Comments Add Comment

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझीलाई मड्रिडमा स्वागत

२५ जनवरी, वार्सिलोना / राजदूत भरतबहादुर रायमाझीलाई स्पेनवासी नेपालीहरुले स्वागत गरेका छन् ।

स्पेनका लागि पहिलो नेपाली राजदूतका रुपमा मड्रिड आएका रायमाझीलाई बुधबार स्वागत गरेका हुन् ।

दूतावास स्थापनाका लागि स्पेनको नेपाली समुदायले एक दशक अघिबाट गरेको प्रयासको प्रंशसा गर्दै उनले नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता व्यक्त गरे ।

राजदूत रायमाझीले भने, ‘दूतावास,एनआरएन,संघ संस्थाहरु र नेपाली समुदाय मिलेर नेपालको हितका लागि काम गर्नु पर्छ।’

एनआरएनए स्पेनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत रायमाझीले नेपालमा लगानी भित्राउन र पर्यटन प्रवद्वनका लागि बिभिन्न कार्यक्रमसहित अगाडि बढ्नु पर्नेमा समेत जोड दिए।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गत यूरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले स्पेनवासीले लामो समयदेखि गर्दै आएको प्रयास सफल भएको भन्दै खुशी ब्यक्त गरे । गिरीले भने, ‘दूतावास स्थापना पछि अब मुलुकको फाइदाका लागि सबै पक्षले हातेमालो गर्नुपर्छ।’

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले राजदूत रायमाझीको स्वागत गर्दै दिल्लीस्थित स्पेनीस दूतावासमा परिवार पुनर्मिलनको प्रक्रियामा भोग्नु पर्ने समस्या बारे जानकारी गराए।

उनले कुटनीतिक सम्बन्धलाई अझ बढी प्रगाढ पार्न र समस्या समाधानका लागि पनि अब स्पेनिस दूतावास काठमाडौमा खोल्नका लागि पहल गर्नुपर्ने बताए । कार्यक्रममा स्पेनस्थित संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

राजदूत रायमाझीको स्वागतको लागि स्पेनका सरकारी अधिकारीहरु विमानस्थल पुगेका थिए। राजदूत निवास तथा दूतावास भवन भने अझैसम्म निश्चित भइसकेको छैन।

झन्डै एक वर्षअघि नेपाल सरकारले स्पेनमा राजदूतावास खोल्ने निर्णय गरेको हो । मन्त्रिपरिस्को सिफारिस अनुसार राष्ट्रपतिले राजदूत नियुक्त गरेको महिनौ बित्दा पनि कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै यस अघि आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment