+
+

दूध खरिदको नयाँ गन्तव्यः मध्यपहाडी र हुलाकी राजमार्ग क्षेत्र

मध्यपहाडी क्षेत्रमा दूध उत्पादनको सम्भावना बढ्ने

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७४ पुष १८ गते १५:०१


१८ पुस, काठमाडौं । सरकारले दूग्ध विकास संस्थान (डीडीसी)लाई मध्यपहाडी र हुलाकी राजमार्गतिर पनि केन्द्रित गराउने योजना बनाएको छ ।

विभिन्न क्षेत्रका किसानको गोठमा उत्पादित दूध संकलनमा केन्दि्रत संस्थानलाई पशुपन्छी विकास मन्त्रालयले दायरा फराकिलो बनाउन निर्देशन दिएको थियो । सोहीअनुसार मध्यपहाड र तराईमा निर्माणाधीन दुवै राजमार्गमा सेवा विस्तार गर्ने योजना डीडीसीले अगाडि सारेको छ ।

दुवै क्षेत्रमा संयन्त्र विकास, पूर्वाधार निर्माण तथा यन्त्र र उपकरण खरिदका लागि करिब २३ करोड रुपैयाँको कार्यक्रम मन्त्रालयमा पेश गरेको छ । दुवै राजमार्ग नजिकका बस्तीमा उत्पादित दूध खरिद गरी प्रशोधन र बिक्री वितरण गर्ने संस्थानको योजना छ ।

यी दुवैलाई सरकारले रणनीतिक राजमार्गको रुपमा महत्व दिएको छ । डीडीसीले हालसम्म पूर्व-पश्चिम राजमार्ग र तराईका केही महत्वपूर्ण शहर आसपासको क्षेत्रबाट मात्र दूध खरिद गरिरहेको थियो ।

यस क्षेत्रमा दूध संकलन थाल्न सकिए डीडीसीले अहिले दैनिक संकलन गरिरहेको परिमाण दोब्बर हुने महाप्रबन्धक गंगा तिमल्सिनाले अनलाइनखबरलाई जानकारी दिए । अहिले डीडीसीले दैनिक दुई लाख लिटरसम्म दूध संकलन गरिरहेको छ ।

तिमिल्सिनाका अनुसार डीडीसीले आफ्नो उत्पादन बढाउन दूधको उत्पादन र संकलन पनि बढाउनुपर्ने अवस्था छ । आर्थिक विकासका हिसाबबाट पनि महत्वपूर्ण मानिएका दुवै राजमार्गमा पहुँच स्थापित गर्न कार्यक्रमहरु प्रस्ताव भएको उनले बताए ।

दुवै राजमार्गमा सातै प्रदेश समट्ने गरी संकलन केन्द्रहरु स्थापना गर्न सरकारसँग डीडीसीले बजेट मागेको छ ।

स्थानीयवासीको जीविका सुध्रने आशा

मन्त्रालयका प्रवक्ता श्याम पौडेलको भनाइमा दुवै क्षेत्रमा व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना छ ।  र, ती राजमार्ग आसपासका बस्तीका बासिन्दाको जीवनस्तर उकास्न पनि त्यसबाट टेवा पुग्ने विश्वास छ ।

‘नयाँ राजमार्ग विकास हुँदै गरेका क्षेत्रहरुमा दूध संकलनको नयाँ आधार बनाउन सक्छ, डीडीसीले,’ पौडेलले भने, ‘अहिले दूध संकलन भइरहेका क्षेत्रमा निजी डेरीहरु पनि प्रतिस्पर्धामा छन् । त्यसैले नयाँ क्षेत्रमा जान डीडीसीका लागि अति जरुरी छ ।’

यसको शुरुवात तेह्रथुमको वसन्तपुरबाट भइसकेको उनले जानकारी दिए ।

डीडीसीले हालसम्म पूर्वाञ्चल, मध्यमाञ्चल र आंशिक रुपमा पश्चिमाञ्चलका केही क्षेत्रमा मात्रै दूध संकलन गरिरहेको छ । दुवै राजमार्ग आसपासमा डीडीसी केन्दि्रत हुन थाल्दा पशुपालनको नयाँ सम्भावना पनि शुरु हुने मन्त्रालयको विश्वास छ ।


ती क्षेत्रमा दूध संकलन केन्द्र स्थापना गर्न, ट्यांकर किन्न, तथा चिलिङ भ्याटलागायत पूर्वाधार राख्न सरकारी सहयोगको अपेक्षा डीडीसीको छ ।

‘मध्यपहाडी लोकमार्ग आसपासमा उत्पादन भएका लोकल गाई र भैंसीका दूध बजारमा आएका छैनन्,’ प्रवक्ता पौडेलले भने, ‘तराईको हुलाकी राजमार्गमा ठूलो परिमाणको भैंसीको दूध घरायसी प्रयोजनमा मात्रै खपत भइरहेको छ । अब हामी त्यता केन्दि्रत हुन सक्यौं भने किसान र सरकार दुवैलाई फाइदा हुन्छ ।’

निजीलाई पनि प्रोत्साहन मिल्ने

अहिले दूध संकलन भइरहेको क्षेत्रमा निजी डेरी उद्येागहरुले डीडीसीले भन्दा १/२ रुपैयाँ बढी मूल्य दिएर किसानबाट खरिद गरिरहेका छन् । सोही कारण सुख्खायाममा पर्याप्त दूध संकलन गर्न नसकेर डीडीसीलाई समस्या पर्ने गरेको छ ।

डीडीसीसँगै निजी उद्योगहरुले पनि दुवै राजमार्ग आसपासमा व्यवसाय विस्तार गरे भने किसानले पर्याप्त फाइदा उठाउन सक्ने छन् ।

सुदूर र मध्यपश्चिमका पहाडी क्षेत्रमा पनि अझै पनि ठूलो परिमाणमा दूध घरायसी प्रयोजनमै सीमित छ । बजार अभावका कारण त्यसले व्यावसायिक स्वरुप पाउन सकेको छैन ।

अर्थ मन्त्रालयको सहमति प्राप्त भए उक्त योजना छिट्टै लागू हुने सम्भावना देखिएको छ ।

‘डीडीसीसँग पर्याप्त बजेट छैन । ऋण लिएर काम गर्न भनेका छौं,’ मन्त्रालयका प्रवक्ता पौडेल भन्छन्, ‘केही अनुदान सरकारले पनि दिनुपर्छ ।’

पाउडर उत्पादनका लागि वरदान

यसअघि दैनिक तीन मेटि्रक टन पाउडर उत्पादन गर्ने क्षमताको विराटनगर प्लान्टलाई अहिले बढाएर ६ मेटि्रक टनको बनाइएको छ । अब यो प्लान्ट दैनिक एक लाख लिटर दूध प्रशोधन गर्न सक्ने बनाइएको छ ।

पाउडर प्लान्टको क्षमता तेब्बर बनाएपछि बढी दूध उत्पादन हुने समयमा ‘मिल्क होलिडे’को जोखिम कम भएको छ । मंसिर मध्यदेखि माघसम्मको समयलाई बढी दूध संकलन हुने सिजन मानिन्छ । यो समयमा डेरीहरुको क्षमताभन्दा दूध बढी भएर समस्या आउने गरेको छ ।


फागुनदेखि जेठसम्म भने दूधका लागि ‘सुख्खायाम’ हुन्छ । यो समयमा दूधको उत्पादन ह्वात्तै घट्छ । त्यस समयमा विदेशबाट आएको पाउडरमा निर्भर भएर दूध प्लान्टहरु चल्छन् ।

त्यसैले आफूलाई सुख्खायाममा चाहिने पाउडर दूध डीडीसी आफैंले उत्पादन गर्ने लक्ष्य राखेको छ । पाउडर दूधलाई लामो समय भण्डारण गर्न सकिने भएकाले पनि डीडीसीले विराटनगर प्लान्टको क्षमता विस्तार गरेको हो ।

त्यसैले पनि अहिलभन्दा बढी दूध संकलन गर्नुपर्ने अवस्था डीडीसीलाई छ । माग पनि बढ्दै गएकाले दूधको संकलन नबढाई सुखै छैन ।

नेपालमा पर्याप्त पाउडर उत्पादन नहुँदा विदेशबाट नेपालमा आठ हजारदेखि १० हजार मेटि्रकटन पाउडर भित्रिन्छ । यसको करिब ६० प्रतिशत पाउडर डेरी उद्योगले नै खर्चिन्छन् । डीडीसीले पनि पाउडर आयातित दूध प्रयोग गरिरहेकै छ ।

नेपालमा वाषिर्क १९ लाख ११ हजार मेटि्रक टन दूध उत्पादन हुन्छ । करिब एक लाख मेट्रिक टन दूध आयातित पाउडरबाट तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?