Comments Add Comment

गुमनाम खेलकुदमन्त्रीको एकवर्षे खेलो फड्को ! 

भन्छन्- अब खेलाडीको नाममा तस्करी हुँदैन

३ चैत, काठमाडौं । जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेको ३ चैत अर्थात आइतवार ठीक एक वर्ष पूरा भएको छ । यो एक वर्ष मिडियामा चर्चाको रिङ भन्दा अलि बाहिरै रहेका मन्त्री हुन् यिनी । मिडियाको अन्तरवार्तामा समेत त्यति चासो नदिने उनै विश्वकर्मा आइतवार एक वर्षे कामको खाका बोकेर पत्रकार सामु प्रस्तुत भए ।

मन्त्री विश्वकर्माले शुरुमै भने, ‘म एउटा ऐतिहासिक क्षणमा मन्त्री भएको थिएँ । त्यतिबेला त्रिकेटमा नेपालले एक दिवसीय मान्यता प्राप्त गरेको थियो । यसैलाई उर्जाको रुपमा लिएर मन्त्रालयको कार्यभार सम्हालेको थिएँ ।’

त्यसपछि मन्त्री विश्वकर्माले एक वर्षमा प्राप्त गरेका उपलब्धीको फेहरिस्त सुनाउन थाले । उनले भने, ‘संघीयता कार्यान्वयनको यो आधार वर्षमा आवश्यक कानून निर्माण भइनसक्दा देखिएका कानुनी जटिलता, सीमित श्रोत साधन र दक्ष जनशक्तिको कमीका बाबजुद पनि युवा तथा खेलकुद क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएका छन् ।’

चालु आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि सरकारले २ अर्ब ४ करोड बजेट विनियोजन गरेको थियो ।

अब खेलाडीको नाममा तस्करी हुँदैन

कार्यसञ्चालनमा मितव्ययिता, पारदर्शिता र निष्पक्षतालाई प्रथामिकताका साथ अवलम्बन गरिएको मन्त्री विश्वकर्माले बताए । विभिन्न खेल प्रतियोगिताको नामममा खेलाडीहरु विदेश पलायन हुने तथा खेलाडीका नाममा हुने अवैध क्रियाकलाप रोक्नका लागि विशेष पहल गरेको पनि उनको भनाइ छ । मन्त्री विश्वकर्माले भने, ‘खेलाडीका नाममा अवैध क्रियाकलाप गर्ने कार्य ९० प्रतिशतले होइन, सतप्रतिशत नै रोक्दैछु ।’

पहिलोपटक खेलकुदर संघ र परिषद्को विषयमा कुरा सुन्दा आँशु झरेको बताउँदै मन्त्री विश्वकर्माले त्यसभित्रका विवादहरु मिलाउँदै लगेको बताए । फुटबल, कराँते, जिमन्याष्टिक, मोर्डन पेन्टाथोलनको विवाद समाधानधान गरिसकेको उनले बताए । त्यस्तै, तेक्वान्डो, कुस्ती, क्रिकेट र नेपालको ओलम्पिक कमिटीमा रहेको विवाद समाधानका लागि आवश्यक पहल भएको मन्त्री विश्वकर्माको भनाइ छ ।

‘पहिले परिषदलाई भर्ती केन्द्र बनाइएको थियो । तर, अहिले एउटा पनि कर्मचारी भर्ना नगर्नु भनी निर्देशन दिएपछि थुप्रै निवेदन रोकिएका छन्’, मन्त्री विश्वकर्माले भने, ‘त्यो थामिनसक्नु परिस्थितिलाई मैले लोकसेवामार्फत नै कर्मचारी लिनेछु । हामीले थुप्रै सुधार गर्न आवश्यक छ ।’

उनले संघीय संरचना बमोजिम राष्टिय खेलकुद परिषद्को संगठन संरचना र दरवन्दी व्यवस्थाका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको पनि जानकारी दिए ।

मन्त्री विश्वकर्माले परिषदमा तीन समूहमा विभाजन गरी टिम बनाउने पनि बताए । मन्त्री विश्वकर्माले स्वास्थ्य, प्राविधिक र खेलाडीको तीन समूह बनाउन थालेको उल्लेख गरे ।

खेलाडीले खुशी पार्ने प्रयास

खेलकूद मन्त्रालयले ओलम्पिक खेलमा सहभागी ६९ जना खेलाडीलाई ३/३ हजार, एशियन खेलमा पदक प्राप्त गर्ने १२ र दक्षिण एशियाली खेलकुदमा स्वर्णपदक विजेता ८५ जनालाई ५/५ हजार रुपैयाँको दरले नियमित रुपमा मासिक भत्ता उपलब्ध गराउन थालेको छ । त्यस्तै, खेलाडीलाई सामाजिक सुरक्षका लागि विमाको व्यवस्था गरिएको मन्त्री बताउँछन् ।

क्रिकेटका १६ जना खेलाडीलाई जनही पाँच लाख र मुख्य प्रशिक्षकलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ । क्रिकेट म्यानेजर, ट्रेनर, फिजियो र व्याटिङ प्रशिक्षक एक/एक जनलाई जनही दुई लाख रुपैयाँको पुरस्कार प्रदान गरिएको छ ।

फुटबलका २० जना खेलाडीलाई जनही तीन लाखका दरले नगद पुरस्कार प्रदान गरिएको छ भने १८ औँ एशियन गेममा रजत पदक प्राप्त गर्ने पुरुष टिमका पाँचजनालाई जनही पाँच लाख रुपैयाँको दरले पुरस्कार प्रदान गरिएको छ ।

प्याराग्लाइडिङ संघलाई पाँच लाख, प्रमुख प्रशिक्षकलाई तीन लाख र सहायक प्रशिक्षकलाई एक लाख ५० हजार दरले नगत पुरस्कार प्रदान गरेको मन्त्री विश्वकर्माले बताए ।

विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेतालाई पाँच लाख, प्रथम ओलम्पिकमा सहभागी पाँच जना र ओलम्पिक खेलमा सहभागी १६१ जना खेलाडीलाई मासिक भत्ताको व्यवस्था गरिएको उनले जानकारी दिए ।

खेलकुदमा योगदान पुर्‍याउने १० खेलकुदकर्मीलाई जनही एक लाखको दरले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान र ४ पत्रकारलाई जनही ५० हजार रुपैयाँको पुरस्कार प्रदान पनि गरियो ।

अन्तर्राष्ट्रिय पदक तालिकामा नेपालको स्थान बढाउने उद्देश्यसहित प्रतियोगिता, प्रशिक्षण तथा प्रोत्साहनलाई प्रथामिकताका साथ व्यवस्थित गरिएको पनि मन्त्री विश्वकर्माले बताए ।

यो बीचमा मन्त्रालयले तीन वटा अन्तराष्ट्रिय स्तरको प्रतिगिता गर्नुका साथै १५ जहार खेलाडीलाई प्रशिक्षण प्रदान गरिएको छ । त्यस्तै, सय जना खेलाडीलाई बैदेशिक प्रशिक्षण प्रदान गरिएको छ ।

आठौँ राष्ट्रिय खेलकुदको तयारी

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैतको अन्तिम वा बैशाखको पहिलो हप्ताबाट शुरु हुने मन्त्री विश्वकर्मा घोषणा गरेका छन् । उक्त प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

‘हामीले राष्ट्रिय खेलकुद प्रतियोगिता पुरानो मैदानमा नभई नयाँ संरचनाको निर्माण गर्दैछौँ र यो चुनौतीपूर्ण हो’, मन्त्री विश्वकर्माले भने, ‘त्यसका सामाग्रीहरु विदेशबाट ल्याउनुपर्ने भएकाले र गुणस्तरीय रंगशालाको निर्माण गर्न लाग्दा थोरै ढिलो भएको हो ।’

यदि पहिलेका खेलकुद मन्त्रीले सही ढंगले काम गरेको भए फागुनमा नै राष्ट्रिय खेलकुद प्रतियोगित हुने उनले बताए । आगामी प्रतियोगिता नेपालगञ्जमा हुन गइरहेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्देशिका- ०७५ पनि संशोधन गरेको मन्त्री विश्वकर्माले सुनाए । दुई/दुई वर्षमा चक्रीय प्रणालीअुनसार प्रत्येक प्रदेशमा यस्तो प्रतियोगिता गर्ने गरी राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्देशिका २०७५ लाई पनि संशोधन गरेको उनले जानकारी दिए । त्यसलाई संशोधन गरी दुई/दुई वषएमा चक्रिय प्रणाली अनुसार प्रत्येक प्रदेशमा यस्तो प्रतियोगिता गर्ने गरी संशोधन गरिएको उनले जानकारी दिए ।

यद्यपि प्रतियोगिताका लागि जिल्ला र प्रदेशबाट खेलाडी छनौट कार्य सकिइसकेको मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय प्रतियोगितालगत्तै हुने १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि पनि पूर्वाधार निर्माण कार्य तीब्र गतिमा अगाडि बढेको मन्त्रीले विश्वकर्माले बताए ।

‘पहिलो दक्षिण एशियाली खेलकुद प्रतियोगिता पनि नेपालमै भएको थियो’, मन्त्री विश्वकर्माले भने, ‘हामीले यसलाई रणनीतिक र उच्च प्रथामिकताका साथ सम्पन्न गर्न लागेका छौँ । किनकि यो देशकै प्रतिष्ठासँग जोडिएको छ ।’ उक्त प्रतियोगिताका लागि आठौँ राष्ट्रिय खेलकुदबाटै खेलाडी छनौट गरिनेछ ।

मूलपानीमा क्रिकेट मैदान, भक्तपुरमा रंगशाला

काठमाडौंको मूलपानीमा लामो समयदेखि अवरुद्ध भएको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको जग्गा विवाद समाधान भई काम अगाडि बढेको मन्त्रीले विश्वकर्माले सुनाए । उनले भने, ‘१३ वर्षदेखिको विवादलाई समाधान गरेर हामी यथाशीघ्र क्रिकेट मैदानको काम सम्पन्न गर्नका लागि अगाडि बढेको छौँ ।’

मन्त्री विश्वकर्माले एक वर्षको अवधिमा भौतिक संरचना निर्माण तथा स्तरोन्नतिको कामलाई प्राथमिकता दिएको दाबी गरे । उनले भक्तपुरमा अन्तराष्ट्रिय स्तरको रंगशालाको कामलाई आफ्नो उपलब्धिक रुपमा व्याख्या गर्ने प्रयास गरे ।

उक्त अन्तराष्ट्रिय खेलकुद परिसरका लागि जग्गा प्राप्तिको काम शुरु भएको मन्त्री विश्वकर्माले बताए । १५ देखि २० विघा जमिनमा उक्त रंगशाला बन्ने उनले जानकारी दिए ।

‘अहिले पनि अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर निर्माण भएका एउटा पनि खेलकुद मैदान छैनन्’, मन्त्री विश्वकर्माले भने, ‘त्यसैले हामीले यो रंगशालाको निर्माण गर्न लागेका हौँ ।’

भूकम्पपछि पुर्ननिर्माण हुन थालेको दशरथ रंगशालाको पनि ८० प्रतिशत काम सकिइसकेको मन्त्री विश्वकर्माको दाबी छ ।

सातवटै प्रदेशमा रंगशाला !

सातवटै प्रदेशमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण र ७७५ वटै स्थानीय तहमा खेलग्रामको कार्य शुरु भइसकेको पनि उनले बताए । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी यसको काम भइरहेको मन्त्री विश्वकर्माको भनाइ छ ।

मन्त्री विश्वकर्माले चालु आर्थिक वर्षमा ६ वटा रंगशाला, १९ वटा कभर्डहल, सातवटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदानको निर्माण भइरहेको बताए । खेल क्षेत्रका माध्यमबाट नेपालको अर्थतन्त्र टेवा पुर्‍याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यरुकेा पहिचान गरी आवश्यक पूर्वाधार निर्माण र उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य पनि शुरु भएको उनले जानकारी दिए ।

देशका ७५३ वटै स्थानीय तहमा एक-एक वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माण गर्नका लागि स्थानीय तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भई कार्यान्वयन आएको मन्त्री विश्वकर्माकेा भनाइ छ ।

युवा स्वरोजगारमा लगानी

युवाका विषयमा मन्त्रालयले ६३३ संस्थासँग २ अर्ब ९ करोड ९६ लाख ४० हजार रुपैयाँ कर्जा लगानी गरेको मन्त्री विश्वकर्माले जानकारी दिएका छन् । उक्त लगानीबाट १७ हजार ८८ जना स्वरोजगार भएको मन्त्री विश्वकर्मा बताउँछन् ।

त्यस्तै, १४ हजार ७५५ जना व्यवसायीहरुको अनलाइन विमा भएको छ भने ९१ जना व्यवसायीहरुले गरेको विमा दावीमा ४१ लाख ७१ हजार ७८० रुपैयाँ क्षतिपूर्ती प्रदान गरिएको उनको भनाइ छ ।

युवाको क्षमता विकासकै लागि ९६४ युवालाई सीप तथा उद्यमशीलता विकास, १४२ जनालाई लोपोन्मुख परम्परागत सीपसम्बन्धी तालिम, ३०९ युवा उद्यमीलाई उद्यमशीलता र वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी तालिम र ५ हजार ७ जनालाई परामर्श दिएको मन्त्री विश्वकर्माले तथ्यांक प्रस्तुत गरे ।

यहीबीचमा स्काउटको संगठन विस्तार गरी विपद व्यवस्थापन र स्वयंसेवी कार्यमा परिचालन गरिएको मन्त्री विश्वकर्माले सुनाए । ४७ जिल्लाका स्वदेशी र ६ राष्ट्रका ५ हजार ५६५ जना स्काउटको सहभागितामा तेस्रो राष्ट्रिय ज्याम्बोरी सम्पन्न भएको पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment