Comments Add Comment

पोखराको विकासमा छेपाराको कथा ! बसपार्कदेखि विमानस्थलसम्म

कछुवाको गतिमा चार ठूला आयोजना

१ माघ, पोखरा । पोखरामा केही यस्ता विकासे आयोजना छन्, जो बासी सपना जस्ता देखिन्छन् । कतिपय त्यस्ता योजनाहरु कागजमै सीमित छन् । पोखराको विकासका लागि सकारात्मक भूमिका खेल्न सक्ने त्यस्ता योजनाहरु अहिलेसम्म हरेक चुनावमा बाँडिने आश्वासनमात्र बनिरहेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको एजेन्डा ३० कै दशकको हो । त्यतिखेरै विमानस्थलका लागि जग्गा अधिग्रहण पनि गरिएको थियो । हालै पाँच वर्षभित्रै काम सक्ने गरी निर्माणको प्रक्रिया अगाडि बढेको पनि छ । काम भने अहिलेसम्म जम्मा तीन प्रतिशत मात्रै भएको छ ।

पृथ्वीचोकनजिकै बसपार्क निर्माण गर्ने योजना पञ्चायतकालकै हो । त्यतिखेरै गरिएको हो, जग्गा अधिग्रहण पनि । नगर विकास समितिका हरेक अध्यक्षको पहिलो एजेन्डा निर्माण बन्दै आएको छ ।

तर, अहिलेसम्म सिन्को भाँचिएको छैन । बरु, बसपार्कको जग्गा नै साँघुरिँदै गएको छ । कतिपयले त सुकुम्बासी समस्या देखाएर जग्गा खुम्च्याउने र व्यक्तिगत लाभसमेत लिन भ्याएका छन् । गाडी जबर्जस्ती कोच्ने अव्यवस्थित थलोकारुपमा यो बसपार्कले पोखरालाई नै गिज्याइरहेको छ ।

वषौंदेखि उठेको अर्को विषय हो, पोखरा उपत्यका चक्रपथ निर्माण । यो आयोजनाले पनि राजनीतिक दलका हरेक घोषणापत्रमा स्थान पाउँदै आएको छ । काम भने छेपारोको कथाजस्तै बनेको छ ।


अर्को सदाबहार उठ्ने योजना हो, क्षेत्रीय बसपार्क निर्माण । पोखरावासीले लेखनाथमा क्षेत्रीय बसपार्क बन्ने सपना देखेको एक जुग बित्यो, विपना बन्न सकेको छैन ।

लेखनाथमा क्षेत्रीय बसपार्क निर्माणको योजना ०५६ सालमै तत्कालीन लेखनाथ नगरपालिकाको पहिलो नगर परिषदले पारित गरेको थियो । साविक लेखनाथ-१३ लामेआहालमा बसपार्क निर्माणको योजना अगाडि सारिएको थियो ।

तत्कालीन पोखरा उपत्यका नगरविकास समितिले कार्यसम्पादनका क्रममा ०६८ सालमा बसपार्कको योजना अगाडि सार्‍यो । त्यहाँको पर्ती जग्गामा निर्माणको योजना पनि तयार भयो । उक्त जग्गा मिचिन नदिन गर्न तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका सदस्य खेम पुनको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बन्यो ।

सोही कार्यदलले त्यस क्षेत्रमा गैरकानूनी गतिविधि रोक्न स्थानीय बासिन्दालाई सचेत गराउँदै आएको छ, अहिलेसम्म । त्यसयताका नगर विकास समिति र सांसदले क्षेत्रीय बसपार्कको मुद्दा उठाउँदै आएका छन् । नेतृत्व लिने आँट भने कसैले गरेको छैन ।

हालको पोखरा-लेखनाथ महानगरका मेयर मानबहादुर जीसी सोही क्षेत्रको प्रतिनिधित्व गर्छन् । उनको घोषणापत्रमा पनि क्षेत्रीय बसपार्कको बुँदा समेटिएको छ । कार्यान्वयन भने शुरु भएको छैन ।

प्रदेश तथा प्रतिनिधिसभा सदस्यहरुलाई स्थानीय बासिन्दाले यसबारे ध्यानाकर्षण गराएका छन् ।

‘बसपार्क निर्माण गर्ने भनेको जग्गामा पहिल्यैदेखि भूमिहीनहरु बस्दै आएका छन् । समस्या समाधान गरेर काम थाल्न खबरदारी गर्दै आएका छौं,’ क्षेत्रीय बसपार्क निर्माण सहयोग समितिका संयोजक खेम पुन भन्छन् ।

बसपार्कका लागि छुट्याएको करिब चार सय रोपनीमा यतिबेला करिब ३० परिवार बस्दै आएका छन् ।

त्यस क्षेत्रका सांसद खगराज अधिकारीको दाबी छ, ‘सपथ ग्रहण गरेलगत्तै बसपार्कका लागि लबिङ शुरु गर्छु ।’ सोही क्षेत्रका प्रदेशसभा सांसद दीपक कोइराला प्रदेश-४ कै लागि क्षेत्रीय बसपार्क आवश्यक रहेको बताउँछन् ।

पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठ पनि बसपार्क लेखनाथमै बन्नेमा ढुक्क हुन आग्रह गर्छन् । तर, निर्माण कहिले शुरु हुने हो, कुनै टुंगो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment