Comments Add Comment

एकता विरोधीले प्रचण्डले अध्यक्ष छाडे भनेर प्रचार गरेः प्रभाकर

४ माघ, काठमाडौं । एमाले-माओवादी पार्टी एकतापछि केपी शर्मा ओलीलाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने गरी बहस चलिरहेको छ । तर एक्कासी प्रचण्ड अध्यक्ष नभएपनि हुन्छ भन्ने हल्ला फैलिएपछि माओवादीमा तरंग सिर्जना भएको छ ।

माओवादीका प्रभावशाली नेता एवम् वाम गठबन्धनको सुत्रधारमध्येका एक जनार्दन शर्मा ‘प्रभाकर’ले भने त्यसलाई ठाडै अस्वीकार गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अध्यक्ष कामरेडले छोडेको भन्ने प्रचार गरिएको छ । त्यो कुरा एकता विरोधीहरुको दिमागमा पैदा भएको तर्क हो । न उहाँले त्यो कुरा भन्नुभएको छ । न त्यो कुरा सत्य हो ।’

एमाले र माओवादीलाई मिल्न नदिन अनेक खालका षडयन्त्र भइरहेको भन्दै उनले त्यसैको श्रृंखलाअन्तर्गत यो हल्ला भएको बताए ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट स्वास्थ्यउपचार गराएर फर्किएलगत्तै एकताको बारेमा सबै टुंगो लाग्ने बताए । ‘एकताबारे उच्चस्तरमा प्रमुख नेताहरुबीच छलफल भएको छ । उहाँहरु अन्तिम टुंगो लगाउने चरणमा हुनुहुन्छ । ओली जी फर्किएपछि टुंगो लाग्छ,’ उनले भने ।

कार्यदलले राष्ट्रियसभाका सदस्यहरुको संख्या सम्वन्धी प्रतिवेदन तयार पारेको र अब दुईजना अध्यक्षहरुलाई बुझाउने तयारी गरेको पनि उनले जानकारी दिए । मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँटको विषयमा छलफल नभएको दावी गर्दै उनले भने, ‘एकता संयोजन समितिमार्फत् त्यसको छिट्टै लाग्छ । मुख्य मन्त्री अथवा अन्य पद बाँडफाँड बारेमा पनि अध्यक्षहरुले नै अन्तिम टुंगो लगाउनु हुन्छ ।’

उनले विनाविभागीय मन्त्री हुँदाको तलब सुविधा नलिएको जानकारी पनि दिए । ‘विनाविभागीय भएदेखिको तलब मैले लिएको छैन । मैले नलिने कुरा पहिले नै घोषणा गरेको थिएँ,’ उनले भने, ‘कुनै एक महिनाको तलब मेरो स्वकीय सचिवको खातामा जम्मा भएको रहेछ त्यो पैसा फिर्ता गर्न भनिसकेको छु । त्यो रकम वापतको चेक काटिसकिएको छ अब सरकारी खातामा जम्मा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment