Comments Add Comment

दम्भ छाडौं, वाम जनमत जोडौं

‘एक जुगमा एकदिन एकपटक आउँछ, उलट-पुलट उथल-पुथल हेरफेर ल्याउँछ !’ प्रगतिशील कवि गोपालप्रसाद रिमालका यी ओजस्वी हरफहरुलाई चरितार्थ गर्दै नेपालमा पहिलोपटक वामपन्थीहरू दुई तिहाई वहुमतको नजिक पुगेका छन् ।

जनताको मन र मत जितेर कम्युनिष्टहरु दुई तिहाई आसपास पुग्नु विश्व कम्युनिष्ट आन्दोलन मै एक विशिष्ट परिघटना हो ।

नेपालमा पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको करिब ६८ वर्षपछि अनेक धारामा विभाजित वाम आन्दोलनलाई पुनः एउटै धारामा हिँडाउने प्रयत्न आफैंमा ऐतिहासिक छ । यो युगीन पहल कदमीका निम्ति केपी ओली र प्रचण्ड अभिनन्दनीय छन् ।

जनमतसंग्रहरुपी निर्वाचनवाट नेपाली जनताको सबैभन्दा ठूलो हिस्साले वाम एकतालाई अनुमोदन गरेको छ । त्यसैले अब वाम एकताको विषय कुनै अमूक पार्टी विशेष वा नेता विशेषको निजी दिलचस्वी वा स्वार्थपूर्तिको विषय रहेन । यो आम जनताको प्रत्यक्ष सरोकार र सहभागिताको विषय बनिसकेको छ । यसलाई अवमूल्यन वा विषयान्तर गर्ने छुट कसैलाई छैन ।

दम्भ र अहंकारको घोडामा चढेर जनताको मत र भावनामाथि खेलवाड गर्ने अधिकार अब कसैलाई पनि छैन । एकअर्काका संवेदनशीलतालाई वेवास्ता गरी जानेर वा नजानेर वाम एकतालाई खण्डित तुल्याउने काम कहिँकतैबाट हुनुहुँदैन । नेता कार्यकर्ताहरुका अभिव्यक्ति जिम्मेवार, सन्तुलित र हार्दिकतापूर्ण हुन जरुरी छ ।

माओवादीकै कारण एमाले बहुमत नजिक

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ नेकपा-एमाले)ले कांग्रेसभन्दा जम्मा ४५ हजार १ सय ५ मत मात्रै बढी ल्याएको देखिन्छ । निर्वाचन आयोगको तथ्यांकअनुसार सो निर्वाचनमा एमालेले जम्मा ३१ लाख ७३ हजार ४ सय ९४ मत अनि कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत ल्याएको छ ।

तेस्रो दल बनेको माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत प्राप्त गरेको देखिन्छ । सामान्यरुपमा हेर्दा समानुपातिकमा प्राप्त मतका आधारमा नेकपा (एमाले)र नेपाली कांग्रेस हाराहारी र बराबरीका दलका रुपमा देखिन्छन् ।

यसबाट सहजै भन्न सकिन्छ कि यदि निर्वाचनमा एमाले र माओवादी केन्ऽको साझा गठवन्धन नबनेको हुन्थ्यो भने प्रत्यक्षतर्फ पनि समानुपातिकमा जस्तै कांग्रेस र एमालेको हाराहारीकै सिट आउँथ्यो । तर, कुल ४५ हजार मात्र मत फरक हुँदा पनि आखिर किन एमाले ८० सिटमात्र ल्याउन सफल भयो र कांग्रेस केवल २३ सिटमा मात्र खुम्चिनुपर्‍यो भन्ने प्रश्नको उत्तर घामजतिकै छर्लङ्ग छ । ६० प्रतिशत ठाउँमा प्रत्यक्ष उम्मेदवार नउठाउँदा पनि १३ लाख मत हासिल गरेको माओवादी केन्ऽ नै यो परिणाम उथलपुथल गर्नमा निर्णायक हो भन्ने बुझ्नलाई कठिन छैन ।

हाराहारीमा रहेको कांग्रेसलाई हराउन थोरै मत नै सही, तर माओवादीको मत निर्णायक रहेको प्रष्टै बुझ्न सकिन्छ ।

त्यसैगरी कांग्रेसको तुलनामा समानुपातिकमा निकै कम मत ल्याएको माओवादीले प्रत्यक्षमा कांग्रेसलाई पछारेर ३६ सिट ल्याउनुमा पनि एमालेको हात छ ।

दुबैका सिटमा दुबैको स्वामित्व

निर्वाचनअघि नै साझा घोषणापत्रसहित गठबन्धन गरेका एमाले र माओवादीको तालमेल सामान्य चुनावी तालमेल मात्र थिएन । यो वि.सं.२००६ सालमा स्थापना भएर ०१९ सालबाट विभाजित नेकपाका मूल भंगालाहरुलाई ०७४ सालमा एकतावद्ध बनाउने एउटा महाअभियान थियोे ।

यो निर्वाचनका दौरानमा एउटा हातमा सूर्य र अर्को हातमा गोलाकारभित्र हँसिया हथौडा बोकेर चुनावी रणसंग्राममा उत्रिएका लाखौंलाख वाम एकताप्रेमी जनसमुदायको एउटा लहर थियोे । सँगसँगै यो एमालेलाई आत्मसात गरेको माओवादी र माओवादीलाई आत्मसात गरेको एमालेप्रतिको अतिरिक्त समर्थनको उपज पनि थियोे । यसरी हेर्दा एमाले वा माओवादी दुबैले प्राप्त गरेका सिटमा दुबैको स्वामित्व छ भन्ने कुरा भुल्न मिल्दैन ।

एमालेले प्राप्त गरेको सिटमा माओवादीको मत छ भन्ने कुरा न त एमालेले भुल्न मिल्छ न त माओवादीले प्राप्त गरेका सिटमा एमालेको मत छ भन्ने तथ्य माओवादीले भुल्न मिल्छ । त्यसैले चुनाव जितिसकेपछि जसरी एमालेले आˆना सिटहरुमा एकलौटी अहंकार गर्न मिल्दैन ठीक त्यसरी नै माओवादीले आˆना सिटहरुमा एकतर्फी घमण्ड गर्न मिल्दैन ।

देशभर एमालेका लागि ६० प्रतिशत सिट माओवादीले छाडिदिएको र एमालेजस्तो दलले पनि देशभर ४० प्रतिशत सिट माओवादीलाई छाडिदिएको दुवैले भुल्न हुँदैन । त्यति मात्र हैन, वाम एकता र राजनीतिक स्थायित्वका लागि दुबै दलका साझा प्रयासमा आएको लाखौंलाख भोट र चुनावी लहर पनि दुवै दलका साझा सम्पत्ति हुन्।

साझा घोषणापत्र नै एकताको प्रस्थानविन्दु

नेपालको इतिहासमा दलहरुवीच विगतमा चुनावी तालमेलका सानाठूला जति प्रयत्न भए पनि एउटै घोषणापत्र लिएर साझानीति र कार्यक्रमका आधारमा अघि बढ्न प्रतिवद्ध छौं भनेर जनता माझ गएको यो नै पहिलो परिघटना हो ।

यसअघि प्रायः चुनाव सकिएपछि मात्र गठवन्धन हुने गर्दथ्यो । चुनाव अघि नै भए पनि आ-आˆनै घोषणापत्रका आधारमा दलहरु चुनाव लड्थे । त्यसैले यो विशिष्ट र ऐतिहासिक सन्दर्भ हो । चुनावमार्फत नै दुबै दलका नेता कार्यकर्ता एवं आम जनसमुदायले यो घोषणापत्र पनि अनुमोदन गरिसकेका छन् ।

निश्चितरूपमा एमाले र माओवादी फरक स्कुलिङ र फरक पृष्ठभूमिबाट आएका छन् । विगतमा दुबैका आ-आˆनै मौलिक विशेषता र भिन्नताहरु पनि छन् । हुनतः यस सन्दर्भमा ओलीले अब सम्झनाका हैन, सपनाका कुरा गरौं भनेर पटकपटक भन्नुभएको पनि छ ।

तथापि इतिहास र आफू उभिएको जग चटक्कै भुलेर अघि बढ्न सकिन्न । किनकि हिजो एमालेले इतिहासमा जति राम्रो काम गर्‍यो, त्यो आजको उसको पहिचान र परिचय हो । त्यसैगरी हिजो माओवादीले जति राम्रा काम गर्‍यो, त्यो उसको पनि आजको परिचय हो । अवश्य पनि इतिहासमा दुबैले गरेका भुल र कमी कमजोरी त भुल्ने नै हो, यसमा दुईमत नै छैन ।

तर, नराम्रा कुरा भुल्दै गर्दा राम्रा कुरा भुल्न आवश्यक छैन । एकताको प्रकृयामा अघि बढ्दा दुवैले दुबैका सकारात्मक योगदानको उच्च सम्मान र मूल्यांकन गर्ने साहस गर्नैपर्छ ।

भौतिकवादीहरुले वस्तुगत जगतको भौतिक यथार्थलाई स्वीकार गर्न हिच्किचाउनु वाञ्छनीय हुँदैन ।

हिजोआज अमुक मिडियामा अमुक नेताका अन्तर्वार्ताहरुले बजार तरङ्गति हुने गरेको छ । हुनत समग्र अन्तर्वार्ता नहेरी एउटा सानो अंश मात्रै लिएर गरिने टिप्पणीले मात्र समग्रताको प्रतिनिधित्व नगर्न पनि सक्ला । कागले कान लग्यो भनेर कागकै पछि दगुर्नु पनि हुँदैन । त्यसैले आधिकारिक डकुमेन्ट हेर्नु जरुरी छ ।

दुई दलीय नेता सम्मिलित कार्यदलले बनाएको, दुवै दलले पारित गरेको, प्रचण्ड र केपी ओलीले संयुक्त रुपमा सार्वजनिक गरेको र विशाल जनमतले अनुमोदन गरेको साझा घोषणापत्र पल्टायो भने धेरै प्रश्नहरु सजिलै उत्तरित हुने देखिन्छ ।

उक्त घोषणापत्रमा भनिएको छ- ‘मुलुकमा यो ऐतिहासिक परिवर्तन ल्याउने शान्तिपूर्ण तथा सशस्त्र संघर्षहरु, झापा बिद्रोह तथा माओवादी जनयुद्ध एवं मधेसी, आदिवासी,जनजातिलगायत उत्पीडित समुदायले चलाएका संघर्षहरुमा अाफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, वेपत्ता योद्धाहरुलाई सम्मान प्रकट गर्दछौं र घाइते योद्धाहरुलाई अभिवादन गर्दछौं।’

घोषणापत्रमा प्रयुक्त सन्दर्भ हेर्दा पार्टी एकताको नयाँ डकुमेन्ट तयार पार्न कठिनाई नभएको अनुमान गर्न सकिन्छ । मात्र सवाल हो इमान्दारिताको ।

एकअर्काको संवेदनशीलता ख्याल गरौं

हिजो माओवादी र एमालेको एउटै भोट बैंक पनि थियो । एउटै भोट वैंकको भोट तान्न निकै तानातान र रस्साकस्सी पर्नु स्वाभाविकै थियोे । माओवादी सुक्दा मात्र एमाले फुक्ने अथवा एमाले सुक्दा मात्र माओवादी फुक्ने खालको बुझाइ र परिवेश थियोे । त्यसक्रममा निकै तिक्तताहरु पनि नभएका हैनन् । त्यसप्रकारका तिक्तताजन्य भनाइ, गराइ र भोगाइलाई इतिहासको एउटा वाकसमा अध्ययन र अनुसन्धानका लागि थन्क्याउनु पर्छ ।

तर, विगत तीतो मात्र पनि छैन ,मीठो पनि छ । एमालेका तिनैजना प्रधानमन्त्री कुनै न कुनैरुपमा माओवादी सहयोगमा नै बनेका हुन् । एमाले नेतृ विद्या भण्डारीलाई प्रथम महिला राष्ट्रपति बन्न माओवादी साथ भएकै हो । त्यसो त माओवादी अध्यक्ष प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पनि एमाले साथ मिलेकै हो । नेपालको इतिहासमा नै पहिलो महिला सभामुख बन्न ओनसरी घर्तीलाई एमालेको सहयोग भएकै हो ।

माओवादीलाई परिवर्तनकारी शक्ति मान्ने तर माओवादीले गरेको परिवर्तनकारी आन्दोलन चाहिँ गलत हो भनेर अब सही निष्कर्ष आउँदैन । माओवादीले गरेको सशस्त्र संघर्षलाई स्वयं नेपालको संविधान ०७२ ले सम्मान र स्वीकार गरेको छ । नेपालमा राजतन्त्रको ठाउँमा गणतन्त्र नआएको भए,एकात्मक शासनका ठाउँमा संघात्मक शासन नआएको भए, एकल हिन्दुराज्यका ठाउँमा धर्म निरपेक्ष राज्य वहाली नभएको भए, एकल जातीय वर्चस्वका ठाउँमा समावेशी र समानुपातिक प्रतिनिधित्वको वहाली नभएको भए हामी यो ठाउँमा आइपुग्ने नै थिएनौं ।

राजामहाराजावाट जारी संविधान मिल्काएर संविधानसभा मार्फत जनता आफैंले आˆनो संविधान जारी नगरेको भए, महिला सशक्तीकरणको क्षेत्रमा अभुतपुर्व लहर सृष्टि नभएको भए हामी यतिबेला समाजवादको कुरा गर्ने ठाउँमा नै हुने थिएनौं । त्यसैले दुवै दलले गरेका यी साझा प्रयासहरुमाथि गर्व गर्दै अघि वढौं । एकअर्कालाई होच्याउने हैन, सम्मान गर्ने संस्कार विकास गरौं । प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अघि बढौं । परनिर्भर र दलाल पुंजिवादलाई ध्वस्त पार्दै आत्मनिर्भर, स्वाधीन र राष्ट्रिय पुँजीवादको निर्माण गरेर समाजवादको साझा मार्गमा दृढतापूर्वक अघि लागौं ।

(बस्नेत अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment