Comments Add Comment

प्रदेश ७ का २४२ मतदान स्थल अति सम्वेदनशील

१८ मंसिर, डोटी । विहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रदेश नं. ७ का मतदान स्थलमध्ये २४२ स्थल सुरक्षाको दृष्टिले अति सम्वेदनशील मानिएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय उपप्रशासक शंकर बिष्टले दिएको जानकारी अनुसार प्रदेश नं. ७ का दोश्रो चरणमा हुने निर्वाचन हुने पाँच जिल्लाका कुल ६ सय ८५ मतदान स्थलहरुमध्ये अति सम्वेदनशील दुई सय ४२, सम्वेदनशील दुई सय ७२ र साधारण एक सय ७० गरी वर्गीकृत गरिएको छ ।

‘कैलालीमा ७५, कञ्चनपुर ८६, डोटीमा १०, अछाममा ५५ र डडेल्धुरामा १६ स्थल अति सम्वेदनशीलको सूचीमा परेका छन्’ अनलाइनखबरसँग कुरा गर्दै विष्टले भने ‘कञ्चनपुरमा ३२, अछाममा ६५, डोटीमा ३०, डडेल्धुरामा ३७ र कैलालीमा एक सय आठ गरी दुई सय ७२ सम्वेदनशील स्थल मानिएका छन् ।’

प्रतिनिधि सभा सदस्यका लागि १२ र प्रदेश सभा सदस्यका लागि २४ गरी ३६ सदस्यहरु प्रत्यक्ष चयन हुने गरी हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ ८६ र प्रदेशसभातर्फ एक सय ४४ उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

निर्वाचन सम्पन्न गर्न कैलालीमा सबैभन्दा बढी मतदान स्थलहरु तोकिएका छन । यस जिल्लामा दुई सय ३१ मतदान स्थल र पाँच सय ३८ मतदान केन्द्र रहेका छन् ।

यस्तै डोटीमा एक सय १५ मतदान स्थल र एक सय ५७ मतदान केन्द्र, कञ्चनपुरमा एक सय ३२ मतदान स्थल र तीन सय २० मतदान केन्द्र, अछाममा एक सय २९ मतदान स्थल र एक सय ९७ मतदान केन्द्र र डडेल्धुरामा ७७ मतदान स्थल र एक सय १७ मतदान केन्द्र रहेका क्षेत्रीय निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार विहीबार पाँच जिल्लाका १० लाख ५० हजार सात सय ३२ मतदाताले आफ्ना प्रतिनिधि छान्नका लागि मतदान गर्नेछन् । कैलालीमा सवैभन्दा बढी चार लाख ६० हजार पाँच सय ७८ मतदाता रहेका छन् । यस्तै कञ्चनपुरमा दुई लाख ६४ हजार नौ सय ७३, अछाममा एक लाख ३६ हजार नौ सय तीन, डोटीमा एक लाख ६ हजार पाँच सय ४३ र डडेल्धुरामा ८१ हजार सात सय ३५ मतदाता रहेका छन् ।

सवै मतदान केन्द्रहरुमा कर्मचारी हरुको टोली पुगिसकेको मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी आएको छ । सोमवार साँझ मतदान केन्द्रमा पुगेका कर्मचारीहरुले मंगलवार र बुधबार मतदान स्थलको आवश्यक तयारी गर्ने र बितरण गर्न बाँकी मतदाता परिचय पत्र बितरण गर्ने गर्नेछन् ।

मतदान स्थलहरुको सुरक्षा सम्वेदनशीलता हेरि सुरक्षा प्रवन्ध मिलाईएको क्षेत्रीय उपप्रशासक बिष्टले वताए । उनले भने ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा व्यवस्था मिलाएका छौं, यसका साथसाथै घुम्ती सुरक्षा टोलीको पनि व्यवस्था गरिएको छ ।’

बिष्टले मतदाताहरुलाई निर्भयका साथ मतदान केन्द्रमा गई मतदान गर्न पाउने पूर्ण व्यवस्था गरिएको जानकारी दिँदै भने ‘निर्धक्क भएर मतदान गर्न म आम मतदाताहरुलाई आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment