शुक्रबार, ५ माघ, २०७४
OnlineKhabar.com

‘कवड्डी’का दर्शकलाई रामबाबुको बोनस ‘मिस्टर झोले’

फिल्म समीक्षा

अनलाइनखबर २०७४ पुष २८ गते १५:०१ मा प्रकाशित

फिल्म- मिस्टर झोले

कास्ट- दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविण खतिवडा, कमलमणि नेपाल, वर्षा राउत आदि ।

रामबाबु गुरुङको फिल्म ‘कवड्डी’का केही पात्र, थेगो, किस्सा र संवाद नेपाली समाजमा अहिले पनि ज्यूँको त्यूँ छ । दर्शकमा ‘कवड्डी’को धङ्धङ्ती अझै हटेको छैन । त्यही ह्याङ्ओभर हटाउने सितन बन्न सक्छ, मिस्टर झोले, जो आजदेखि हलमा चढेको छ ।

फिल्मले कथा भन्दैन । तर, पात्रहरु चलायमान छन् । एउटा राजनीतिक परिवर्तनपछि पनि पेन्डुलम बनिरहेको समाज र त्यही समाजले जन्माएका धुन्धुकारी पात्रहरुको प्रवृत्ति र व्यवहारले करिब दुई घण्टा मनोरञ्जन गराउँछ ।

केही समययता कमेडी जनराका फिल्म बने, जसले दर्शकलाई हँसाएन, बिच्काए । यसरी बिच्किएका दर्शकलाई ‘मिस्टर झोले’ले सेकताप गर्न सक्छ । फिल्म हेरिरहँदा बनावटी आँशु झानुपर्दैन । बलजफ्ती हाँस्नु पर्दैन । पात्रहरुको हर्कत र संवादले स्वतस्फूर्त हाँसो ल्याउँछ । अन्यत्र ध्यान भंग हुन दिदैन । पात्रकै टेकोमा उभिएको फिल्म हो, यो ।

केही घटना, दृष्य अनि संवादको आडमा फिल्म निश्चित समय र सन्दर्भभित्र बाँधिएको छ । यो सन्दर्भ राजनीतिक परिवर्तनपछि अन्यौलग्रस्त बनेको नपाली समाजको हो । राजनीतिक परिवर्तन भएपनि समाजको गति र दशा फेरिएको छैन । धुपौरे बनेर नेतालाई काँधमा बोकेका युवाहरु ‘झोले’ बनेका छन् । भित्ते घडीलाई प्रतिक बनाएर समय अर्थात कालले युवाहरुलाई झोले बनाएको देखाइएको छ ।

कस्तो छ कथा ?

हिमालको पृष्टभूमीमा उभिएको कुनै गुरुङ वस्तीमा केही युवा छन्, जो सानोतिनो रोजगारीका लागि शहरतिर बरालिएका छन् । जस्तो कि, पूर्णे, कर्णे । बैंकको लिलामीमा परिसकेको घर र विधवा आमालाई छाडेर पूर्णे (दयाहाङ राई) शहरमा सेक्युरिटी गार्डको काम गर्छ ।

गाउँमा सुबेदारकी छोरी मस्त हुर्किसकेकी छिन् । सुबेदारकी एक्ली सन्तान सानुमैयाँ (दिया पुन) औंसीमा जन्मिएकी हुन् । समाजमा व्यप्त अन्धविश्वास के छ भने, औंसीमा जन्मिएकी केटीले लोग्ने टोक्छ ।

तर, औंसीमा जन्मिएकी नानीमैयाँ पूणिर्मा जस्तै उज्यालो छिन् । उनलाई देखेर स्थानिय दर्जीका सुकुलगुण्डो छोरो कर्णेले (प्रवीण खतिवडा) र्‍याल काढेका छन् । हिन्दी फिल्म देखाएर हुन्छ वा फिल्मी स्टाइलमा घुर्काएर, कर्णे नानीमैयाँलाई पट्याउने कसरतमा छन्  ।

यता पूर्णेकी आमाले भने ऋणबाट उन्मुक्ति पाउने र घरमा बुहारी भित्र्याउने एउटै हतियार पाएकी छिन्, नानुमैयाँ । नानुमैयाँलाई बुहारी बनाएपछि ऋणको बोझ पनि बिसाउने भित्री चेष्टासँगै उनले छोरोलाई गाउँमा डाक्छिन् । पूर्णे गाउँ र्फकन्छ ।

पूर्णे र कर्णेको कथालाई एकछिन थाती राखौं । किनभने फिल्ममा अर्का दुई पात्रबीच पनि समानन्तर द्वन्द्व छ । बुढोकन्या मास्टर गुणप्रसाद -बुद्धि तामाङ) र प्रहरीकी पत्नीसँग लसपस गरेर गाउँतिर लुक्न आएका ‘झोले टुरिष्ट’ (बिजय बराल) । दुबै लोभिएका छन्, दर्जीकी एक्ली छोरीमाथि (बर्षा राउत) ।

पूर्णे, कर्णे र मास्टर गुणप्रसाद एकै छिमलका, एकै गाउँका दौतरी हुन् । तर, उनीहरुको मित्रतामा केटीकै कारण उतारचढाव आउँछ । पूर्णे र कर्णेको नोकझोंक, सुबेदारको ‘घरज्वाँइ राख्ने’ चेष्टा, झोले टुरिष्टको ‘हिरोइज्म’लाई लत्याएर दर्जीकी छोरीलाई दुलही बनाउने मास्टरको तृष्णासँगै फिल्ममा आउने उथलपुथलले दर्शकलाई चासो जगाउँछ, मनोरञ्जन दिलाउँछ ।

के राम्रो ? 

फिल्मका पात्र घतलाग्दा छन् । उनीहरुले आफ्नो चरित्रलाई यति रसिलो ढंगले पेश गरेका छन् कि, दर्शक स्वतः ति पात्रसँग एकाकार हुन पुग्छन् ।

निर्देशक रामबाबु गुरुङले पात्र अनुरुप संवाद पस्किएका छन्, जसले बेलाबेला दर्शकको हाँसो र ताली पाउँछ । फिल्ममा द्विअर्थी तर खँदिलो, हास्यरसयुक्त संवादको डोज छ । दयाहाङ राई, बुद्धि तामाङ,  बिजय बराले आफ्नो लय गुमाएका छैनन् । दिया पुन र प्रविन खतिवडा भने दर्शकका लागि ‘सरप्राइज गिफ्ट’ हुन् । ज्ञानमणी नेपालको अभिनय तारिफयोग्य छ ।

के नराम्रो ?

कवड्डी टिमकै फिल्म भनेर जुन अपेक्षा गरिन्छ, त्यो भने मिस्टर झोलेले पुरा गर्दैन । मिस्टर झोलेलाई कवड्डीको बोनस मात्रै मान्नुपर्ने हुन्छ । फिल्म नरमाइलो छैन, तर कवड्डीको स्तरको पनि छैन ।

फिल्म झोले समयको हो, कथा पनि झोले नै छ । न यस्तो, न उस्तो । कस्तो-कस्तो ।

खासमा प्रेम र सम्बन्धको कथा हो । तर त्यसलाई एकदमै हल्काफुल्का पेश गरिएको छ । कवड्डीको ‘गुडविल’ बचाउने चक्करमा वा ‘पुरानो ढुंगा’ले डुबाएको साख फर्काउने ध्याउन्नमा रामबाबु गुरुङ हतारिएको जस्तो लाग्छ ।

फिल्मको लोकेसन राम्रो छ । तर, दृष्यलाई आकर्षक ढंगले फ्रेमिङ गर्न सकिएको छैन । चरित्रमा बढी फोकस हुँदा पृष्टभूमीका दृश्य ओझेल परेको छ ।

कतिपय दृश्य बेकार छ । अघिल्लो दुई गीतले न कथालाई जोड्छ, न गति दिन्छ, न दर्शकलाई रमाइलो । गुरुङ वेशभूषा र संस्कृतिलाई देखाउनकै लागि गीतलाई एडजस्ट गरिएको हो कि भन्ने लाग्छ ।

यो सितन चपाइरहँदा स्वादिलो लाग्छ । नुन, भुटुनको तिख्खर स्वाद छ । तर, प्लेट रित्तिएपछि भेउ पाउन गाह्रो हुन्छ, ‘मैले के चपाए ?’

अर्थात फिल्मको नाटकिय क्लाइमेक्ससँगै ‘ह्याप्पी इन्डिङ’ भइसकेपछि पनि दर्शकको धित् मर्दैन ।

(२०७४ पुष २९ गते १५:०८मा अद्यावधिक गरिएको)
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

१ प्रतिकृया प्राप्त
  • tr लेख्नुहुन्छ    |   २०७४ पुष २८ गते १८:३०

    nice to see all activity but danced by Daya hang is just ok

    1
    0
    Share

यसमा तपाइको मत




सम्बन्धित शीर्षकहरु

Also you may like this