Comments Add Comment

नेप्सेमा नयाँ नियमः बिक्री गरेको सेयर दिन नसके प्रत्यक्ष जरिवाना नहुने

११ पुस, काठमाडौं । बजारमा रकम वा सेयर अपुग भएका कारण लगानीकर्ताले प्रत्यक्ष जरिवानाको भागिदार हुनु नपर्ने भएको छ । मस्यौदाका रुपमा रहेको धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७४ ले यस्तो व्यवस्था गरेको हो ।

‘हामी १० दिनभित्रमा विनियमावलीको मस्यौदा धितोपत्र बोर्डमा पेश गर्नेछौं,’ नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदले भने । उक्त मस्यौदा नेप्सेको सञ्चालक समितिमा पेश गर्न बाँकी छ ।

कारोबार भइसकेको सेयर राफसाफमा समस्या आएमा लगानीकर्ताले अक्सन बजारबाट किनेर दिन सक्ने मस्यौदामा उल्लेख छ ।

यस्तै, रकम नपुग भएमा तत्काललाई कारोबार सुनिश्चितता कोषबाट कट्टा गरेर समयमै कारोबार राफसाफ गरिने व्यवस्था पनि विनियमावलीमा छ ।

सेयर खरिद-बिक्रीपछिका हरेक तीन दिनभित्रमा राफसाफ गर्नुपर्ने नियम छ । बिक्री गर्नेले समयमै सेयर दिन वा खरिदकर्ताले रकम बुझाउन नसक्दा राफसाफ हुन सक्दैन । यसैको समाधान खोज्ने नयाँ विकल्पका रुपमा अक्सन बजार र कारोबार सुनिश्चितता कोषको प्रावधान राखिएको हो ।

यस्तो छ अक्सन बजारको व्यवस्था

हाल अक्सन बजार सञ्चालन नहुँदा लगानीकर्ताले बिक्री गर्न आदेश दिएको बराबर सेयर नपुगेमा जरिवाना तिर्नुपर्छ ।

कारोबार रकमको २० प्रतिशत जरिवानास्वरुप खरिदकर्तालाई दिनुपर्ने व्यवस्था छ । यस्तो जरिवाना राफसाफ सदस्यसमेत रहने ब्रोकरहरुले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)मा बुझाउनुपर्ने व्यवस्था धितोपत्र कारोबार तथा राफसाफ विनियमावली, २०६९ मा छ ।

‘सेयर बिक्री गर्नेले तिर्नुपर्ने यस्तो जरिवाना अहिले आपसी मेलमिलापमा टुंग्याउने गरिएको छ,’ एक ब्रोकरले भने । खरिदकर्तालाई नपुग भएको सेयर अन्य दिनमा बजारबाट किनेर दिइन्छ भने कारोबारको लागत मात्रै जरिवानाका रुपमा दिने गरिएको छ ।

यस्तो विवाद सहमतिमा नटुंगिँदा भने समस्या आउने गरेको छ । ‘कहिलेकाहीं तीन दिनमै सेयरको मूल्य ३० प्रतिशतसम्म बढ्छ, यस्तोमा २० प्रतिशतको जरिवानाले मात्रै किन्नेको चित्त नबुझ्न सक्छ, अनि समस्या देखिने हो,’ ती ब्रोकरले भने । यस्तो अवस्थामा भने जरिवाना नै तिर्नुपर्ने हुन्छ ।

हुन त, जरिवाना ब्रोकरले या लगानीकर्ताले तिर्ने भन्ने विवाद पनि शुरु-शुरुमा देखिएको थियो ।

राफसाफ विनियमावलीले जरिवाना ब्रोकरहरुले सीडीएससीमा बुझाउनुपर्ने भने पनि ग्राहकबाट उठाउने वा ब्रोकरले नै तिर्ने स्पष्ट गरेको छैन । यद्यपि, ग्राहकका कारण राफसाफ हुन नसकेमा ब्रोकरले यसको जानकारी सीडीएससीमा गराउनुपर्ने र सबै खर्च ब्रोकरको खाताबाट कट्टा गर्ने सोही विनियमावलीमा उल्लेख छ ।

नयाँ विनियमावली आएसँगै सेयर नभएर पनि बिक्री आदेश दिएको ग्राहकको हकमा ब्रोकरले बजारबाट साँझ नै खरिद गरेर राफसाफमा पठाउन सक्नेछन् ।

‘यस्तो अपुग हुने सेयर किनबेच गर्न दिउँसो तीन बजेपछि अक्सन बजार सञ्चालन हुनेछ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने । यसले बजारको तीव्र उतारचढावबाट लगानीकर्तालाई हुने जोखिम धेरै हदसम्म कम गर्छ ।

नेप्सेले नै सञ्चालन गर्ने अक्सन बजारमा अन्य लगानीकर्ताले पनि सेयर बिक्री गर्न पाउनेछन् । खरिदकर्ता भने राफसाफमा समस्या परेकाहरु नै हुनुपर्नेछ ।

अक्सन बजारमा भएको कारोबारको राफसाफ भने भोलिपल्ट मात्र हुनेछ ।

विनियमावलीको सकस

हाल धितोपत्र सदस्य तथा कारोबार विनियमावली, २०५५ कार्यान्वयनमा छ । उक्त विनियमावलीका कतिपय व्यवस्था पुरानै कारोबार प्रणालीमा आधारित छन्, जतिखेर कागजी प्रमाणपत्रका रुपमा सेयर किनबेच हुन्थ्यो ।

हाल विद्युतीय अभिलेख (डिम्याट)मा मात्रै कारोबार हुन्छ । नेप्सेले अर्धस्वचालित कारोबार प्रणाली अवलम्बन गरेसँगै ०६५ सालमै नयाँ विनियमावली निर्माणको गृहकार्य थालेको थियो । ०७१ सालमा यसको पहिलो मस्यौदा आएको भए पनि धितोपत्र बोर्डसँग नेप्सेको विवादले प्रक्रिया लम्बिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment