Comments Add Comment

भारतीय पेट्रोलियम पाइपलाइन चितवन ल्याउन सम्भव

अमलेखगञ्जबाट चितवन ल्याउँदा ७ अर्ब लाग्ने अनुमान

प्रतिकात्मक तस्वीर

१२ माघ, काठमाडौं । अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकिएको छ । उक्त अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ ।

नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका हुन् ।

भारतबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने तयारी भइरहेको छ । त्यसलाई चितवनसम्म विस्तार गर्न आईओसीले नै इच्छा देखाएको निगमका कार्यकारी निर्देशक सुशील भट्टराई बताउँछन् ।

रुट सर्वेबाट केही स्थानमा प्राविधिक जटिलता हुने देखाएको छ । तर, त्यो ठूलो चुनौतीका रुपमा नदेखिएको भट्टराई बताउँछन् ।

प्रस्ताव अनुसार काम अगाडि बढे अमलेखगञ्जबाट चितवनसम्म ५९ किलोमिटर पाइपलाइन थपिनेछ । हाल भारत मोतीहारीदेखि अमलेखगञ्जसम्म ३७ किलोमिटर पाइप बिछ्याउन लागिएको छ ।

‘हेटौंडा बजारलगायत केही क्षेत्रमा समस्या हुने देखिएको छ । तर, पूर्वपश्चिम राजमार्गको रुटमै आधारित भएर अध्ययन गरेका छौं,’ भट्टराई भन्छन्, ‘पाइपलाइन चितवनसम्म ल्याउन सकिने अवस्था देखियो ।’

सात अर्ब लागत अनुमान

प्रस्तावअनुसार चितवनको लोथर बजार नजिकसम्म पाइपलाइन आउनेछ । त्यहाँ निगमले नयाँ भण्डारणस्थल निर्माणका लागि जग्गा खरिद गरेको छ । तर, खरिदमा अनियमितता भएको विवाद कायमै छ । उक्त स्थान मकवानपुर र चितवनको सिमाना हो ।

निगमले चितवनमा आधुनिक तेल डिपो बनाउन र त्यहाँसम्म पाइपलाइन ल्याउन सात अर्ब खर्च लाग्ने आनुमन गरेको छ । सरकारीस्तरमा सहमति भए सम्भाव्यता अध्ययन शुरु हुनेछ ।

ग्यासपाइप बिछ्याउन पनि सम्भव

रुट सर्वेबाट ग्यास पाइपलाइन पनि बिछ्याउन सकिने देखाएको छ । दुवै पाइपलाइन सँगसँगै बिछ्याउन सकिने देखिएको छ ।

‘चितवनमा तेलसँगै ग्यासको डिपो पनि राख्न आईओसीका अधिकारीहरु उत्साहित छन्,’ भट्टराई भन्छन्, ‘त्यसो भयो भने तेल र ग्यास पाइपलाइबीच राख्ने दूरी तीन मिटर फरक पारेर एकैपटक बिछ्याउन सकिन्छ ।’

पछि बिछ्याउँदा पाँच मिटर अन्तर कायम गर्नुपर्ने र सडकमा आवागमनमा पनि समस्या ल्याउने उनी बताउँछन् ।

नेपालले गत चैतमै मोतीहारीबाट अमलेखगञ्जसम्म बिछ्याइने पाइपलाइनलाई चितवनसम्म ल्याउन भारतसँग प्रस्ताव गरेको थियो । पाँच वर्षे इन्धन आपूर्ति सम्झौताका लागि भारत गएका बेला तत्कालीन मन्त्री दीपक बोहराले भारतीय समकक्षी धर्मेन्द्र प्रधानसँग त्यसबारे प्रस्ताव गरेका थिए ।

प्रदेश-३ लक्षित आयोजना

पेट्रोलियम र ग्यास पाइपलाइन चितवनसम्म आउँदा काठमाडौंसहित पहाडी जिल्लामा ढुवानी र वितरण सहज हुने निगमको विश्वास छ ।

निगमका एक अधिकारीको भनाइमा अमलेखगञ्ज डिपोले प्रदेश-२ को आपूर्ति सहज गर्छ । ‘काठमाडौंका लागि चितवनमै इन्धन भण्डारण गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसबाट प्रदेश-३ को आपूर्ति व्यवस्था सहज हुनेछ ।’

उक्त पाइपलाइन योजना कार्यान्वयनमा आउँदा राज्यको ढुवानी भाडा ह्वात्तै घट्नेछ भने उपभोक्तालाई पनि राहत मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment