Comments Add Comment

हिल स्टेसनमा बदलिँदै पोखरा आसपासका पाखा

होटेलका ठूला लगानीकर्ताको ध्यान डाँडाकाँडातिर

३० पुस, पोखरा । फेवाताल किनारको क्षेत्र साँघुरो बन्दै गएपछि ठूला लगानीकर्ताहरु आसपासका डाँडामा होटेल खोल्न तल्लीन देखिन थालेका छन् ।

वरिपरिका डाँडामा केही होटेल खुलिसकेका छन् भने केही निर्माणाधीन छन् । लगानीकर्ताहरुले सराङकोट, कास्कीकोट, नौडाँडा, चापाकोट, पुम्दीभुम्दी, रुपाकोट, बेगनास, काँहु, धम्पुसलगायत डाँडाकाँडालाई व्यवसाय विस्तारको थलो बनाएका छन् ।

पोखरा आफैंमा प्रकृतिको सुन्दर रचना मान्छन्, पर्यटकले । त्यसमाथि आसपासका डाँडा पनि ‘हिल स्टेसन’का रुपमा विकास हुँदै गएका छन् । विदेशी पर्यटककको रोजाइ पनि त्यस्तै हिल स्टेसनतिर मोडिन थालेको छ ।

पोखरा शहरको कुरा बेग्लै छ । पहिले जुनसुकै कुनाबाट हिमालको मनमोहक दृष्य देखिन्थ्यो । अब त्यो अग्ला घर र होर्डिङ बोर्डले छेकिन थालेको छ । त्यसैले, हिमाल हेर्न पनि डाँडामै चढ्नुपर्ने अवस्था छ । र, त्यस्ता हिल स्टेसनबाट कंक्रिटको जंगलमा रुपान्तरित पोखराको मनमोहक दृष्यावलोकन गर्न पाउँछन्, पर्यटकले ।

र, आँखैमा ठोक्किन आइपुग्ने अन्नपूर्णलगायत हिमशृंखला, तरेली परेका डाँडा र स्वच्छ हावापानीले आन्तरिक/बाह्य पर्यटकको मन जित्न थालेका छन्, त्यस्ता हिल स्टेसनमा ।

‘नगर क्षेत्रमा होहल्ला, भीडभाड बढ्यो । ठूलो लगानीका लागि पोखरामा जमिन पाउन मुस्किल छ,’ क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘त्यसैले लगानीकर्ताको ध्यान आसपासका क्षेत्रतिर मोडिएको हो ।’

ठूलो लगानीका सुविधा सम्पन्न होटेल खुल्ने क्रम बढ्नु खुशीको कुरा भएको उनी बताउँछन् । उनको बुझाइमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि बढ्ने पर्यटक चाप थेग्न पनि आसपासको क्षेत्रको विकास र त्यतै व्यवसाय विस्तार गर्नुको विकल्प छैन ।

सराङकोट पोखरापछि धेरै होटल खुलेको क्षेत्र हो, जहाँ साना, मध्यमदेखि पाँचतारे होटेलसम्म निर्माणाधीन छन् । करिब अर्ब लगानीमा पाँचतारे होटेल माउन्टेन भ्यू निर्माणाधीन छ । जापानी मूलका नेपाली नागरिक ताकासी मियाहाराले लगानी गर्दैछन्, त्यसमा ।

पोखरा, चितवनलगायत ठाउँमा व्यवसाय सञ्चालन गर्दै आएको होटेल बाराहीले सराङकोटमै लगानी विस्तार गर्दैछ । माउन्टेन रिसोर्ट एन्ड स्पा नाम दिएर करिब ३५ करोड लागतमा तारे होटेल निर्माणाधीन छ, उक्त प्रालिको ।

उद्योगी विनोद चौधरीका कान्छा भाइ अरुणले पनि सराङकोटमा लक्जरी होटेल खोल्ने घोषणा गरेका छन् । करोड रुपैयाँभन्दा बढी लगानीका अन्य होटेल पनि निर्माणाधीन छन् । पर्यटन व्यवसायी कर्ण शाक्यले पनि सराङकोटमै हिमालय प|mन्ट होटल सञ्चालन गरिरहेका छन् ।

सराङकोटभन्दा अलि तल मेथलाङमा रुसी लगानीमा जुरासिन रिर्सोट निर्माणाधीन छ । मेथलाङमै मध्यम लगानीमा रक गार्डेन सञ्चालित छ । काँहु डाँडामा हिमालन गार्डेन निर्माण भइसकेको छ ।

यस्तै, पुम्दीभुम्दीमा बेलायती र नेपालीको लगानीमा दी पेभिलियन हिमालयाज, विश्व शान्ति स्तुपामाथि रानीवन रिटि्रट, नौडाँडामा हिमालय देउराली रिसोर्ट निर्माण भएका छन् । ती सबै सुविधा सम्पन्न छन् ।

 पोखरामा एक हजार होटेल, करिब दुई खर्ब लगानी, २५ हजारलाई रोजगारी र करिब २२ हजार जनालाई एकै पटक बास दिन सक्ने हैसियत

यस्तै, अस्ताममा इको भिलेज सञ्चालनमा छ । कास्कीकोटमा स्वदेशी/विदेशी लगानीमा माउन्टेन रिसोर्ट सञ्चालनको तयारीमा छ ।

रुपाकोटमा बनेको रुपाकोट रिसोर्ट नेपाली तथा विदेशी मध्यम र उच्च वर्गीय परिवारको रोजाइ बनेको छ । ‘सबै होटेल र विकासका संरचनालाई पोखरामै खुम्च्याउनु हुँदैन भनेर रुपाकोटमा रिर्सोट खोलेको हुँ,’ सञ्चालक पुष्पराज अधिकारी भन्छन् ।

उक्त रिर्सोटभन्दा अलि तल बेगनासमा काठमाडौंको सांगि्रला होटेल एन्ड रिसोर्टले अन्तर्राष्ट्रियस्तरको रिर्सोट बनाउँदैछ । त्यसका लागि ४० रोपनी जग्गा लिएको छ, सांगि्रला ग्रुपले ।

गु्रपका कार्यकारी निर्देशन प्रवीन पाण्डे भन्छन्, ‘त्यहाँ वातावरण र वन्यजन्तुको समेत संरक्षण गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय मान्यताको अध्ययन गरिरहेका छौं ।’ ‘दी लस्ट होराइजन’ नाममा रिर्सोट खोल्ने तयारीमा छ, उक्त समूह ।

स्रोतका अनुसार उद्योगी विनोद चौधरीले फेवाताल पारिपट्टि जग्गा हेरेका छन् । उद्योगी सुरज वैद्यकी छोरी सुभानाले पनि पोखरा आसपासकै क्षेत्रमा होटेल खोल्न अध्ययन गरिरहेकी छन् ।

व्यावसायिक घराना लक्ष्मी ग्रुपले पनि पोखराबाट उत्तरपश्चिममा पर्ने पामे क्षेत्रमा होटेल निर्माणको तयारी गरिरहेको छ । धम्पुसमा यदु अधिकारीले अर्को रिर्सोटको तयारी गरिरहेका छन् । उनले दुई करोड खर्चेर जग्गा खरिद गरिसकेका छन् । ‘अन्नपूर्ण धम्पुस रिसोर्ट’ नामाकरण भइसकेको उनले जानकारी दिए ।

लगानीकर्ताहरु ‘पर्ख र हेर’मा

सनम छिरिङ शेर्पाले कास्कीकोटमा जब ईएस देउराली रिर्सोट निर्माण थाले, त्यतिबेला उत्कर्षमा रहेको सशस्त्र द्वन्द्व त्यसमा बाधक बन्यो ।

‘देशको अवस्था अझै कता जाने हो थाहा छैन । परिस्थिति हेरेर लगानी थप्ने योजनामा छु,’ उनी भन्छन्, ‘पर्यटन क्षेत्रमा काम गरेको ३५ वर्ष भयो तर होटेलमा अझै ढुक्क हुने अवस्था छैन ।’

अर्थात्, लगानीकर्ताहरु अझै ‘पर्ख र हेर’को मनस्थितिमै छन् । क्षेत्रीय होटल संघका अध्यक्ष तुलाचन भन्छन्, ‘धेरैले कास्कीआसपास क्षेत्रमा जग्गा किनेर बसेका छन् । देशको अवस्था र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई हेरेर लगानी थप्ने मनस्थितिमा छन् ।’

निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलनजिक मझेरी पाटनमा हिमालयन गल्फसँगै उद्योगी सूर्यबहादुर केसीले रिर्सोट सञ्चालनको योजना बनाएका छन् । तर, उनी पनि ‘पर्ख र हेर’कै मनस्थितिमा छन् ।

‘रिर्सोट सञ्चालन गर्ने हाम्रो पूरानै योजना हो,’ सूर्यबहादुरका छोरा किरण भन्छन्, ‘विमानस्थल निर्माण कसरी अगाडि बढ्छ, त्यसलाई हेरेर काम अगाडि बढाउँछौं ।’

दुई खर्ब लगानी, २२ हजारलाई बास

हाल दुई वटा पाँचतारे होटेल सञ्चालनमा छन्, पोखरामा । यहाँको चर्चित् फूलबारी रिर्सोट एन्ड स्पा भने बन्द भएको छ ।

पाँचतारे होटेल ग्रान्डसहित करिब एक हजार होटेल पोखरामा खुलिसकेको व्यवसायीहरु बताउँछन् । ती सबैमा गरी हालसम्म करिब दुई खर्ब लगानी भइसकेको छ । र, करिब २२ हजार जनालाई एकै पटक बास दिन सक्ने हैसियत बनाएको छ, पोखराले ।

पोखराका होटेलहरुमा करिब २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको तुलाचन बताउँछन् । नेपाल भित्रिने ३० प्रतिशत पर्यटक पोखरा आउने गरेका छन् ।

तथापि, पोखराको होटेलको अक्युपेन्सी भने आन्तरिक पर्यटकले नै भरथेग गर्दै आएका छन् । पोखरा सबैभन्दा बढी आउने विदेशी पर्यटक भारतीय र चिनियाँ हुन् । र, यहाँ आइपुग्ने धेरैको रोजाइ अन्नपूर्ण सर्किटको पदयात्रा बन्ने गरेको तुलाचन बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment