Comments Add Comment

तुलसीपुर उपमहानगरपालिकालाई ३ वर्षभित्रमा खरको छानोमुक्त बनाइने


१४ माघ, दाङ । तुलसीपुर उपमहानगरपालिकाले तीन वर्षभित्र उपमहानगरलाई खरको छानामुक्त बनाउने महत्वाकांक्षी योजना अघि सारेको छ ।

उप–महानगरले नगरसभामार्फत नीतिगत रुपमा गरिएको सो निर्णयलाई कार्यान्वयन गर्न समेत शुरु गरिसकेको छ । अहिले खरको छाना मुक्त गर्नका लागि आवश्यक पर्ने टिन खरिद गर्न टेण्डर आह्वान गरेको छ ।

अहिले उप–महानगरभित्रका सम्पूर्ण वडाहरुलाई खरको छानाको यकिन तथ्याङ्क तयार गर्न निर्देशन दिइएको मेयर घनश्याम पाण्डेयले जानकारी दिए । नयाँ उपमहानगर भएकाले तुलसीपुरमा शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्र कैयौं गुणा बढी छ । ‘साविकका गाविसहरु नै उपमहानगरमा गाभिएकाले यहाँ खरका छाना भएका घरहरु निकै धेरै छन्,’ पाण्डेयले भने, ‘खरको छानका कारण आगलागी जस्ता प्राकृतिक प्रकोपको जोखिम बढी हुन्छ ।’

तुलसीपुर उपमहानगरमा साविकका गाविसहरु विजौरी, डुरुवा, मानपुर, फूलवारी र पवननगरपछि थपिएका हुन् । यी क्षेत्रमा चौधरी बस्ती बाक्लो छ । यहाँका अधिकांश चौधरीहरुको घरमा खरको छाना छ ।

उपमहानगरले खरको छाना हटाउने कार्यविधि समेत तयार पारिसकेको छ । कार्यविधिमा खरको छाना विस्थापित गर्न चाहने घर धनिलाई उपमहानगरले निःशुल्क टिनको व्यवस्था गर्ने उल्लेख छ । टिन छाउने खर्च तथा श्रमदान भने स्वयं घरधनीले गर्नुपर्नेछ ।

उपमहानगरले नगरका अन्य विकासका कामहरु गर्न सहज होस् भनेर टीन प्राप्त गर्ने व्यक्तिलाई केही शर्त भने राखेको छ । ‘टिन पाउने व्यक्तिले उपमहानगरपालिकाले कुनै विकाशको योजना ल्याउँदा १० दिन निःशुल्क श्रमदान गर्ने लिखित सम्झौता गर्नुपर्ने छ,’ पाण्डेयले भने, ‘हामीले गाउँमा छलफल गर्दा धेरै विपन्नवर्गका समूदायहरु उप–महानगरको योजनाले खुशी भएका छन् ।’

यो योजना घरमा मात्र लागु हुने छ । गोठमा भने उप–महानगरले सहयोग गर्ने छैन । त्यस्तै कुनै व्यक्ति खरले छाएको घरमा नबसेर आफ्नो अर्कै घरमा बस्छ भने पनि उपमहानगरले सहयोग गर्ने छैन । ‘सम्बन्धित व्यक्ति त्यही घरमा बसेको हुनुपर्छ,’ पाण्डेयले भने, ‘हामी तुलसीपुरलाई पाँच वर्षभित्र सुन्दर र सुरक्षित शहर बनाउन चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment