Comments Add Comment

अर्जुनदृष्टि लगाएर फेवाताल संरक्षणमा लाग्छुः पहारी

१० माघ, पोखरा । प्रदेश सांसद राजीव पहारीले अर्जुनदृष्टि लगाएर फेवाताल संरक्षणमा लाग्ने बताएका छन् ।

पोखरामा बुधबार पत्रकार सम्मेलन गर्दै कास्की-३ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित पहारीले फेवाताल दिन दुई गुणा र रात चौगुणा पुरिदै र अतिक्रमणको चपेटामा पर्दै गएको भन्दै त्यसको संरक्षणका लागि आफूले अर्जुनदृष्टि लगाउने बताएका हुन् ।

पहारीले अबको ४० वर्षमा फेवाताल पुरिएर मैदान हुने खतरा रहेको औंल्याए । उनले भने,’४ वर्षमा ४ रोपनी पुरियो, अब यस्तै हो भने ४० वर्षमा फेवाताल मैदानमा परिणत हुन्छ ।’

उनले फेवाताललाई आफ्नो कार्यकाल ५ वर्षमा पहिलेकै आकारमा फर्काउने दाबीसमेत गरे ।

सुरुमा २२ हजार रोपनी क्षेत्रफलमा फैलिएको फेवाताल २०६४ साल अघिसम्म १३ हजार रोपनीमा थियो । तर, बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला बनेको फेवाताल संरक्षण तथा खोज अनुसन्धान समितिले फेवाताल ९ हजार ९ सय ५५ रोपनीमा खुम्चिएको तथ्यांक प्रस्तुत गरेको छ ।

पहारीले २०६४ सालअघि अर्थात १३ हजार रोपनी क्षेत्रफलमै फेवाताललाई पुर्‍याउने घोषणा गरेका हुन् ।

उनले विभिन्न फेवाताल संरक्षण समितिले यसअघि दिएका प्रतिवेदन कडाइका साथ पालना गर्ने र त्यसका लागि कसैसँगपनि सम्झौता नगर्ने उद्घोष गरे । उनले भने,’फेवातालका बारेमा धेरै पतिवेदन बनिसक्यो, अब यसबारे अध्ययन, छलफल वा अन्र्तक्रिया गर्न जरुरी छैन, अब एक्सनमा जानुपर्छ ।’

प्रदेश सांसद पहारीले प्रदेश सभाको पहिलो बैठकमै आफूले फेवाताल संरक्षण, सम्बर्द्धन सम्बन्धी अति सार्वजनिक महत्वको प्रस्ताव टेबल गर्ने जानकारी दिए ।

उक्त बैठकबाट सो प्रस्ताव पारित भएपछि फेवताल संरक्षणको काम दु्रत गतिमा अघि बढ्ने उनले बताए । नेपालमा कुनैपनि राम्रो काम गर्दा कानून, प्रक्रिया र विधिका नाममा बाधा उत्पन्न हुने गरेको बताउँदै फेवाताल संरक्षणमा पनि त्यस्तै समस्या आइपरेको गुनासो गरे । उनले भने,’कुनैपनि राम्रो काम गर्न खोज्दा कानून, विधि र प्रक्रिया बाधक बनेर आउँछ, फेवाताल संरक्षणमा पनि त्यस्ता बाधा देखापरेका कारण म निर्वाचित भएलगत्तै काम थाल्छु भनेपनि शुरु गर्न पाएको छैन, युवा संघको अध्यक्ष मात्रै भएको भए काम सुरु गरिसक्थेँ, माननीय सांसद हुँदा कानूनको पनि ख्याल गर्नुपर्ने भएकाले फेवातालको आकार फैलाउने काममा समय लागेको हो ।’

उनले डेढ महिना भित्रमा प्रक्रिया पूरा गरेर काम सुरु गर्ने जानकारी दिए । सांसदमा निर्वाचित भएपछि सपथ लिएको भोलिपल्टैदेखि काम थाल्छु भनेको हैन ? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिदै पहारीले भने,’भोलिको दिन हुन्छ तर आजको रात त पर्खनु पर्‍यो नि ! यो प्रक्रियाका कारण ढिलाई भएको हो, धैर्य गर्नुस् काम गरेरै देखाउँछु ।’

प्रदेश सांसद पहारीले अब बन्ने नयाँ सरकारको नेतृत्वकर्तालाई पनि फेवाताल संरक्षणबारे जानकारी गराईसकेको र त्यसमा उक्त नेतृत्व तयार रहेको बताए ।

उनले फेवाताल संरषणका लागि केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकार मिलेर जानुपर्ने र आफूले त्यसका लागि भूमिका खेल्ने बताए ।

पहारीले फेवाताल संरक्षणका लागि करिब ५ अर्ब छुट्याउन माग गर्दै उनले भने,’रुपातालको संरक्षणका लागि ४ अर्ब आयो, अब फेवाताल संरक्षणका लागि पनि कम्तिमा ४/५ अर्ब रुपैयाँ छुट्याउनुपर्छ ।’

फेवाताल पोखरा, कास्की वा प्रदेश नम्बर ४ को गहना मात्रै नभई देशकै सम्पदा भएकाले यसको संरक्षणका लागि सबै जुट्नुपर्ने उनको भनाइ थियो । उनले फेवाताललाई राष्ट्रिय सम्पदा घोषणा गर्न मागसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment