Comments Add Comment

राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोलिदेखि पोखरामा

२५ पुस, पोखरा । २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भोलि (बुधबार)देखि पोखरामा हुने भएको छ ।

कास्की जिल्ला भारोत्तोलन संघको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा पुस २६ गतेदेखि २८ गतेसम्म तीन दिन प्रतियोगिता हुने मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ५२ केजी, ५६ केजी, ६२ केजी, ६९ केजी, ७७ केजी, ८५ केजी, ९४ केजी, १०५ केजी र १०५ केजी भन्दा माथि तौल समूहमा प्रतिष्पर्धा हुने संघका अध्यक्ष राजनकुमार बड्गामीले जानकारी दिए ।

त्यस्तै सिनियर महिलातर्फ ४४ केजी, ४८ केजी, ५३ केजी, ५८ केजी, ६३ केजी, ६९ केजी, ७५ केजी, ९० केजी र ९० केजी भन्दा माथिको तौल समूहले प्रतिष्पर्धा गर्ने उनले बताए ।

प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीबाट ८/८ पुरुष तथा ८/८ महिला, सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट ७ पुरुष र एक महिलासहित देशभरीबाट २२ जिल्लाका ७५ पुरुष तथा ४१ महिला गरी कुल १८२ महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने आयोजक कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ ।

प्रतियोगितामा क्वालिफाइङ खेलाडीले मात्र प्रतिष्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका महासचिव पार्थ सारती सेन गुप्ताले जानकारी दिए ।

उनका अनुसार ओलम्पियन खेलाडी कमल अधिकारीसहित राष्ट्रिय च्याम्पियन बनिसकेका खेलाडीहरुले पनि प्रतिष्पर्धामा भाग लिनेछन् ।

प्रतियोगिताबाट १३ औं दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनौट गरिने महासचिव गुप्ताले बताए । उनका अनुसार यस प्रतियोगिताबाट प्रारम्भिक चरणमा खेलाडी छनौट गरिने र माघ अन्तिबाट क्लोज क्याम्पमा राखी राष्ट्रिय खेलाडी छनौट गरिने उनले जानकारी दिए ।

स्वस्थता र भाइचाराका लागि भारोत्तोलन जरुरी रहेको बताउँदै संघका केन्द्रीय महासचिव सेनले सबै प्रदेशमा फिटनेस सेन्टर आवश्यक रहेको बताए । जुनसुकै खेलाडीका लागि पनि भारोत्तोलन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न १८ लाख १९ हजार लागत अनुमान गरिएको आयोजकले जनाएको छ ।

संघका कास्की अध्यक्ष बड्गामीका अनुसार प्रतियोगिता संचालन गर्न १० लाख रुपैयाँ राखेपले प्रदान गरेको छ भने बाँकी ८ लाख १९ हजार रुपैयाँ आयोजक आफैले बेहोर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment