Comments Add Comment

मर्चवारमा पुगेन मतदाता शिक्षा

१३ मंसिर, लुम्बिनी । रुपन्देहीको मर्चवार क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी हुन सकेको छैन । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दिन नजिकिँदै गए पनि कसरी मतदान गर्ने भन्ने विषयमा मतदाता निकै अन्योलमा रहेको देखिएको छ ।

रुपन्देहीको क्षेत्र नं ४ अन्तर्गत पश्चिमी क्षेत्र मर्चवारको मुटु मानिने मझगावामा मतदाता शिक्षा शून्य जस्तै देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले दोस्रो चरणको निर्वाचनका लागि मत माग्न गाउँगाउँ पुग्दा मतदाता कसरी मत हाल्ने भन्ने विषयमा अन्योलमा रहेको देखिएको थियो ।

सरकारले मतदाता शिक्षाका लागि भनेर करोडौँ रुपैयाँ खर्च गरे पनि त्यसको प्रभावकारिता अत्यन्तै न्यून देखिएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा गाउँमा पुर्‍याउन नसक्दा मतदातामा थप अन्योलता बढेको हो । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि विनियोजन गरी मर्चवार क्षेत्रका नाममा गरेको खर्च बालुवामा पानी सरह भएको छ ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रमका लागि स्वयंसेवक गाउँमा परिचालन गरेको बताएको छ । कार्यालयले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिएको बताए पनि गाउँमा मतदाता शिक्षा दिन उनीहरु पुग्न नसकेको मतदाताले बताएका छन् ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिवटा मतपत्र हुन्छन्, कुन मतपत्रमा कति वटा स्वस्तिक छाप चिह्न लगाउँदा बदर हुँदैन जस्ता विषयमा आफूहरुलाई अहिलेसम्म कुनै पनि जानकारी नभएको स्थानीय मझगावाका मतदाता रामप्रसाद त्रिपाठीको गुनासो छ ।

उनले अहिलेसम्म कोही पनि मतदाता शिक्षाका लागि मर्चवारमा नआएको बताए। “मतदाता शिक्षाका लागि थुप्रै स्वयंसेवक गाउँगाउँ आएको भन्ने सुनेको थिएँ, तर अहिलेसम्म हामीलाई कसैले पनि केही सिकाउन आएका छैनन्,” त्रिपाठीले भने – “चुनावसम्म नआए थुप्रै मत रद्द हुने अवस्था छ ।”

जिल्लाका प्रतिनिधिसभाका पाँच क्षेत्र र १० वटा प्रदेशसभा रहेको रुपन्देहीमा सबै उम्मेदवार चरणबद्धरुपमा कार्यक्रम लिएर मतदाताको घरमा प्रत्येक दिन भोट माग्न व्यस्त छन् । तर उनीहरुले मतदाता शिक्षामा त्यति धेरै ध्यान दिन सकेका छैनन् ।

मतदान गर्ने दिन नजिकिँदै गर्दा निर्वाचन कार्यालय र राजनीतिक दलले भने अहिलेसम्म मतदाता शिक्षाको कार्यक्रम गाउँघरमा पुर्‍याउन नसक्दा मर्चवारवासीले प्रयोग गर्ने मत खेर जाने हो कि भन्ने डर बढेको छ ।

निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम लिएर गाउँगाउँमा स्वयंसेवक परिचालन गरिएको र समय थोरै भएकाले सबै मतदाताको घरमा कर्मचारी पुग्न नसकेको बताएको छ । थोरै समयका कारण मतदाता शिक्षा दिने स्वंयसेवकले सामूहिकरुपमा मतदाता शिक्षा कार्यक्रम दिने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

निर्वाचन कार्यालयका प्रमुख अयोध्याप्रसाद भण्डारीले मर्चवारमा पनि मतदाता शिक्षा दिइएको बताए । उनले मतदाता शिक्षा पुग्न नसकेका निर्वाचन क्षेत्रमा पुनः एकपटक मतदाता शिक्षा लिएर पुग्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment