Comments Add Comment

धुर्मुसको सरप्राइजः माघ २१ मा पक्की घर !

गएको साउनमा भेल-बाढीले थुप्रैलाई घरबार डुबायो । कतिले अन्नबाली गुमाए, कतिले सग्लो घर । बुढाबुढी, रोगी, बालबच्चाहरुले न्यानो ओत पाएनन् । चिसो चुल्हो बलेन । ठीक त्यही बखत प्रकट भए, धुर्मुस-सुन्तली । बाढीपीडितका लागि न्यानो ओड्ने र खानेकुरा लगेर तराई पुगेका धुर्मुस-सुन्तलीलाई उनीहरुले अनुनय गरे, ‘अरुलाई जस्तै हामीलाई पनि घर बनाइदेउ ।’

धुर्मुस-सुन्तली तीन वटा एकीकृत वस्ती निर्माण सम्पन्न गरेर अर्को महत्वकांक्षी योजनामा लागिरहेका थिए । त्यही बेला उनीहरुमाथि अर्को अभिभारा आइलाग्यो । अन्ततः धुर्मुस-सुन्तली कस्सिए, घरबार गुमाएका तराईवासीका लागि घर ठड्याउन । जबकी यतिबेला उनीहरुसँग अतिरिक्त संचित रकम थिएन ।

रौतहटका सन्तपुरमा एकीकृत वस्ती बनाउन धुर्मुस-सुन्तली अहोरात्र खटिए । वर्षे झरी र कठाङग्रिने शीतलहर छिचोल्दै उनीहरु वस्ती निर्माणमा जुटिरहे । यसबीचमा उनीहरुलाई पैसाको अभाव भयो । आवश्यक खर्च संकलनका लागि देश-विदेश दौडिए पनि । आखिर निर्धारित बजेट अपुग भएकै अवस्थामा धुर्मुस-सुन्तलीले वस्ती निर्माण गरे । अहिले उनीहरु अन्तिम चरणमा पुगेका छन् ।

वस्ती निर्माण थालेको ९० दिनपछि धुर्मुसले आफ्नो फेसबुक वालबाट सरप्राइज दिए, ‘तोकिएको मितिभन्दा अगाडि नै वस्ती हस्तान्तरण गरिनेछ ।’

अर्थात माघ २१ गते नै उनले बाढीपीडितलाई सग्लो घरमा बसाउँदैछन् । ‘१ करोड ५० लाख रुपैयाँ यो परियोजनालाई अपुग छ’ धुर्मुस अर्थात सीताराम कट्टेल भन्छन्, ‘तैपनि हामी वस्ती हस्तान्तरण गर्दैछौं ।’ परियोजनाको अनुमानित लागत ५ करोड ९५ लाख थियो । ९० दिनअघि वस्ती निर्माण सुरु गर्दा माघ २४ गते वस्ती हस्तान्तरण गर्ने बताएका थिए ।

वस्ती निर्माणमा जुटेका सबैप्रति कृतज्ञ व्यक्त गर्दै उनले खुसी र भावुक भएको बताएका छन् ।

वस्तीमा ४७ घर, एक सामुदायिक भवन, मन्दिर, धारा, सार्बजनिक शौचालय, भ्यू टावर, प्राथमिक विद्यालय, बगैंचा निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment