षीय वृद्ध तनु माझीलाई मंसिर २१ गते हुन गइरहेको निर्वाचनप्रति खासै चासो छैन । माझीको चुनावप्रति चासो नदेखिनु पनि स्वाभाविक छ ।

लोकतन्त्र प्राप्तिपछि देशमा ठूल्ठूला परिवर्तन भए तर तेलकुवाका मुसहरबस्तीमा भने कुनै परिवर्तन आएन । निर्वाचनका बेला सो बस्तीमा नेता आएर भोट माग्छ र जितेर जान्छ तर, फर्केर आउँदैनन् । “हाम्रो अवस्था जस्ताको त्यस्तै रहेको छ,” माझीले पीडा पोखे – “अब त उधारोमा होइन जुन उम्मेदवारले लिखित प्रतिबद्धता गर्छ त्यसलाई नै भोट हाल्ने हो ।”

एक सय ६० घरधुरी रहेको यो मुसहरबस्तीमा ३०० मतदाता रहेका छन् । चुनावी माहोल उत्सर्गमा पुगे पनि मुसहर मतदाता दैनिक ज्यालादारीका लागि धान काट्न व्यस्त देखिन्छन् । “पटकपटक निर्वाचन हुन्छ, नेताले ठूल्ठूला आश्वासन र सपना बाँड्छन् तर जितेर गएपछि कहिले फर्केर आउँदैनन्” – बाबुलाल माझीले भने– “मुलुकमा धेरै परिवर्तन आइसके भन्ने सुनिन्छ तर हामी दलित जहाँको त्यहीँ छौँ ।”

मत माग्न आउने उम्मेदवारसँग ती मुसहर मतदाताले पक्की घर, निःशुल्क शिक्षा र खानेपानीजस्ता आधारभूत आवश्यकता जसले पूरा गर्ने लिखित प्रतिबद्धता गर्छ, आफूहरुको मत उनै उम्मेदवारलाई जाने बताउँछन् । लालमती देवी माझी भन्छिन् – “हामी बसेको जग्गाको लालपुर्जासमेत छैन । हाम्रो माग लालपुर्र्जाको प्राप्ति पनि हो ।

ऐलानी जग्गामा घर बनाई बसिरहेका ८० घर परिवारका लागि यहाँ तीन वटामात्र चापाकल छन् । यो बस्तीमा २०६४ र २०७० साल निर्वाचनमा प्रमुख दलका नेताले गाउँको विकास गर्ने ठूल्ठूला वाचा गरेको स्मरण गर्दै रामजी माझीले भने – “तर आजसम्म कसैले विकासका योजना ल्याएनन् । यसपालि हामीले त्यस्ता नेतालाई भोट दिन्छौँ जसले लिखितरुपमा हाम्रो मागलाई पूरा गर्ने वचन दिन्छ ।”

बारा जिल्लाको सदरमुकाम कलैयाको बरियापुर सडकखण्डको भुतहीपुलदेखि करिब दुई किलोमिटरको दूरीमा रहेको सो बस्तीको छेउबाट खोला बगेकाले वर्षायाममा बाढीको जोखिम छ । बाढी पस्ने यो बस्तीको समस्याप्रति सम्बन्धित निकायको ध्यान नगएको गुनासो सुभाषकुमार रामको छ ।

अर्का मतदाता लोरिक माझी भन्छन् – “संविधानले दिएको अधिकार प्रयोग गर्न हामीले भोट त हाल्छौँ तर उधारोमा होइन । हाम्रो आधारभूत आवश्यकता पूरा गर्छु भनेर जुन उम्मेदवारले लिखित प्रतिबद्धता गर्छ हाम्रो भोट उसैलाई जान्छ ।”

मानव अधिकारकर्मी श्यामबाबु यादव भन्छन् – शिक्षा, स्वास्थ्य, खानेपानी, शौचालयजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका दलित मतदाताको मतबाट नेताहरु जितेर जाने तर वाचा अनुसार काम नगर्ने भएकाले विभेद भएको छ र उनीहरु आजसम्म कष्टकर जीवन बिताइरहेका छन् ।

पाँच किलो धानमा जमिन्दार कहाँ काम गरी दैनिक गुजारा चलाउँदै आएका मुसहरबस्तीका भरछिया माझी भन्छिन् – “छोराछोरीलाई पढाउनु, राम्रो लाउन खान दिनु, बिरामी परे औषधि गराउनु हाम्रो लागि सपनाजस्तो भएको छ ।”

दैनिक गुजारा, लत्ताकपडा, भोजभतेरको लागि साहुकै ऋणमा आश्रित दलितबस्तीका सबैजसो ऋणमै डुबेका छन् । वर्ष दिन बितिसक्दा पनि जनता आवास कार्यक्रमले यहाँ पक्की घर बनाउन सकेको छैन । सहरी विकास तथा भवन कार्यालयका एक कर्मचारी भन्छन् – “यस क्षेत्रका सांसद तथा जनप्रतिनिधिले आ–आफ्नै पार्टीका कार्यकर्तालाई मात्र समेटेर घर बनाउने सूची तयार गरेपछि हालसम्म सो काम हुन नसकेको हो ।”

यस कार्यक्रमअन्तर्गत प्रत्येक घरका लागि रु दुई लाख १४ हजारका दरले पर्सा, बारा र रौतहटमा तीन हजार घर बनाउन सरकारले हालसम्म रु छ करोडभन्दा बढी रकम विनियोजन गरिसकेको छ । जनता आवासका लागि बारामा नौ हजार मुसहरले निवेदन दिएको वर्ष दिन बितिसक्यो । न त मुसहरको घर नै बन्न सकेको छ न त उनीहरुको जीवनमा परिवर्तन नै आउन सकेको छ ।

पछिल्लो जनगणनाअनुसार बारा जिल्लामा नौ हजार ६३९ मुसहर रहेका छन् । मुसहर बस्तीमा जो कोही गएपछि उनीहरुको अवस्था, रहनसहनबारे टाढैबाट अनुमान गर्न सकिन्छ । स्वस्थ तथा पोषणयुक्त खानाको अभावमा मुसहर बालबालिका कुपोषणको शिकार हुँदै गएका छन् । बस्तीका बासिन्दा अशिक्षित भएर विगतमा भोजभतेर गर्नेलाई भोट हाल्ने उनीहरु अहिले भने सचेत भएका छन् ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा मुसहर बस्ती रहेको छ जसमा छ जना स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दिएका छन् । सो क्षेत्रमा ८३ हजार ५२४ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment