Comments Add Comment

अत्तरिया-चमेलियाको १३२ केभी प्रसारणलाइनमा बिजुली चार्ज


७ मंसिर, काठमाडौं । अत्तरिया-चमेलियाको १ सय ३२ केभी प्रसारणलाइनमा बिहिबार दिउँसो २ बजे विद्युत चार्ज भएको छ ।१ सय ३१ किलोमिटर यो प्रसारणलाइन चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित ३० मेगावाट विजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्नका लागि बनाइएको हो ।

सन् २०१० देखि निर्माण थालेको यो प्रसारणलाइन केहि समयअघि निर्माण सम्पन्न भएको थियो । चमेलियाको विद्युत उत्पादन नभएका कारण अहिलेसम्म चार्ज नगरि राखिएको थियोे ।

चमेलियाको उत्पादन हुने समय नजिकिँदै गएपछि बिहीबार यस प्रसारणलाइनमा विद्युत चार्ज गरिएको चमेलिया जलबिद्युत आयोजनाका प्रमुख अजय कुमार दाहालले जानकारी दिए ।

दाहालका अनुसार आयोजनाले आगामी डिसेम्बरको अन्त्यमा पानी राखेरै परीक्षण गर्ने तयारी गरेको छ । ‘आयोजनाले जनवरीको पहिलो हप्तादेखि कमर्सियल उत्पादन थाल्नेछ, हालैमात्रै सुरुङमा पानी पठाएर सुरुङको परिक्षण गरेका छौ,’ दाहालले भने ।

अब कुल ६ सय ११ मिटर सुरुङको पानी अब निकालेर सुरुङ जाँच गरिनेछ । जसका लागि एक हप्ता जति लाग्नेछ । दार्चुलामा निर्माणाधीन यो आयोजनाको निर्माण सन् २००७ देखि सुरु भएको थियो ।

संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको भन्दै काम रोक्न निर्देशन दिएपछि केहि समय काम रोकिएको समेत थियो ।

यस आयोजनाको निर्माण चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले गरिरहेको छ । यो आयोजनाको कुल लागत अहिले १५ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment