Comments Add Comment

लालबाबुको दुख : दहेजले सम्पत्ति लग्यो, बाढीले घर

१० माघ, इटहरी । बुधबार बिहान इटहरीको गौरीगाउँमा पुग्दा स्थानीय लालबाबु साह लुगलुग कामिरहेका थिए । कालो टोपी, घाँटीमा सानो बर्को, सेतो सर्ट बाहिर हाफ स्वेटर र सामान्य सुरुवाल लगाएका थिए उनले ।

त्रिपालमुनि खाना बनाउने सुरसार गर्दै गरेका साहसँग जीउ छोप्ने लुगामात्रै होइन घामपानी र जाडो छेक्ने घर पनि छैन ।

श्रीमती र छोरासहितको उनको परिवारले त्रिपालुमनि खाना पकाउँछन् र छिमेकीको घरमा बास बस्छन् । लालबाबुकी श्रीमती रुना साहले भनिन्, ‘अस्ती बाढीले घर बगायो, अहिलेसम्म घर बनाउन सकेको छैन ।

गत साउन २७ गते मध्यरातमा बाढी आउँदा साह परिवार छिमेकीको छानामा समातेर जोगिएको थियो । ‘राति अचानक बाढी आयो । हेर्दाहेर्दै मेरो घरको छानामा बाढी कुद्न थाल्यो’, बुढीखोलामा आएको बाढी सम्झिदै साहले भने, ‘छिमेकीको टिनको छाना समाएर अडिएपछि मात्रै हामी बाच्यौं ।’

आफ्नो २ कोठे घर भन्दा छिमेकीको घर अग्लो भएकाले त्यसै छानामा समातेर बुढाबुढी र छोराले ज्यान जोगाएको साहले बताए । बाढी आएको ६ महिना बिते पनि साहले घर बनाउन सकेका छैनन् । ‘पैसा हुनेले घर बनायो । मसँग छैन बनेको छैन’ उनले भने ।

बाढीमा जसोतसो ज्यान जोगाए पनि भत्केको घर उभ्याउन भने साहलाई सकस भएको छ । ‘छोराले गोल्डेन चोकको साइकल पसलमा काम गरेर दिनमा २/४ सय कमाउँछ’, साहले भने, ‘यतिले घर बनाउन पैसै जोगिदैन ।’

दहेजले सम्पत्ति लग्यो, बाढीले घर

लालबाबु रिक्सा चलाउने काम गर्थे, यसबाट घर खर्च चलेकै थियो । दुई बर्ष अगाडि आफ्नै घर अगाडि लडेका साहको त्यसपछि दाँया हातखुट्टा चल्न छोड्यो, त्यसपछि आफूले काम गर्न नसकेको साह बताउँछन् ।

रिक्सा चलाएर कमाएको सबै बचत कान्छी छोरीको विहेमा दाइजो दिएर सकिएको साह बताउँछन् । भारतको जयनगरमा विवाह गरेकी छोरी मनिषाको दाइजोवापत उनको १ लाख भारतीय रुपैयाँ (१ लाख ६० हजार रुपैयाँ नेपाली) खर्च भयो ।

१४ वर्षअघि जेठी छोरीको र आठ वर्षअघि माइली छोरीको विहे गर्दा साह काम गर्न सक्ने थिए, त्यसैले जेठीको विहेमा १५ हजार र माइलीकोमा ३१ हजार खर्च हुँदा उनलाई सामान्य लागेको थियो ।

‘जेठी छोरीलाइ १५ हजार दहेज दिए’, साह भन्छन, ‘तर, त्यो बेला कुकर बनाउने र रिक्सा कुदाउने काम गरेर पैसा कमाँउथे ।’ तीनैजना छोरीलाई दाइजो दिँदा पैसा सकिएको साहको बाढीले घर नै सिध्याइदियो ।

चल्ने ठाउँमा चिया पकाउन पाए हुन्थ्यो

लालबाबु २०४५ सालतिर सिरहाको लहानबाट इटहरी आएका हुन् । लहानबाट आउँदा साहले सम्पत्ति नभई सीप लिएर आएका थिए । प्रेसर कुकर र ग्यास चुलो बनाउने सीप । हाल गोरखा डिपार्टमेन्ट स्टोर्स भएको ठाउँमा उनको घुम्ती पसल थियो । त्यसै पसलबाट परिवारको गुजारा गर्दै आएका उनले पछि त्यसलाई बन्द गरेर रिक्सा चलाउन थाले ।

इटहरी आउँदा मासिक ५० रुपैयाँमा कोठा भाडामा लिएका लालबाबुले २०६३ मा १५ सयसम्म भाडा तिरे । तर, चारजना छोराछोरी भएपछि ‘फोहोर हुन्छ’ भन्दै घरधनीहरुले भाडामा राख्न नमानेपछि उनले सुकुम्बासी बस्तीमा घर बनाए । सुकुम्बासी बस्तीमा बसेको पनि १३ वर्ष भयो । दुई वर्षअघि लडेर काम गर्न नसक्ने भएका उनीसँग अहिले घर पनि छैन र कमाएको बचत पनि ।

तर मागेर खाने मन छैन साहको । छोराको कमाइले खानमात्रै पुग्ने साहलाई औषधी उपचार र अन्य खर्च गर्न कुनै कमाइ छैन ।

विहे गरेपछि छोराको कमाइ पनि आफूले नपाउने बुझेका साहले चिया पसल खोल्ने उनको योजना बनाएका छन् । तर आफू बसेको वरपर चिया दोकान खोल्ने उपयुक्त ठाउँ भेटेका छैनन् ।

‘चल्ने ठाउँमा चिया पकाउने ठाउँ पाएमा घरखर्च आउँथ्यो’ साहले भने, ‘आफैं चिया दोकान चलाए खर्च नि हुन्थ्यो । एक दुइ खाँबो गाडेर विस्तारै सानो घर नि बन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment