Comments Add Comment

साउदी जेलमा रहेेका भुसालको मुक्तिका लागि विश्वभरिबाट सहयोग जुट्दै

३२ लाख संकल, अझै १३ लाख आवश्यक

२० डिसेम्बर, युएई । साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालले तिनुपर्ने ब्लडमनीका लागि विश्वका विभिन्न देशमा रहेका नेपालीहरु अर्थ संकलन सुरु गरेका छन् ।

यो समाचार तयार पार्दासम्म आवश्यक पर्ने ४५ लाखमध्ये ३२ लाख १२ हजार रुपैयाँ प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को भुसालको सहयोगार्थ स्थापना गरेको बैंक खातामा जम्मा भइसकेको कोषाध्यक्ष देवीप्रसाद खत्रीले जानकारी दिएका छन् ।

खत्रीका अनुसार भुसालको मुक्तिका लागि करिब १३ लाख रकम अभाव भएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धारका लागि क्रियाशील पीएनसीसीले दश हजार रुपैयाँ जम्मा गरी अभियानको शुरुवात गरेको थियो भने त्यस कोषमा एनआरएन आइसीसीले १२ लाख पचास हजार रुपैयाँ जम्मा गरेको थियो ।

उक्त कोषमा नवलपरासी सम्पर्क समिति, दमाम साउदी अरबले ६ लाख १४ हजार ४६ रुपैयाँ र साउदीकै जेद्धा क्षेत्रमा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुको सक्रियतामा ८ लाख तीन हजार ६ सय ६ रुपैयाँ जम्मा गरिएको छ ।

एनआरएन साउदी अरबका संरक्षक तथा नवलपरासी सम्पर्क समिति दमामका अध्यक्ष वीरेन्द्रकुमार चौधरीका अनुसार साउदी अबरबाट पहिलो चरणमा उल्लेख्य रकम संकलन भए पनि अबको चरणमा दमामको सम्पर्क समितिबाट १ लाख १५ हजार र जेद्धा एरियाका नेपाली संघसंस्थाहरुबाट करिब १ लाख ३५ हजारको हाराहारीमा रकम संकलन गरिएको छ ।
साउदीको एनआरएनले पनि आगामी शुक्रबार औपचारिक बैठकबाट सहयोगको घोषणा गर्ने बुझिएको छ ।

साउदी एनआरएनको कल्याणकारी कोषमा रामचन्द्र बचाउ अभियानको केही रकम बाँकी रहेका कारण त्यही कोषबाट भुसाल बचाऊ अभियानलाई सहयोग गरिनेछ ।

जेद्धाको नेपाली वाणिज्य दूतावासले पनि एनआरएन साउदीलाई भुसाललाई सहयोग गर्न सोही प्रकृतिको पत्राचार गरेको बुझिएको छ ।

जुर्मुराए युएईका नेपालीहरु पनि

आफूले चलाएको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएका कारण विगत चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसालको मुक्तिका लागि युएईका नेपालीहरु जुर्मुराएका छन् ।

नवलपरासी सेवा समाज यूएईका अध्यक्ष भीम हमालको संयोजकत्वमा यूएईमा रकम संकलन अभियान तीव्र रुपमा अगाडि बडेको अभियानका उपसंयोजक नवलपरासी समाजकै महासचिव राज भण्डारीले बताएका छन् ।

१ लाख ५० हजार साउदी रियाल जम्मा गर्न सके उनको रिहाइ हुने स्थानीय अदालतको निर्णयका आधारमा सोही रकम जुटाउन युएईमा क्रियाशील नवलपरासी समाज र अन्य संघसंस्थामा आबद्ध नेपालीहरु सहयोग संकलनमा जुटेका हुन् ।

ब्लडमनी स्वरुप तिर्न पर्ने रकम भुसाल परिवारको क्षमताभन्दा टाढाको कुरा भएका कारण भुसालको उद्धारका लागि युएईमा रहेका नेपालीहरु जुटेको पत्रकार चिरन न्यौपानेले बताए ।

यो समाचार तयार पार्दासम्म नवलपरासी समाज युएईका अध्यक्ष भीम हमालको अग्रसरतामा करिब ७० हजार, महासचिव राज भण्डारीको अग्रसरतामा ७७ हजार रुपैयाँको प्रतिबद्धता आएको छ । उक्त रकम २२ डिसेम्बरदेखि संकलन गरिने अभियन्ताहरुले बताएका छन् ।

त्यसरी नै सञ्जय काफ्लेको अग्रसरतामा सारजहाबाट करिब २७ हजार रुपैयाँ, भानुभक्त पौडेल, जीतु ठकुरी, जनसम्पर्क समिति दुबई क्षेत्रबाट राजेन्द्र अधिकारीको अग्रसरतामा पनि रकम संकलन अभियान तीव्र पारिएको छ ।

युएईमा क्रियाशील केही सामाजिक संस्थाहरुले यस अभियानमा सक्रियतापूर्वक साथ दिएका छन् भने केही सामाजिक संस्थामा आबद्ध भए पनि व्यक्तिगत रुपमा आर्थिक सहयोग अभियानमा सहयोग गरिरहेका छन् ।

केही राम्रो जनाधार भएका, पुराना र आर्थिक तथा सांगठनिक रुपमा मजबुत संस्थाहरु चाहिँ पर्ख र हेरको अवस्थामा छन् । यद्यपि, ती संस्थाहरु पनि सहयोग अभियानमा क्रमश आउने क्रममा रहेका छन् ।

एनआरएनका मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए यूएईका अध्यक्ष रमेश श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण मरासिनीले व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

स्याङ्जा सेवा समाजको तर्फबाट १५ हजार ५ सय रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष खगेन्द्र गैरेले गरेका छन् । ताप्लेजुङ सेवा समाजबाट कार्यवाहक अध्यक्ष सोनी भण्डारीले सहयोग संकलन अभियानमा सक्रियतापूर्वक लागि परेको बताएकी छिन् ।

दाङ देउखुरी समाज युएईबाट कमल गिरीले पनि करिब १४ हजार रुपैयाँ बराबर सहयोग जुटाउने प्रतिबद्धता गरेका छन् भने धादिङ सेवा समाजबाट अध्यक्ष योगेन्द्र थापाले पनि संस्थागत रुपमै सहयोग गर्ने जनाएका छन् ।

पाल्पाली समाज युएईका अध्यक्ष वेदप्रकाश अर्यालले पनि भुसाल बचाऊ अभियानमा सरिक हुने बताएका छन् भने पर्वत समाजबाट अध्यक्ष परशुराम पौडेलले सहयोगको प्रतिबद्धता गरेका छन् ।

झापाली समाज युएईमा आबद्ध करिब १५ जना पदाधिकारीले सहयोगको प्रतिबद्धता गरेको समाजका अलएन क्षेत्रीय सचिव डिल्ली हुमागाईले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला समाज, युएईबाट जमुना भुसालले सहयोग अभियानमा संस्थागत र व्याक्तिगत सहयोग रहने प्रतिबद्धता गरेकी छिन् भने सामाजिक अभियन्ता आरती वाग्ले भुसाल, विकास उप्रेती, मणि भुर्तेल लगायत धेरैले व्यक्तिगत रुपमा सहयोगको प्रतिबद्धता गरेका छन् ।

अभियानका संयोजक हमालले नेपाली समाज, मितेरी समाज, रुपन्देही समाज, विश्व सहयोग संघ, युएई शाखाबाट पनि सहयोग गर्ने आश्वासन पाएको बताएका छन् ।

युएईमा क्रियाशील बचत तथा सहकारी समूहहरुमध्ये केहीले आफ्नो उद्धारकोषबाट सहयोगको प्रतिबद्धता गरेका छन् ।

कर्मभूमि र सगरमाथा सहकारी समूहबाट नारायण बोहोरा, मिलिजुली सहकारी समूहबाट राजु कोइरालाले पनि आफ्नो सहकारीको कल्याणकारी कोषबाट सहयोग गर्ने बाचा गरेका छन् ।

युएईमा रहेर व्यावसाय गरिरहेका केही नेपाली व्यावसायीहरुले पनि थानेश्वर बचाऊ अभियानमा सहयोगी हातहरु अगाडि बढाइरहेका छन् । सेलेन्डर लेडिज सैलुन बरदुबईबाट सञ्चालक मुन गुरुङ, नासर सैलुन, फुजेरा र अल बर्दी रेस्टुरेन्ट, फुजेराबाट सञ्चालक सेर सुनारले यस अभियानमा साथ दिने भएका छन् भने बरदुबईको फिस्टेल ट्राभल र सन एन्ड मुन ट्राभलले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

अन्य देशहरुबाट पनि सहयोग जुट्दै

त्यसरी नै कतारबाट व्यावसायी युवराज पाठकले सहयोग अभियानको नेतृत्व गरेको जानकारी अनलाईनखबरलाई प्राप्त भएको छ भने बहराइनबाट नवलपरासीकै नवराज लामिछानेको पहलमा ४१ हजार रुपैयाँ पिएनसीसीको खातामा जम्मा भइसकेको छ ।

बर्दघाट-२, नवलपरासी स्थायी घर भएका अस्ट्रेलियामा कार्यरुत राम क्षेत्रीले १० हजार रुपैयाँ सहयोग अभियानमा जम्मा गरिसकेका छन् भने यस अभियानलाई मलेसियाबाट १ लाख बराबरको सहयोग आउने क्रममा रहेको बताइएको छ ।

त्यसरी नै जापानस्थित नवलपरासी समाज, र कोरियाबाट पनि उक्त अभियान तीव्र रुपले आर्थिक सहयोग सञ्चालन भइरहेको समाजका सल्लाहकार नेत्रनारायण थनेतले बताए ।

मध्यबिन्दु नगरपालिकामा पनि स्थानीयबासीहरुले करिब २ लाख ५० हजार रुपैयाँ संकलन गरेको समाचार प्राप्त भएको छ ।

प्रतिबद्धता गरिएका सबै सहयोग जम्मा भए पनि करिब ५ लाख रुपैयाँको अभाव प्रस्ट देख्न सकिन्छ ।

यूएईका नेपालीहरुबाट निणर्ायक सहयोग हुने अपेक्षा अभियन्ताहरुको रहेको छ । त्यसका लागि युएईका नेपालीहरुलाई यस अभियानमा सहयोग गर्न नवलपरासी समाज युएईले आग्रह गरेको छ ।

भुसाल बजाउ अभियानलाई सहयोग गर्न चाहनेहरुले ग्लोबल आईएमी बैंक, अनामनगर शाखा, काठमाडौं खाता न ३९०१०१००००४०९ मा सिधा रकम जम्मा गर्न सकिने ब्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment