
१० पुस, काठमाडौं । काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट पि्रमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
सोमबारको पहिलो खेलमा खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्यो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो ।
तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेटछ लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आश दिलाए ।
तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।
बिराटनगरका अंशुमान रथले ३ विकेट लिँदा बसन्त रेग्मी र रामनरेश गिरीले २-२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसको पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर आसिफ शेख शुन्यमा आउट भए, जतिबेला टिमको स्कोर ११ रन मात्र थियो ।
तर, अंशुमान रथ र बाबर हायातले पारी सम्हाले । दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । अंशुमान ३२ रनमा आउट भए । पारस खड्कासँग २९ रनको साझेदारी गरेका बाबर व्यक्तिगत ६७ रनमा आउट भए ।
पारस २६ रनमा आउट भए, जतिबेला टिमको स्कोर १३३ रन थियो र ११ बल बाँकी थियो । तर, विराटनगरले १४ रन जोड्न थप ३ विकेट गुमायो ।
जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।
प्रतिक्रिया 4