Comments Add Comment

सरकारको काम बखेडा झिकेर गैरकानुनी आर्जन गर्ने होइनः ओली

२८ असोज, भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनीतिक परिवर्तनहरुले जनतामा नयाँ नयाँ आकांक्षा जन्माउने बताएका छन् । यसपालीको निर्वाचन पनि त्यस्तै एउटा परिवर्तन भएकोले यसले जनतामा विकास र समृद्धिको आकांक्षा जन्माएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापनपत्र आफ्नै निवास बालकोटमा बिहीब्ाार बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए ।

‘निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए ‘ ओलीले भने ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताए ।

सम्पती शुद्धीकरणका नाममा व्यवसायीहरुलाई आफ्नो पुँजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा ओलीले बताए ।

‘आफ्नै खाताबाट १० लाख रुपैयाँभन्दा बढी रकम झिक्न बन्देज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो ‘सरकारको काम लगानीमैत्री वातावरण बनाएर व्यावसायीसँग कर उठाउने हो, तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आर्जन गर्ने होइन । ‘

अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागी उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताए ।

महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान,पद्म ज्योती, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज बैद्य र भाष्करराज कणिर्कारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापनपत्रमा देशको संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंशा गरिएको छ ।

ज्ञापनपत्रमा वाम गठबन्धनको दुई तिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महसुस भएको उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ ‘तपाईंको नेतृत्वमा गठन हुने आगामी सरकारले समृद्धि र आर्थिक विकासको लागी निजी क्षेत्रको सहभागीतामुलक सहयोग र साथ रहने विश्वास दिलाउन चाहन्छौं ।’

ओलीले आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसंग हातमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी बालकोट मै अध्यक्ष ओलीलाई बधाइ दिन आएको नेपाल राष्ट्रिय माडवारी परिषद केन्द्रीय समितीका पदाधिकारीसँग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

तर यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिँदै वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषदलाई आग्रह गरे ।

सरकारसंग उद्योग,मजदुर,देशको आवश्यकता,उत्पादन आदि कुनै पनि क्षेत्रको यकिन तथ्यांक नभएकोले व्यावसायीक क्षेत्र अनुमानका भर सञ्चालन भइरहेको ओलीले स्पष्ट पारे ।

‘नाडी छामेका भरमा रोगको शंका गरेर शंकाकै भरमा औषधी खुवाइँदैछ’ ओलीले भने ‘अब यस्तो हुदैन । उद्योग, मजदुर, उत्पादन, बजार आदि सबै क्षेत्रका खास समस्या पहिचान गरेर त्यसै अनुसार समाधान पनि खोजिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment