Comments Add Comment

लालबाबुलाई सडकमा उतार्ने यी हुन् १८ वर्षे केपी

२७ पुस, काठमाडौं । पूर्वमन्त्री एवं एमाले सांसद लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी लगायतको एक समूह बिहीबार बिहानै तीनकुने चोकमा झाडूसहित देखियो ।

सामान्य प्रशासन मन्त्रालयमा हुँदा प्रशासन क्षेत्रको विकृति हटाएर चर्चामा आएका पण्डितसहितको जमात हातमा झाडू बोकेर काठमाडौंको सफाइमा जुटेको थियो । उनलाई साथ दिन काठमाडौंकी उपमेयर खड्गीसहित दर्जनौं विद्यार्थी र सुरक्षाकर्मीहरु सडकमा जम्मा भएका थिए ।

धुलोले आक्रान्त भएको काठमाडौंको सरसफाईमा लालबाबुुसहित सयौंको सहभागिता आखिर कसरी जुट्यो ? सरसफाइमा स्वतस्फूर्त रुपमा संलग्न भएका अधिकांश व्यक्तिहरुलाई समेत यो कार्यक्रमबारे जानकारी थिएन । धेरैलाई लाग्यो, यो कुनै एनजीओको कार्यक्रम होला ।

हामीले कार्यक्रमका आयोजकबारे खोजी गर्‍यौं । वास्तवमा लालबाबुलाई सडकमा उतार्ने काम गरेका रहेछन्- सदुरपश्चिमका १८ वर्षे युवक केपी खनालले ।

कार्यक्रम आयोजकका बारेमा अनलाइनखबरसँग कुरा गर्दै एमाले सांसद पण्डिलले भने,- ‘एक जना १७/१८ वर्षका युवा रहेछन् । उनको नेतृत्वमा रहेको क्लिन काष्ठमान्डप भन्ने संस्थाले सरसफाई कार्यक्रममा मलाई आमन्त्रण गरेको थियो । त्यसैले सरसफाई कार्यक्रममा पुगेको हुँ ।’

‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित युवाले सुरु गरेको अभियानलाई आफूले साथ दिएको पण्डिले बताए ।

को हुन् केपी खनाल ?

सुदुपश्चिमको अछाम जिल्लास्थित रामारोशन गाउँपालिका घर भएका खनालले कक्षा १२ सम्मको अध्ययन कैलालीबाटै पूरा गरे । उनी अहिले नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बीबीएस तहमा अध्ययरत छन् । उनी क्लीन काष्ठमान्डप नामक संस्थाका अध्यक्ष हुन् ।

यिनै खनालकै अगुवाइमा बिहीबार कोटेश्वरदेखि माइतीघर मण्डलासम्म सडक सरसफाइ गरिएको हो । अयिभानमा साथ दिन बागमती, चक्रपथ र मनहरा सरसफाई अभियानका अभियान्ताहरु समेत सडकमा निस्किएका थिए ।

सदुरपश्चिमको गरिब परिवारमा हुर्किएका केपी ०६८ सालमा १२ वर्षको हुँदा ‘गरिब विद्यार्थी बाल क्लब’ मा आवद्ध थिए । बाल क्लबबाट सुरु भएको उनको सामाजिक कार्यको अभियान क्रमशः झांगिँदै गयो ।

उनले बाल क्बलमा आवद्ध भएकै वेला कैलालीको एक स्थानीय एफएममा बाल कार्यक्रमसमेत चलाए ।

एसईई परीक्षापछि बचेको ३ महिने छुट्टीमा उनले केही समय भारतमा गएर श्रमसमेत गरे । पछि उनी विभिन्न सामाजिक संघसंस्था एवं एनजीओहरुमा समेत आवद्ध भए ।

यसअघि उनले नेपालगञ्जको बागेश्वरी मन्दिरमा समेत सरसफाइ कार्यक्रम गरिसकेका छन्, जहाँ उनलाई नेपालगञ्जका मेयर र उपमेयरले समेत साथ दिएका थिए ।

खनालले टीकापुरको लप्कीचुवा नगरपालिका र धनगढी उपमहानगरपालिकामा समेत सरसफाई अभियान सञ्चालन गरिसकेका छन् ।

यस वर्षको दशैंमा उनले गरिब परिवारका लागि सहयोगस्वरुप सामाजिक सञ्जालबाट ‘दशा लागेकालाई यो दशैं’ शीर्षकमा अभियान चलाएर ४ दिनको अवधिमा २ लाख रुपैयाँ सङ्कलन गरी गरिब परिवारलाई खाद्यान्न तथा अन्य विभिन्न आवश्यक सामाग्री वितरण गरे ।

तिहारको समयमा ‘भोकै छ जुम्ला’ भन्ने अभियान सुरु गरेका खनालले १ लाख ५० हजार रुपैयाँ सङ्कलन गरी त्यहाँका स्थानीयलाई सहयोग गरे । विद्यालय विदा भएको मौका पारेर उनी कैलालीबाट हुम्लातर्फ हिँडे ।

हुम्लाको आदानचुली गाउँपालिकामा ९ दिनको यात्रापछि पुगेर उनले २५ गरिब घरपरिवारलाई राहत सामग्री वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment