Comments Add Comment

पत्रपत्रिका समाचारः काठमाडौंका १४१ मतदानस्थल संवेदनशील

राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद

१६ मंसिर, काठमाडौं । राजधानीबाट शनिबार प्रकाशित भएका राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई पहिलो पृष्ठमा छापेका छन् । प्रदेश र प्रतिनिधि सभाको दोस्रो चरणअन्तर्गत हुने निर्वाचनको विश्लेषण पस्केका दैनिक पत्रिकाहरुले काठमाडौंकै केही मतदान स्थल संवेदनशीलको सूचीमा परेको लेखेका छन् ।

काठमाडौंका १४१ मतदानस्थल संवेदनशील

प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणमा हुने निर्वाचन सुरक्षाका दृष्टिले काठमाडौंका १ सय ४१ मतदानस्थललाई निर्वाचन आयोग र सुरक्षा संयन्त्रले संवेदनशीलको सूचीमा राखेको छ । राजधानी दैनिकका अनुसार, काठमाडौंका ३ सय २० मतदानस्थलमध्ये संवेदनशील मानिएका १ सय ४१ मतदानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको निर्वाचन आयोग र काठमाडौं जिल्ला सुरक्षा समितिले जनाएका छन् ।

किन भइरहेछ सुरक्षास्थिति फितलो ?

कान्तिपुर दैनिकले निर्वाचनमा फितलो सुरक्षा व्यवस्था रहेको भन्दै त्यसको कारण केलाउने प्रयास गरेको छ । ‘सुरक्षा किन फितलो ?’ शीर्षकमा समाचारमा लेखिएको छ, ‘सुरक्षा निकायले आफ्नो गोप्य संयन्त्रमार्फत ल्याउने सूचनाको कमीले यस्तो समस्या भएको पूर्वप्रहरी अधिकारीहरूको विश्लेषण छ ।’

हाल गृहमन्त्री नभएको र गृहमन्त्रालयको जिम्मेवारी पनि स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालेका छन् । तर उनी निकै व्यस्त छन्, गृहमन्त्रालयमा पनि जाँदैनन् । ‘यस्तो अवस्थामा सम्बद्ध निकायले प्रधानमन्त्रीसँग सीधा छलफल गर्न नपाउँदा पनि सुरक्षा फितलो बन्न गएको हुन सक्ने अधिकारीहरू बताउँछन्,’ कान्तिपुरमा लेखिएको छ । तर, गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले भने कुनै कमजोरी हुन नदिएको र सूचना आदानप्रदानमा पनि कमी नभएको दावी गरेका छन् ।

उनले भनेका छन्– सबै गम्भीर भएर लागेका छौं । बम बनाउन प्रयोग हुने डेटोनेटरलगायत सामग्री बरामद भइरहेका छन् । सूचना आदानप्रदानमा पनि कमी छैन, निर्वाचनविरोधी गतिविधिमा संलग्न झन्डै ८ सय व्यक्ति पक्राउ परिसकेका छन् । सरकार सुरक्षा समन्वयमा चुकेको छैन ।

शिथिल बन्दै जातीय ज्वरो

अन्नपूर्ण पोस्ट दैनिकले अघिल्ला चुनावमा उम्मेदवारहरुका लागि जातीय मुद्दा बलियो एजेन्डा बने पनि यसपटक यो एजेण्डा शिथिल बनेको लेखेको छ । ‘निर्वाचन नजिकिँदै गर्दा सिरहाका पार्टीले जातीय नारा चर्काउन नखोजेका होइनन्, तर मतदाताले त्यसलाई केटाकेटी लोभ्याउने गुलियो ललिपप मात्रै ठाने’, आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार मधेसी समुदायको बहुसंख्या रहेको वीरगन्जमा सबै पार्टीको ध्यान अल्पसंख्यक पहाडी मूललाई कसरी आफूतिर खिच्ने भन्नेमा छ ।

राष्ट्रपतिलाई आक्रमण गरे जन्मकैद


राष्ट्रपतिमाथि आक्रमण गरे जन्मकैद हुने व्यवस्थासहितको मुलुकी ऐन आगामी भदौबाट कार्यान्वयनमा आउने भएको छ । १ सय ४६ वर्षपछि पूर्णरुपमा प्रतिस्थापन भएको मुलुकी ऐनमा राज्यविरुछ कसुर गर्नेलाई ५ वर्षदेखि जन्मकैदसम्मको सजाय निर्धारण गरिएको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार, ज्यान लिने उद्देश्यले राष्ट्रपतिमाथि आक्रमण गर्ने र गर्न लगाउने कुनै पनि व्यक्तिलाई जन्मकैदको सजाय हुने व्यवस्था ऐनमा छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐनको दफा ५४ को उपदफा ३ मा कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा लिने उद्योग गरे व ागर्न लगाए जन्मकैद हुने व्यवस्था गरिएको नयाँ पत्रिका दैनिकको समाचारमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा वर्षमा ३२ सय किशोरीको गर्भपतन्

 


नयाँ पत्रिका दैनिकले काठमाडौं उपत्यकामा २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेको समाचार पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ– जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताए ।
सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ ।
प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ । प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । ‘यस्ता स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै रिपोर्ट राखिएको हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment