+
+

चितवनको देवनगरमा विद्युत सबस्टेसन सञ्चालनमा

रासस रासस
२०८१ जेठ ५ गते १६:३३

५ जेठ, काठमाडौं । चितवनको देवनगर सबस्टेशन शनिबारदेखि  सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी क्षमताको सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन उद्घाटन गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

मेयर दाहालले लो भोल्टेजका कारण उद्योग व्यवसाय नचलेको, पङ्खा नचलेको भन्ने उपभोक्ताबाट आउने गुनासो देवनगर सबस्टेसन सञ्चालनमा आएपछि सम्बोधन हुने बताइन् ।

चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय बासिन्दालगायतको साथ र सहयोगले लाइन तथा सबस्टेसन निर्माण भएको उल्लेख गर्दै उनले स्थानीयको मागबमोजिम केही क्षेत्रमा नाङ्गो तार बदलेर कालो तार राख्ने र तारलाई भूमिगत गर्ने काम गर्न आग्रह गरिन् ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले सबस्टेसन सञ्लनमा आएसँगै महानगरपालिकाको पश्चिमी भेगको विकासका लागि कोशेढुङ्गा साबित हुने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आगामी ५० वर्षमा महानगरपालिकामा हुने विद्युत् मागमा प्रक्षेपण गरी २४ सै घण्टा विश्वसनीय, गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि काम अगाडि बढाइसकेको बताए ।

महानगर क्षेत्रमा भइरहेको तीव्र सहरीकरणका कारण बढिरहेको विद्युत् मागलाई सम्बोधन गर्न ३३ केभीको रिङमार्फत १२३ केभी सबस्टेसनमा जोड्ने गरी काम भइरहेको उनको भनाइ छ ।

देवनगर सबस्टेसनबाट महानगरपालिकाका वडा नं ५, ६, ८, ९, १३, १४, १५, २२ र २३ मा विद्युत् आपूर्ति दिइएको छ । सबस्टेसनमा २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । त्यसबाट करिब २२ मेगावाट विद्युत् आपूर्ति गर्न सकिने छ ।

वडा नं ११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी वनदेवी, सल्लेनी, गौरीगञ्ज, बरुवा, केशरबाग हुँदै देवनगर सबस्टेसनसम्म पुर्‍याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म झण्डै नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार फिडर निकालिएका छन् ।

देवनगर सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फुलबारी, गितानगर, पटिहानी, सितामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित भएको छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको ग्रिड सोलार तथा ऊर्जा दक्षता आयोजना (प्योकेज–९) अन्तर्गत प्राप्त सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेसन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेसनको लागत रु १० करोड रहेको आयोजना निर्देशक/संयोजक अच्युत घिमिरेले जानकारी दिए ।

सबस्टेसन तयार भए पनि लाइन निर्माणमा स्थानीयको अवरोध र वातावरणीय अध्ययन तथा स्वीकृतिमा समय लाग्दा सबस्टेसन सञ्चालनमा ल्याउन केही ढिलाइ भएको थियो ।

कोभिड–१९को महामारी, जग्गा अधिग्रहणमा समस्या, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र (बफर जोन)मा पर्ने जङ्गल हुँदै प्रसारण लाइन लैजानु पर्ने र त्यसका लागि संक्षिप्त वातावरणीय प्रभाव अध्ययन तथा स्वीकृतिमा समय लाग्दा, स्थानीयको अवरोधलगायतका कारणले निर्माणमा केही ढिलाइ भएको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?