Comments Add Comment

बालुवाटार बैठकः प्रदेश प्रमुख नियुक्तिमा एमालेले ‘राजनीतिक सहमति’ दिएन

पाँच दल बैठकमा के भयो ?

२० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका छन् । तर, वाम गठबन्धनका नेताहरुले भने राजनीतिक सहमति दिन अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री देउवाले बिहीबार विहान बालुवाटारमा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको बैठक बोलाएका थिए । बैठकमा उनले राजनीतिक सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशहरुको अस्थायी मुकाम तोक्न प्रस्ताव गरेका थिए ।

दलहरुबीच सहमति भए आजै मन्त्रिपरिषद् बैठक राखेर प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थायी मुकाम तोक्ने तयारी थियो । तर, एमाले नेताहरुले राजनीतिक सहमति खोज्ने प्रस्तावमा छलफल नै गर्न चाहेनन् ।

केही दिनदेखि आराम गरिरहेका एमाले अध्यक्ष केपी ओली बैठकमा गएका थिएनन् । एमालेबाट सुवास नेम्वाङ, विष्णु पौडेल, अग्नि खरेलसहितका नेताहरु बालुवाटार पुगेका थिए ।

उनीहरु प्रदेश प्रमुख तथा अस्थायी मुकाम तोक्ने काम सरकारको भएको भन्दै पन्छिएका छन् ।

बैठकपछि एमाले नेता अग्नि खरेलले अनलाइनखबरलाई भने, ‘प्रधानमन्त्रीले प्रदेश केन्द्र र प्रदेश प्रमुख नियुक्तिमा सहमति गरौं भन्नुभयो । हामीले प्रदेश केन्द्र कहाँ बनाउने भन्ने रिपोर्ट हामीलाई दिइएको छैन, यो काम सरकारको हो सरकारले गरोस् भन्यौं ।’

लगत्तै कांग्रेस नेता कृष्ण सिटौलाले ‘एमाले आफैंले सरकारले नियुक्त गर्ने प्रदेश प्रमुखबाट सपथ नलिने भनेकाले राजनीतिक सहमति गर्नु परेको हो,’ भनेका थिए । केही दिनअघि आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले देउवा सरकारले प्रदेश प्रमुख नियुक्त गरे सपथ नै नलिने बताएका थिए ।

तर, एमाले नेताहरुले यो काम सरकारको हो मात्र भनेका छन् । केही दिनअघि मात्र देउवालाई भेटेर राजनीतिक सहमतिका आधारमा मात्र प्रदेश प्रमुख नियुक्त गर्न दबाव दिएका माओवादी अध्यक्ष प्रचण्डले सहमति खोज्ने प्रस्तावमा जोड दिएनन् ।

बैठकमा प्रधानमन्त्री देउवाले भोलि राजधानी बनाउने सक्ने ठाउँलाई अस्थायी मुकाम तोक्ने प्रस्ताव राखे । त्यसका लागि राजनीतिक सहमति गरौं भनेका थिए ।

र, वाम गठबन्धनले यसमा पनि सहमति दिन अस्वीकार गरे । उनीहरुले अहिले प्रदेशको अस्थायी मुकाम भन्दै आएका रिपोर्ट आफूहरुले अझैसम्म नहेरेको र यो काम पनि सरकारको भन्दै पन्छिएको बैठकमा सहभागी एक नेताले भने ।

यो पनि पढ्नुहोस्

राष्ट्रियसभा निर्वाचनको मिति नतोकिएकोमा प्रधानमन्त्रीसँग एमालेको आपत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment