Comments Add Comment

कति बन्छन् कति भत्कन्छन् घर यो मंसिरमा !

गजल सन्ध्याको एक सय ७३औं शृंखला

९ मंसिर, पोखरा । मंसिर बिहेवारी हुने महिना । धेरै युवायुवतीले यही मंसिरको छेकोमा लगनगाँठो कस्छन् । मंसिरमै कति प्रेमीप्रेमिकाले प्रेमलाई विवाहमा बदल्छन् त कति प्रेम सम्बन्ध टुट्छन् पनि ।

कतै विवाहको उत्सव मनाउँदा कतिले प्रेम वियोगका साहित्य फुराउँछन् । शनिबार पोखरामा मंसिरका यस्तै गजल आवाज सुनिए ।

गजल सन्ध्या पोखराले हरेक महिनाको दोस्रो शनिबार गर्दै आएको नियमित गजलको एक सय ७३औं शृंखलामा प्रायः मंसिर र यससँग जोडिएका प्रणयभावका गजल सुनिए ।

कति बन्छन् कति भत्कन्छन् घर यो मंसिरमा
खै कतिका पूरा हुन्छन् रहर यो मंसिरमा

गजलकार ईश्वरमणि अधिकारीले आफ्नो गजलमा पोखिए । अर्का गजलकार सुदर्शन पौडेलले प्रेमको विम्बात्मक लय हाले-

तिमीले त्यो दिल खडेरी बनाएदेखि
मेरा आँखाको बगर डुबानमा पर्‍यो

कार्यक्रममा अधिकांश किशोर गजलकार सहभागी थिए र अधिकांशले मायाप्रेमको गजल सुनाए । केही देश, राजनीति र माटोसँग सम्बन्धित गजल पनि सुनिए ।

‘गजलको उत्थान, हाम्रो अभियान’ भन्ने नारासहित सन्ध्याले गर्दै आएको शृंखलामा यस्तै झण्डै तीन दर्जन गजल सुनिए । गजलकारहरुले अधिकांश प्रणय भावका गजल वाचन गरेका थिए ।

तिम्रो मेरो प्रेम कहानी जान्यो पछ्यौरीले
त्यसैले त आफूतिरै तान्यो पछ्यौरीले
लुगलुग काम्दै थियौं चिसो बतास चली
च्याप्प समाई एकै साथ बान्यो पछ्यौरीले

पीताम्बर शर्माको यो गजलजस्तै मंसिरे शृंखला मायाप्रेम र विवाह केन्दि्रत बन्यो ।

जब महिनाको दोस्रो शनिबार आउँछ, पोखराका नयाँ-पुराना गजलकार एउटै थलोमा भेला हुन्छन् ।

यो थलो गजल वाचनको मञ्च मात्रै बनेको छैन, गजलमाथिको विमर्श र अनुभव साटासाट गर्ने एउटा माध्यम पनि बन्दै आएको छ ।

डेढ दशकदेखि पोखरामा गजल सन्ध्याले गजल र गजलकारको साझा थलाको रुपमा नियमित वाचनको शृंखला बन्दै आएको पूर्वअध्यक्ष दीपक समीपले बताए ।

गजल सन्ध्या पोखरेली साहित्यमा पाठशाला नै बनेको छ । नयाँ-पुराना एकै मञ्चबाट हुने गजल वाचनले यस विधाको विकास र उन्नयनमा पनि यसको भूमिका देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment