+
+

नारायणी किनारमा प्रचण्डको इभिनिङ वाकः लोकमान चौतारोमा रोकिए, बुद्धमूर्ति अगाडि फोटो खिचाए

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ७ गते १९:५७

७ पुस, चितवन । प्रचण्ड चुनाव प्रचारको क्रममा बिभिन्न जिल्लामा पुग्दा मर्निङ वाकमा निस्किएको त सबैले देखेकै हो तर चुनाव सकेपछि पहिलोपटक चितवन आएका उनी शुक्रबार नारायणी किनारमा इभिनिङ वाकमा देखिए ।

कालो ओभरकोट, कालो पाइन्ट र कालै भादगाउँले टोपी लगाएका उनी पत्नी सीता दाहाल र परिवारका अन्य सदस्यसहित नारायणी किनारमा केहीबेर घुमे ।

मन बहलाउन उनी बेलाबेला घुम्न निस्किन्छन् । बिहीबार धुलिखेलको स्याउ बगैंचा घुमेका उनी शुक्रबार नारायणी नदी किनारमा देखिए जहाँ उनले आफ्नो बाल्यकाल सम्झिए ।

‘हामी पहिले यहीँनेर पौडी खेल्थ्यौं, अलि पर ढुंगैढुंगाको खोंच थियो,’ प्रचण्डले पत्नी सीता दाहाललाई सुनाए ।

नदी किनारमा केही पाइला हिँडेपछि लोकमान चौतारो आयो । त्यहाँ उनी एकछिन रोकिए । नदी किनारमै रहेको बुद्धको मूर्ति अगाडि पनि रोकिएर केहीबेर हेरे अनि परिवारका सदस्यसँग मूर्तिको अगाडि उभिएर सामूहिक फोटो खिचाए ।

साँझको बेला पूर्वप्रधानमन्त्री प्रचण्डलाई खुल्ला स्थानमा घुमाउनु सुरक्षाको दृष्टिकोणले संवेदनशील थियो तर सादा पोशाकमा रहेका डीएसपी दानबहादुर मल्लले सुरक्षाको चाँजोपाँजो मिलाएका थिए ।

छोरा प्रकाशको अल्पायूमै आकस्मिक निधन भएपछि प्रचण्ड परिवार पीडामा छ । सबैभन्दा पीडा आमा सीतालाई छ । सायद त्यही पीडा भुलाउने प्रयासमा छन् प्रचण्ड ।

उनले बिहीबार पत्नी सीतालाई काभ्रेको धुलिखेल भट्टेडाँडाका शारदाप्रसाद आचार्यको स्याउ बगैंचा र फूलबारीमा घुमाएका थिए । शुक्रबार आफ्नो गृहजिल्ला चितवन आएका प्रचण्ड शनिबार भैरहवा जाने कार्यक्रम छ ।

तस्वीर: मनहरी तिमल्सिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?