+
+

८० हजारमा बेचियो लाइसेन्स, सुकेधारा कार्यालयका प्रमुख विभागमा तानिए

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ पुष १३ गते ४:५०


१२ पुस, काठमाडौं । यातायात व्यवस्था विभागको सुकेधारास्थित लाइसेन्स कार्यालयका प्रमुखसहित ३ कर्मचारीलाई विभागमा तानिएका छन् । कार्यालय प्रमुख सुन्दरप्रसाद भट्टराई र शाखा अधिकृत यमलाल ढकाल विभागमा तानिएका हुन् । विभागमा तान्ने निर्णय भएका नायब सुब्बा यादव पौडेल केही दिन अघि घुस लिँदा-लिँदै कार्यालयबाटै पक्राउ परेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरीय निर्णयबाट विभागमा तानेर उनीहरुमाथि थप अनुसनधन गर्न अख्तियार दुरुपोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णय भएको छ ।

 

विदेशी लाइसेन्स नेपालीकरणका नाममा चरम लापरवाही गर्दै आर्थिक अनियमिताता गरेको ठहर भएपछि उनीहरुलाई विभागमा तानेर अख्तियारमा अनुसन्धानका लागि सिफारिस गरिएको विभागले जनाएको छ ।

कार्यालय स्थापना भएको ९ महिना नबित्दै त्यहाँका कार्यालय प्रमुख भट्टराईको संलग्नतामा २६ सय विदेशी लाइसेन्सको नेपालीकरण गरिएको छ ।

अन्य कार्यालयले वर्षमा मुस्किलले २ सय लाइसेन्स नेपालीकरण गरिरहेको अवस्थामा सुकेधारामा ९ महिनामै २६ सय वटा लाइसेन्स नेपालीकरण गरेको छ ।

नेपालीकरण गरिएका ५ सय वटा लाइसेन्सको कागजात जाँच गर्दा प्रायः सबै फर्जी कागजात खडा गरिएको भेटिएको विभागले जनाएको छ । उनीहरुले वर्गअनुसार ३० देखि ८० हजार रुपैयाँसम्म लिएर नक्कली कागजात खडा गरी लाइसेन्स जारी गरेको गुनासाे अाएको विभाग स्रोतले बतायो ।

विभागले गरेको अनुसन्धानले विदेशी लाइसेन्सको जस्तै देखिने प्रतिलिपि काठमाडौंका विभिन्न प्रेशमा छाप्ने गरेको देखाएको छ । त्यसैका आधारमा विदेशी दूतावासको फर्जी सिफारिसहरु राख्ने गरेको भेटिएको छ ।

प्रायः दूतावासको सिफारिस स्क्यान गरेर ब्यहोरा मिलाएर कार्यालयले लाइसेन्स ‘बेच्ने’ गरिएको अनुसनधानबाट खुलेको छ । लाइसेन्स लिएकाहरु विदेश पनि गएको प्रमाण नभेटिएको विभागले जनाएको छ ।

लाइसेन्स लिनेको सही छाप, र परिचयपत्र समेत नभेटिएकाले विभागले थप अनुसन्धानका कारवाहीका लागि अख्तियार गुहारेको हो ।

‘लाइसेन्सको नेपालीकरण गर्दा पुरा गर्नुपर्ने गाइडलाइन कुनै पुरा गरिएको छैन, कमाउने नियतले फर्जी कागजात खडा गरेर लाइसेन्स बाँडिएको भेटिएपछि उनीहरुमाथि थप अनुसन्धान हुनुपर्ने देख्यौं,’ विभागका एक उच्च अधिकारीले भने ।

विदेशमै लाइसेन्स बनाएका तथा वर्ग थपेकाहरुले नेपालमा आएर सवारी चलाउनु गर्दा यहाँ नेपाली लाइसेन्स लिन सक्छन् । यसैलाई विदेशी लाइसेन्सको नेपालीकरण भनिन्छ ।

लाइसेन्स नेपालीकरण गर्दा लाइसेन्स जारी भएको देशको नेपालस्थित दूतावासबाट लाइसेन्स प्रमाणीकरण गर्नुपर्छ । सँगै सो देशमा भिसा लगेको पासपोर्ट र त्यहाँ लिएको लाइसेन्सको सक्कल, फोटोसहित लाइसेन्स कार्यालयमा बुझाउन पर्छ ।

सामान्य स्वस्थ्य परीक्षणपछि क्याटेगोरीअनुसार शुल्क बुझाएर लाइसेन्स लिन सकिन्छ । विदेशी लाइसेन्स भएकाले यहाँ ट्रायल दिनुपर्दैन ।

त्यसै कारण कर्मचरीकै मिलेमतोमा नेपालीकरणका नाममा नक्कली कागजात बनाएर लाइसेन्स बिक्री गरिएको विभाग उच्च स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?