Comments Add Comment

धुलोमुक्त बनाउने भन्दै काठमाडौंको सडकमा चलाइयो ब्रुमर


१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।

सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।

१ डम्फर (करिव ५०० किलोग्राम) मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।

पैदल यात्रीले फालेका चक्लेट/चाउचाउ/ विस्कुटको खोल तथा प्लाष्टिकका टुक्रा तान्यो भने ब्रुमर ब्लक हुन्छ । ‘सडकमा पानी भयो भने पनि माटो तान्न मिल्दैन । ब्रुमरलाई अरु सवारी साधनले काम गर्ने रुट दिँदैनन । अरु समस्या धेरै छन्,’ उनले भने ।

धुलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवर पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने बताए ।

धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक भने खुशी छन् । कलंकीबाट रत्नपार्कसम्मको रुटमा बा १ ज ६४०१ नम्बरको नीलो माइक्रो चलाउने चालक कृष्ण लामाले भने, ‘धुलो तानेर एक महिनामा ७ पटक इञ्जिन खोल्नु परेको थियो । धुलो कम भयो भने अव पैसा बाँच्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment