Comments Add Comment

गोरखा–१ मा यसकारण हारे चीनकाजी

२६ मंसिर, गोरखा । तत्कालीन गोरखा–३ बाट ०४८ र ०५१ सालको संसदीय चुनाव जितेका कांग्रेस नेता चीनकाजी श्रेष्ठले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने हार बेहोर्नुपर्‍यो ।

कांग्रेसको निवर्तमानमा प्रमुख सचेतक उनी गोरखा–१ मा माओवादी केन्द्रका हरिराज अधिकारीसँग तीन हजार दुई सय १७ मतान्तरले पराजित भए ।

०३६ सालदेखि निरन्तर राजनीतिमा रहेका गोरखा आरुघाटका श्रेष्ठको यो पहिलो हार भने होइन । यसअघि ०६४ सालको पहिलो संविधानसभामा पनि उनले हार बेहोर्नुपरेको थियो ।

संघात्मक गणतन्त्र नेपालको पहिलो संसदीय निर्वाचनमा उनले विजय हासिल गर्ने धेरैको आकलन थियो । उनका प्रतिद्वन्द्वी अधिकारी मतदातामाझ परिचित अनुहार थिएनन् । सोही कारण श्रेष्ठको जितको आकलन स्वाभाविक मानिएको थियो ।

चीनकाजी ०७० सालको दोस्रो संविधानसभामा श्रेष्ठ समानुपातिक कोटामा सांसद बनेका थिए । सोही हैसियतमा अर्थ राज्यमन्त्री पनि बने । र, पार्टीको प्रमुख सचेतकको जिम्मेवारीसमेत पाए ।

मुलुकभर स्थानीय तहको परिणामकै आधारमा वाम गठबन्धनले फराकिलो अन्तरसाथ विजय हासिल गर्‍यो । श्रेष्ठले कांग्रेसको त्यस्तै जनमत जोगाउन सकेनन् ।

स्थानीय तहमा गोरखा–१ अन्तर्गत्का गोरखा नगरपालिका र अधिकांश गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेको थियो । त्यो जनमत श्रेष्ठको पोल्टामा पर्न सकेन ।

उक्त क्षेत्रका ६ गाउँपालिकामध्ये पाँच वटामा कांग्रेस विजयी भएको थियो ।

तथापि, गाउँपालिका प्रमुख र उपप्रमुखबाहेक वडाहरुमा वाम गठबन्धनकै बाहुल्यता थियो । सोही कारण हार बेहोर्नुपरेको कांग्रेस कार्यकर्ताहरुको तर्क छ । श्रेष्ठको हारका पछाडि पनि वाम गठबन्धनलाई प्रमुख कारक मान्छन्, उनीहरु ।

गोरखा–२ मा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई जिताउन कांग्रेसले आफ्नो पूरै शक्ति लगायो । गोरखा–१ मा भने नयाँशक्तिको सबै मत कांग्रेसको पोल्टामा आएको देखिएन ।

पार्टीबाटै पूर्ण सहयोग नभएका कारण पनि श्रेष्ठलाई पराजय हात लागेको बताउनेहरु पनि छन् । श्रेष्ठप्रति कांग्रेसकै कार्यकर्ता रुष्ट रहेकाले त्यस्तो अवस्था आएको उनीहरुको भनाइ छ ।

कार्यकर्ता रिझाउन उनी चुकेको विश्लेषण पनि भइरहेको छ । सम्पर्कमै नआउने, चुनावी अभियानकै क्रममा कार्यकर्ताको समेत फोन नउठाउने, घुलमिल नहुने, ‘टिम वर्क’को साटो एकल निर्णय लिने शैलीका कारण श्रेष्ठको हातमा पराजय परेको बताउनेहरु पनि छन् ।

चुनावी अभियानमा प्रदेशसभातर्फका उम्मेदवारहरुसँग पनि समन्वय नगरेको आरोप उनीमाथि लागेको छ । यसअघिदेखि नै श्रेष्ठले जिल्लामा लोकप्रिय छवि निर्माण गर्न सकेका छैनन् । सोही कारण सांगठनिक सहयोग उनले प्राप्त गर्न नसकेको बताउनेहरु कांग्रेस कार्यकर्ताहरु नै छन् ।

२०७० सालको निर्वाचनबाट दोस्रो र तेस्रो बनेका दलहरु एक ठाउँमा आउँदा झिनो अन्तरको पहिलो दल संकटमा पर्नु स्वाभाविकै थियो । र, उक्त क्षेत्रमा प्रदेश/प्रतिनिधिसभा निर्वाचनअघि थपिएका मतदाताको लाभ वाम गठबन्धनले उठाएको देखियो ।

काम तथा अध्ययनको सिलसिलामा जिल्लाबाहिर रहेका कांग्रेसका मतदाता श्रेष्ठलाई भोट हाल्न गाउँ फर्किएको कमै देखियो । त्यसले पनि उनलाई असर पर्न गयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment