Comments Add Comment

धुलो हटाउन काठमाडौंका सडकमा धमाधम कालोपत्रे

मंसिरभित्रै १५ किलोमिटर सडक पिच गर्ने लक्ष्य

रातिमा सडक पिच गर्दै सडक बिभागका कर्मचारी र कामदार ।

१५ मंसिर, काठमाडौं । पछिल्लो समय काठमाडौंका सडकमा बढ्दै गएको धुलो नियन्त्रण गर्न धमाधम पिच गर्ने कार्य सुरु गरिएको छ । पिच भइसकेका सडकमा भने धुलो बढार्न विभागले महानगरससँग समन्वय गर्दै ब्रुमर (धुलो तान्ने मेसिन) समेत लगाउने गरेको छ ।

मेलम्चीले पाइप बिछ्याउन बाँकी रहेका सडकमा पनि अहिले विभागले अस्फाल्ड पिच गर्ने कार्य अघि बढाएको छ । मेलम्चीको पाइप बिछ्याउनका लागि चाहिने स्थान खालि छोड्दै पिच गर्ने काम अघि बढाइएको मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटाले जानकारी दिए ।

गौशालादेखि चाबहिलसम्म मेलम्चीको पाइप बिछ्याउने काम बाँकी छ । यो खण्डमा अहिले राणाकालीन समयमा जडान गरिएका पुराना पाइपहरुबाट नै पानी वितरण हुँदै आएको छ । पाइप पुराना भएका कारण ठाउँ-ठाउँमा लिकेजको समस्या छ । यसरी लिकेज भएर आएको पानीले सडकको पिच नै बिगार्ने गरेको छ । यसअघि मेलम्चीले पाइप बिछ्याएपछि मात्रै पिच गर्ने भनेर बसेको सडक विभाग अहिले भने पाइप बिछ्याउन बाँकी रहेपनि पिच गर्न लागेको छ ।

मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालयका प्रमुख शिवहरी सापकोटा भन्छन्, ‘चाबहिलदेखि गौशालाको सडक अस्तव्यस्त भयो त्यसैले हामीले एक लाइन छाडेर तीन लेन मात्रै पिच गर्ने काम अघि बढाएका छौं ।’

चाबहिलदेखि गौशालासम्मको सडकखण्ड बुधबार रातीदेखि पिच गर्न सुरु गरिएको छ । यो सडकखण्ड १७ गतेसम्म पिच गरिसक्ने सडक विभागको योजना छ ।

कहाँ-कहाँ हुँदैछ पिच ? 

काठमाडौं उपत्यकामा सडक विभागले यो वर्ष ८० किलोमिटर पिच गर्ने लक्ष्य लिएको छ । जसमध्ये मंसिरभित्र १५ किलोमिटर पिच गर्ने लक्ष्य छ । मंसिरभित्र गौशाला-रातोपुल, माइतीघरबाट हनुमानस्थान हुँदै बानेश्वरसम्म र कलंकीदेखि नागढुंगासम्मको सडक पिच गर्ने सडक बिभागको योजना छ ।

काठमाडौंका सडक बिस्तार गर्दै ३ सय १७ किलोमिटर सडक पिच गर्नुपर्ने हो । तर विभिन्न स्थानमा भएको बिरोधका कारण अहिलेसम्म विभागले १ सय ३२ किलोमिटर सडक मात्रै पिच गर्न सफल भएको छ ।

कोटेश्वरदेखि महादेवस्थानसम्मको सडक हालै मात्रै पिच भएको छ । स्थानीबासी घर भत्काउन सहमत भएपछि बाटो बिस्तार गरेर पिच गरिएको सापकोटा बताउँछन् । यो सडक बिगत ३ वर्षदेखि स्थानीयको बिरोधका कारण पिच नभई अड्किएको छ ।

राजधानीका सडकमा अहिले उपत्यका बिकास प्राधिकरणको सडक बिस्तारसँगै मेलम्चीको पाइप बिछ्याउने काम भइरहेको छ । सडक बिस्तारका साथै पाइप बिछ्याउने काम सकिएका रुटमा पिच गर्ने काम त भएको छ । तर त्यस्ता स्थानमा अहिले पनि राणाकालीन पाइपबाटै पानी बितरण भइरहेको छ । जसका कारण पिच गरेपनि बिग्रने समस्या छ । सापकोटा भन्छन्, ‘मेलम्चीको पानी नआउन्जेल सडकहरु पानीकै कारण बिग्रने देखिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment